१ असारदेखि विद्यालय बन्द गर्ने कर्मचारी परिषद्को थाल ठटाएर चेतावनी (तस्बिरसहित)

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो । बिरोध कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई बिरोध गर्नुपरेको बताए ।

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौँमा रिले अनसन बस्ने पनि चेतावनी दिए ।

‘असार १ गतेसम्म शान्तिपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनशन गर्नेछौँ,’ उनले भने, ‘आज थाल बजाएर बिरोध गरेका हौँ । थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले बिरोध गरेका हौँ । २ गतेदेखि हाम्रो माग पूरा नहुन्जेलसम्म अनिश्चितकालिन विद्यालय बन्द गर्ने घोषणा गर्दछौँ ।’

उनीहरुले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरा गर जस्ता नारासहित बिरोध प्रदर्शन गरेका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *