घरघरबाट त सिकाइँदै छैन भ्रष्टाचार गर्न ?

घुस लिने र दिने दुवै ‘अपराधी’ हुन् । राजाको पालामा घुस लिने र दिने दुवैलाई जेल कोचिन्थ्यो । तर, पछिल्लो समय जुनै पनि काम घुसले हुने गरेको छ । जुनसुकै काम गर्न पनि घुस खुवाउनैपर्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुलुकका ‘हाइप्रोफाइल’ नेताहरू समातिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत अन्य थुप्रैमाथि करोडौँ रुपैयाँ घुस खाएको आरोप लागेको छ ।

उनीहरू हाल प्रहरी हिरासतमा छन् । प्रहरीले घुस लिनेलाई समात्यो, दिनेलाई किन समातेन ? करोडौँ रुपैयाँ खर्च गरेर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तम्तयार हुनेहरूलाई पनि पक्राउ गर्नुपर्ने होइन ? तिनीहरू चाहिँ कसरी पीडित भए ? गैरकानुनी प्रक्रियामार्फत अमेरिका जान खोज्नेहरूलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्छ । घुस लिने जति दोषी छन्, घुस दिनेहरू पनि उतिनै दोषी हुन् । यो घुस प्रकरण त एउटा उदाहरण मात्र हो । किन कि यहाँ जागिर खान होस् या राजनीतिमा एउटा स्थान बनाउन घुस खुवाउनैपर्छ ।

क्षमता छ तर पैसा नभईकन केही चल्दैन । कि आफ्नो मान्छे हुनुपर्‍यो । लोकसेवामा जागिर खान घुस चाहिन्छ नै । पढाइ, काम गर्ने क्षमता र ट्यालेन्ट होइन, कति पैसा बगाउन सक्छ ? त्यो हेरिन्छ । होइन भने राजनीतिक दलको सिफारिस हुनुपर्छ । आर्मी, पुलिसमा जागिर खानका लागि घुस दिनैपर्छ । यता, ठेकेदारहरूले ठेक्का आफ्नो हात पार्नका लागि पनि सरकारी निकायका कर्मचारीलाई घुस खुवाउँछन् । चुनावमा उठ्नका लागि पार्टी अध्यक्षलाई घुस दिनुपर्छ ।

अनि मुलुकमा कसरी भ्रष्टाचार हट्छ ? हरेक पाइलामा भ्रष्टाचार छ । घुस लिने र दिने काम जहाँकहीँ भइरहेको छ । सरकारी कर्मचारीको तलब कति हुन्छ ? २० हजारदेखि ८५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी यहाँ छन् । तर, २० हजार कमाउनेको यहाँ महलजस्तो घर छ । उनीहरूको तीन करोडदेखि १० करोड रुपैयाँसम्मको सम्पत्ति छ । यो कसरी सम्भव भयो त ? त्यति जाबो कमाउनेले छोराछोरी पढाओस् कि घरको खर्च टारोस् । तलबको पैसाले राम्रो खानलाउन पुग्दैन, सम्पत्ति कहाँबाट जोड्ने ?

यो भ्रष्टाचार हो भनेर छर्लङ्ग देखिन्छ । तर, उनीहरूको विरोधमा उजुरी हाल्ने आँट कसैमा पनि छैन । जन्म दिने बुवा नै भ्रष्टाचारी भए त उजुरी हाल्न र कानुनको कठघरामा उभ्याउन खुट्टा कमाउनुहुँदैन भने अरूको त कुरै छोडौँ । विडम्बना, नेपालीको सोचाइ यस्तो छैन । अरूलाई लुटेर ल्याओस् कि ठगे, खर्च गर्न र आरामदायी जिन्दगी जिउन पाए हुन्छ । छोराछोरी अर्कालाई लुटेर ल्याएको पैसामा मोजमस्ती गर्दै हिँड्छन्, श्रीमती स्वाङ पार्दै ।

यहाँ त भ्रष्टाचार गरेर सात पुस्तालाई पुग्नेगरी सम्पत्ति जोडिन्छ । हजुरबुवाले भ्रष्टाचार गरेको पैसामा सात पुस्ताले मोज गर्छन् । काम पनि गर्न नपर्ने, आरामदायी जिन्दगी बसिबसी पाइने । अनि कसरी भ्रष्टाचार हट्छ ? सरकारले जुनसुकै नीतिनियम र कानुन बनाएपनि भ्रष्टाचार हटाउन सम्भव छैन । जबसम्म घरघरबाट भ्रष्टाचारीको विरोधमा आवाज उठाइँदैन तबसम्म यो क्रम चलिरहन्छ । मुलुक भ्रष्टाचारको जालोबाट निस्किन सक्दैन ।

सरकारले निःशुल्क भनेको सेवासुविधा साँच्नै नै निःशुल्क छ त ? घुस नदिएसम्म सरकारी कर्मचारीले काम नै अघि बढाइदिँदैनन् । पैसा खुवायो भने ‘ठाउँको ठाउँ’ काम हुन्छ । तर, घुस दिएन भने महिनौँसम्म पनि फाइल अड्काएर राखिदिन्छन् । अनि कसरी बालकृष्ण र टोपबहादुर मात्र घुस्याहा भए त ? घुसखोरी त सबै हुन् नि । शिक्षा दिने ठाउँमा समेत आर्थिक चलखेल हुन्छ । विद्यार्थीका लागि सरकारले छुट्याएको दिवा खाजाकै पैसामा शिक्षकले भ्रष्टाचार गर्छन् ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सहयोग दिइएको कापी कलमसमेत बेचेर खाइदिन्छन्, शिक्षक । शिक्षक त यस्ता छन् भने विद्यार्थीलाई के सिकाउँछन् ? अन्यायमा परेकालाई न्याय दिने भनिएका वकिलहरू पनि घुसखोरी भए । अहिले जतिपनि सरकारी, गुठीका जग्गा व्यक्तिको नाममा गएका छन्, त्यो सबै वकालती गर्नेहरूकै काम हो । पैसा खुवाएपछि वकिलहरूले हार्ने मुद्दालाई पनि जिताइदिन्छन्, जित्ने मुद्दालाई पनि हराइदिन्छन् । यता, बैंक तथा वित्तीय संस्थाको कुरा गरौँ ।

सबैभन्दा धेरै घुसको चलखेल हुने क्षेत्र बनेको छ, यो । आफ्नै सम्पत्ति धितो राखेर, मासिक ब्याज तिरेर कर्जा लिन पनि घुस खुवाउनुपर्ने । कस्तो नियम हो यो ? भन्नलाई खुल्ला प्रतिस्पर्धामार्फत टेण्डर आह्वान गरेर ठेक्का दिइएको भनिन्छ । तर, ठेकेदारहरूले सरकारी निकायका हाकिमलाई घुस नखुवाएसम्म ठेक्का पाउन सम्भव छँदै छैन । यता घुस खुवाउँछ उता झारा टार्ने काम गरिदिन्छन् । बाटो कालो पत्र गरेको वर्षदिनमै उप्किन्छ । पुल बनाउँदाबनाउँदै भत्किन्छ ।

मुलुकमा घुसबिना काम हुने कुन क्षेत्र छ त ? पदमा पुग्नको मात्र बेर हो, पुगेपछि रातारात मालामाल बन्छु भन्ने सोच सबैमा छ । हामीलाई कसले कसरी कमायो ? भन्ने कुरा थाहा छ । कसैले राज्यलाई राजस्व छलेर कमाएको छ, कसैले व्यक्तिलाई लुटेर । तर, त्यसको विरोधमा कसले त्यस्ताको विरोधमा कानुनको ढोका ढकढकाउने ? घर बनाउँदै र गाडी किन्दैमा मान्छे राम्रो हुँदैनन् । चप्पल नै लगाओस् तर इमान्दार मान्छेको सधैँ सम्मान गर्नुपर्छ ।

नेपालीहरू पहिल्यैदेखि उल्टो बाटो हिँडे । जसरी हुन्छ सम्पत्ति जोड्नुपर्‍यो । बाटोमा चप्पल लगाएर हिँड्नेलाई कसैले गन्छ ? गन्दैनन् । भ्रष्टाचार गरेर गाडी चढ्नेलाई फूलमाला लगाउँछन् । अनि मुलुक कसरी भ्रष्टाचारमुक्त हुन्छ ? भ्रष्टाचार हटाउनका लागि पहिले जनता सचेत हुनुपर्‍यो । सरकार घरघरमा धाएर भ्रष्टाचार खोतल्न त सक्दैन । जनताले भ्रष्टाचार भइरहेको छ भनेर सरकारको कानसम्म पुर्‍याइ दिनुपर्‍यो । अनि मात्र भ्रष्टाचार हट्छ ।

यहाँ छोराछोरीले बुवाआमा र बुवाआमाले छोराछोरीलाई भ्रष्टाचार गर्न सिकाइरहेका छन् । छोराछोरीको चाहना पूरा गर्नका लागि बुवाआमाले भ्रष्टाचार गर्छन् । समाजमा देखासिकीले भयावह रूप लिएको छ । अर्काको छोराछोरी महँगो स्कुलमा पढ्छन् । आफ्नोले पनि त्यही पढ्नुपर्‍यो भनेर जिद्दी गर्छन् । अरूको छोराछोरीले मोबाइल बोक्छन्, आफ्नोले माग गर्छन् । किनिदिनै पर्‍यो । छोराछोरीले जे जे भन्छन् त्यही त्यही पुर्‍याउनका लागि बाबुआमाले भ्रष्टाचार गर्छन् ।

गलत रूपले कमाएर पनि इच्छा पूरा गरिदिन्छन् । बाबुआमा बुढाबुढी हुन्छन् । छोराछोरीलाई भन्छन्,‘अब मर्ने बेला हुन लाग्यो । आफ्नै घरमा मर्न पाएपनि हुन्थ्यो ।’ बुवाआमाले घरको इच्छा राखेका छन् है भनेर सन्तान त्यतातिर लाग्छन् । घर बनाउनका लागि भ्रष्टाचारको बाटो रोज्छन् । घरमा मरे पनि कोठामा मरे पनि जाने आखिर सास नै हो । घरसँगै जाने होइन । तर, नेपालीले यो कुरा बुझेनन् । उनीहरूलाई आफ्नो घर भयो भने के के न हुन्छजस्तो भएको छ ।

एउटा व्यापारीले पाँच रुपैयाँ पर्ने सामान २० रुपैयाँमा बेच्छ । उसले आफ्नो सन्तानलाई पनि त्यही नै सिकाउँछ । पाँच रुपैयाँको सामान २० मा बेचेपछि बुवाले छोरालाई भन्छन्,‘तैँले व्यापार सिकिस् ।’ अरूलाई ठग्नु व्यापार हो ? मान्छेले जन्मिने बेला शरीर मात्र ल्याएको हुन्छ । मर्ने बेलामा पनि शरीर मात्र लैजाने हो । विडम्बना, यो चेतना नेपालीमा आउन सकेनन् । धनसम्पत्ति त जिउँदो हुन्जेल त चाहिने हो । भ्रष्टाचार गर्नेलाई सबै घृणा गर्छन् ।

तर, गरिब नै भएपनि समाजमा राम्रो काम गर्‍यो भने सबैले सम्झिन्छन् । आफ्नो खानुपर्दा अरूले पनि खानुपर्छ भन्ने सोचौँ । अरूलाई मारेर, लुटेर, ठगेर केही हुनेवाला छैन । क्षणिकलाई मोजमस्ती गरिएला तर अरूलाई रुवाउनेलाई कहिले राम्रो हुँदैन । समाज र राष्ट्रका लागि पहिले जनता जिम्मेवार हुन जरुरी छ । राज्यलाई मात्र दोष दिएर भ्रष्टाचार हटाउन सम्भव छैन ।

सांसद चित्रबहादुर केसीले यसअघि भनेका थिए,‘मेरो छोराले सरकारी जागिर लगाइदिनु भनेको थियो । मैले जे गर्न सक्छस् त्यही गर भनेको थिए । उसले तन्दुरी पसलमा रोटी पोल्ने काम गर्‍यो ।’ यदि यो सत्य हो भने सबैले यहाँबाट पाठ सिक्नुपर्छ । आफू उभिने आफ्नै खुट्टामा हो । अरूको खुट्टामा उभिएर कतिन्जेल चल्न सकिएला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *