नेपाली युट्युबर, पुलिस र कर्मचारी सम्झाउने बुल्गेरियन कमेडी फिल्म
बुल्गेरियाको रेल्वे ट्र्याकमा काम गर्ने एक जना मान्छेले एक दिन लाखौँ रकम भेट्छ ।
उ त्यो रकम लुकाउँदैन । बरु प्रहरीलाई खबर गरेर जिम्मा लगाउँछ ।
उसलाई भेट्न पत्रकारहरू आइपुग्छन् ।
उसमा बन्दै गरेको हिरो देख्छन् । ‘उसलाई हिरो देखेको भन्दा पनि उ हिरो भइदिँदा आफ्नो मिडियालाई मिल्ने हिरो कन्टेन्ट पो देखेका हुन् कि ?’
उनीहरू उसको अन्तर्वार्ता लिन्छन् । ठिक त्यसरी नै जसरी केही नेपाली युट्युबरले लिन्छन् । कोट्याइ कोट्याइ । भन्ने कुरा सकिइसक्दा पनि चलाइ चलाइ । जसरी हुन्छ बोल्न लगाइ लगाइ ।
बेलाबेला ‘यस्तो भन्नु है’ भनेर सम्झाउँदै ।
अनि उसले भनेको कुरालाई आफूले दर्शक बल्छीमा परेको माछा जस्तै बनाउने शीर्षकको जिम्मा लगाउँदै ।
उ तीप्रति खासै खुसी हुँदैन । आफूलाई हिरो बनाउन खोजेकाहरूसँग खुसी नभएको अनुहारले कति धेरै कुरा भनिहाल्छ नि हैन ? उसको अनुहार हेर्यो भने हाँस उठ्छ । आफूलाई भेट्न आएकालाई हेर्दै दिक्क मानेको अनुहार । नेपालमा पनि हावा सोहरूमा अन्तर्वार्ता दिन जाने अक्सर धेरैको अनुहार हेर्दा हामीलाई पनि हाँस उठ्छ नि हैन ? कति त जानको लागि गएका छन् । कति झगडा गर्न गएका छन् । कति मुख छाड्न । बाफरे । कस्ता कस्ता मान्छे अन्तर्वार्ता दिइरहेका छन् ।
तर यस्सो सम्झिनु त त्यसरी हाँस उठ्नु खासमा चिन्ता लिनुपर्ने विषय हो नि ।
फिल्मले यही कुरा सम्झाउँछ ।
उ पत्रकारले भने जसरी नै भन्न त खोज्छ तर उसको बोली अड्किन्छ । बोली अड्किने कुरा पनि साङ्केतिक हो । तपाईँले बुझ्नुभयो होला नि । मतलब उसले भन्न चाहेको कुरा त्यो हैन । तर उ भनिरहेको छ ।
उसले पैसा भेटेर फिर्ता गरेको समाचारलाई यातायात मन्त्रीको पब्लिक रिलेसन हेर्ने मान्छे (हाम्रो भाषामा भन्दा पिए) तत्कालीन समयमा चलिरहेको भ्रष्ट्राचारको मुद्दालाई छायामा पार्ने मौका देख्छन् । हाम्रा मन्त्री, कर्मचारी, प्रहरी मध्ये धेरै बेलाबेला यस्तै मौका नै देख्ने हुन् हैन त ? भूकम्पमा आएको जस्तालाई आफ्नो ठाउँमा पुर्याउने मौका । कानुन बनाउने भनेर संसदमा गएर सांसद विकास कोश मार्फत कार्यकर्तालाई पैसा बाँड्ने मौका । मन्त्री हुन नपाई नियुक्ति दिने मौका । हुँदा हुँदा कला र साहित्य क्षेत्रमा रहेकाहरूले समेत दोहोरो सुविधाको मौका नछोडेका ।
कति बेला कसलाई कता फसाउन पाइन्छ भन्ने मौका । अनि फस्न थाले कति बेला त्यो कुरालाई मोड्न पाइन्छ भन्ने मौका । अहिले चलिहरेको नक्कली भुटानी शरणार्थीको मुद्दा सम्झिनु न । अथवा एउटा कुनै छान्नुहोस् र सम्झिनुहोस् । एउटा मात्र भए पो त ?
एउटा दृश्यमा ती पिए उसलाई बधाई दिँदै घडी लगाइदिन्छन् । उ उनको कानमा गएर भन्छ ‘हाम्रा कामदारहरूको पैसा रोकिएको छ, कहिले दिन्छौ?’
हाम्रा नेताहरूले गर्ने गरेका बाचा र यथार्थबिचको अन्तर सम्झायो नि हैन यो संवादले । उनीहरूले देखाउने सपना कति ठुला ठुला । तर मान्छेले भोगिरहेका समस्या कति साना साना । कानूनी राज्यका नारा ठुला ठुला तर माइतीघरमा पुगेर लड्नुपरिरहेकाहरूको समाधान नभएका मुद्दा कति साना । संविधानका धारा कति बलिया बलिया, त्यही धारालाई समातेर अदालतमा लडेको लडाइ चाहिँ कति कमजोर कमजोर ।
पिएले उसलाई लगाइदिइएको घडी सस्तो हुन्छ ।
मतलब हामीले उनीहरूलाई जे दिएका छौँ त्यसको बदलामा उनीहरूले हामीलाई दिएका कुरा सारै सस्ता छन् । हामीले उनीहरूलाई पटक पटक सांसद पद दिएका छौँ । उनीहरूले हामीलाई दिएका मन्त्रीमण्डल कमसल छन् । हामीले उनीहरूलाई पटक पटक मन्त्री पद दिएका छौँ, उनीहरूले गरेका विकासका कामहरू कमसल छन् ।
हाम्रो नाला कमसल छन् । नालामा पानी बग्दैन । ढलाइ गरेको ठाउँमा सतह मिल्दैन । कतै रड निस्किन्छ । हैन इन्जिनियरिङको पहिलो सर्त नै सतह मिल्नुपर्ने हैन र भन्या ?
उ दिक्क मानेर सबै पोल खोल्छ । उनीहरूको भ्रष्ट्राचारको कुरा छताछुल्ल पार्छ । तर सबै शक्ति उनीहरूको हातमा भएको बेला उसको सत्य कसले पत्याउने ? उ उल्टै दोषी मानिन्छ । उ एकैछिनमा भिलेन पारिन्छ ।
शक्तिमा हुनेहरूले मान्छेलाई भिलेनबाट हिरो र हिरोबाट भिलेन बनाउन कति समय लगाउँछन् र ?
क्रिस्टिना ग्रोजेभा र पिटर भाल्चानोभ निर्देशित यो पोलिटिकल सटायर फिल्मलाई हेरुन्जेल तपाईँलाई हाँसो र रिस एकैपल्ट उठ्न सक्छ । घिन र लाज एकैपल्ट लाग्न सक्छ ।
उसको साधारण जीवन कर्मचारीतन्त्रको चङ्गुलमा परेको देख्दा तपाईँलाई छँदाखँदाको आफ्नो ज्यानको पनि माया लाग्न सक्छ ।
जोखिम सहित हेर्न बस्नुस् है त ।
ट्रेलर यता:
@SurajWritesNP