संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानून र अर्थ मन्त्रालय पठाएका छौँ : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताए ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताए । उनले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिए ।
उनले ऐनलाई अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको र ति मन्त्रालयहरुबाट सहमती आउन बाँकी रहेको उल्लेख गरे ।
मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरुप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए ।
उनले स्थानीय तहलाई बेरुजु नियन्त्रणका लागि मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आगामी बजेटमा जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताए । उनले निजामती अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने र सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि बताए ।
मन्त्री मोदीले पालिका प्रमुखहरु विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताए । आफू खुसी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपु¥याइकन जान नदिएको बताए ।
सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाई छ ।
‘पालिका प्रमुख विदेश भ्रमण जथाभावि जाने गरेका छन्,’ उनले भने, ‘हामीले कडाइ गरेका छौँ विदेश भ्रमण जाँदा सम्बन्धित निकायले बोलाएको छ कि छैन हेरेका छौँ । आफूखुशी जानेलाई रोक लगाएका छौँ । परराष्ट्रमार्फत सबै प्रक्रिया नपु¥याइकन हामी कसैलाई जान दिएका छैनौँ । हामी नेपाल सरकारको व्ययभार पर्नेगरी जान दिदैँनौँ ।’
उनले सञ्चारमाध्यममा आएजस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएको बारे जानकारी नभएको बताए । उनले मन्त्रिपरिषद्मा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास व्यक्त गरे ।
मन्त्री मोदीले आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरु गरेको बताए ।