भारतले नयाँ संसदमा राखेको नक्शाबारे कुटनीतिक नोट पठाउनुपर्छ : पेशागत महासंघ

काठमाडौँ । पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ ।

भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए ।

उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलीय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्रभित्रका अकुत सम्पत्ती कमाउने व्यक्तिहरुको सम्पती छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए । महासंघको लोगो, नाम, झण्डा, छाप लगायका सामानहरुको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ । उनले आम श्रमिकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्नपनि माग गरे । कर्मचारीहरुले पाइरहेको कुनै पनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले संघीय निजामति सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए ।

महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *