बुढीगंगामा बेरुजुको चाङ, पाँच वर्षमा २२ करोड ७९ लाख नाघ्यो

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाको बेरुजु पालिकाको झन्डै एक आर्थिक वर्षको आधार बजेट बराबर देखिएको छ । बुढीगंगा गाउँपालिकाको गत आर्थिक २०७८/०७९ को कुल आम्दानी रु.६६ करोड २२ लाख ६३ हजार रुपैयाँ रहने अनुमान गरिएको थियो ।

त्यही आर्थिक वर्षको  असार मसान्तसम्मको बेरुजु २२ करोड ७९ लाख ६ हजार पुगेको हो । आर्थिक वर्ष २०७८/०७९ को महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षणबाट ३ करोड ५८ लाख ९२ हजार बेरुजु देखिएको छ ।

सो सम्बन्धमा प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजु असुल गर्नु पर्ने ९० लाख २७ हजार, प्रमाण कागज पेस गर्नु पर्ने १ करोड ४१ लाख ४७ हजार देखिएको छ । नियमित गर्नु पर्ने ७७ लाख २० हजार, पेस्कीको ५० बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख  छ । बुढिगंगा गाउँपालिकाको गत वर्षसम्म २२ करोड ४२ लाख ६० हजार  बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु २२ करोड ७९ लाख ६ हजार रहेको छ ।

महालेखाको प्रतिवेदनले गाउँपालिकाको लेखा परीक्षणबाट श्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्य अनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएको कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नभएको महालेखाले जनाएको छ। वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ । महालेखाको प्रतिवेदनले सञ्जीव न्यौपाने, डम्मरुबल्लब बराल र अनुज प्याकुरेलको नाममा ३ करोड ५८ लाख ९२ हजार ४०९ रुपैयाँ बेरुजु निकालेको छ।

महालेखाको प्रतिवेदनले नरग्राम माध्यमिक विद्यालयको नाममा ५० लाख बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा पेस्की दिइएको रकम तोकिएको म्याद भित्र फर्स्यौट गर्नु गराउनु पेस्की लिने दिने दुवैको कर्तव्य हुने व्यवस्था छ ।

पालिकाले  उपलब्ध गराएको ५० लाख गत वर्षको असार मसान्तसम्ममा पनि फर्स्यौट नभई बाँकी देखिएकोले  महालेखाले असुल्न भनेको छ।  नरग्राम माध्यमिक विद्यालयले २०७८ पुस १९ गते  विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानको १७ लाख ५० हजार,  केन्द्रबाट छनौट भएका नमुना विद्यालय विशेष विद्यालयको क्रमागत भवन निर्माण तथा कक्षा ११ स्तरोन्नति भएका प्राविधिक धार विद्यालयको ल्याब व्यवस्थापन अनुदान ३२ लाख ५० हजार बेरुजु देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *