पोखराबाट सुरु भयो शून्य कुष्ठरोग अभियान
पोखरा । पोखराबाट शून्य कुष्ठरोग अभियान सुरु भएको छ । इन्टरनेशनल नेपाल फेलोसीप (आइएनएफ) नेपालले कुष्ठरोग मुक्त समाजका लागि ‘शून्य कुष्ठरोग रणनीति’ सुरु गरेको हो ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण निवारण गरी कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पूर्णता दिन आइएनएफले अभियान सुरु गरेको हो ।
नेपालमा कुष्ठरोगका बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार र पुनः स्थापनासम्म आइएनएफले सहयोग गरेको छ । ‘सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ,’ कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले भने, ‘सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाज निर्माण गर्न रणनीतिक योजना निर्माण गरेका छौँ ।’
समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने गरी रणनीति निर्माण गरिएको छ । बिरामीहरूको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम पनि आइएनएफले गर्ने छ ।
रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरू सरह सामान्य भएको र उपचार सम्भव भएकोले जनचेतनामा बढी जोड दिनुपर्ने बताए । कुष्ठका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रम मार्फत परिवर्तन गर्न सके बिरामी आफैँ अस्पतालसम्म पुग्ने वातावरण सिर्जना हुने उनको भनाई छ ।
‘साधारण रोग हो र उपचार सम्भव छ । यसको चेतना नागरिकस्तरमा पुग्यो भने निर्मूल गर्न सजिलो हुन्छ,’ उनी भन्छन्, ‘हामीले गर्ने व्यवहारकै कारण बिरामीहरू डिप्रेसनमा पुग्छन् । हामी सचेत हुनुपर्छ, समाज परिवर्तन हुनुपर्छ ।’ पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपुरमा तुलनात्मक बढी कुष्ठरोगका बिरामी रहेकाले आइएनएफका कार्यक्रम ती जिल्लामा फोकस गर्न आग्रह गरे ।
सोही अवसरमा हरियो खर्क अस्पताल परिसरमा कुष्ठरोगका बिरामीको उपचारका लागि निर्मित ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियो खर्क अस्पतालमा हाल १ सय बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।