राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्रलाई दाहालको चेतावनी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताएका हुन् । उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे ।

सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । नियमभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलिभन्दा बहिर गएर बोलेको उल्लेख गरे । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाइ छ । संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे ।

‘अन्तिम समयमा सभामुख समक्ष ज्ञानेन्द्र शाहीले समय माग्नुभयो नियमापत्ति गर्नुभयो,’ उनले भने, ‘नियमापत्ति गरेपछि सभामुखले के को नियमापत्ति माननीय भनेर सोध्नुपर्थ्याे । कुन धारा अन्तर्गत ? कुन बुँदा अन्तर्गत ? कुन विषयसँग ? विषयवस्तु केन्द्रित गरेर मात्रै नियमापत्ति गर्न पाइन्छ । आज ज्ञानेन्द्र शाहीले बोल्नै पाउनुहुन्न थियो ।’

सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा(एमाले) नागरिकता विधेयकलाई स्वीकार्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिए । उनले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिकाहरु पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुुपर्ने बताए । सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याई आवश्यकता र उपयोगिताको आधारमा बजेट ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उनले भने, ‘न्यायोचित वितरण गर्नुपर्छ बजेटको । अर्थमन्त्रीले न्याय सम्पादन गर्नुहुन्छ । मानव विकास सूचकांकको आधारमा जुन जिल्ला र पालिका पछि परेका छन् त्यसका आधारमा बजेट विनियोजन गर्नुपर्छ । पहुँच र मन्त्रीमुखी बजेट ल्याउँदैन सरकारले । आवश्यकता र उपयोगिताको आधारमा बजेट विनियोजन हुन्छ ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *