पत्रकारितालाई आफ्नो साख सम्झाउने ‘स्कुप’
‘पहिले-समाचारलाई पत्रकारहरू २-३ पल्ट भेरिफाई गर्थे र छाप्थे, पाठकले पत्याउँथे । अचेल-पत्रकार समाचार लेख्छन्, पाठकले ३-४ पटक भेरिफाई गर्छन् र पनि पत्याउँदैनन् ।’ मैले ‘स्कुप’ सिरिज हेरुन्जेल पत्रकार लेनिन बन्जाडेले लेखेको यो ट्विट पटक पटक सम्झिरहेँ ।
उनले भनेको जस्तै अहिले पत्रकारिता हतारमा छ । मानौँ कुनै दौडमा छ । कसले पहिला ब्रेकिङ न्युज दिने । कसले एक्सक्लुसिभ बनाउने । कसले सबैभन्दा धेरै भ्युज ल्याउने ।
पहिला पहिला पत्रकारिता ‘हतारको साहित्य थियो’ अहिले ‘रफ्तारको साहित्य’ छ । हुनसक्छ यो रिभ्यु पनि म हतारमा नै लेखिरहेको छु । हुनसक्छ म पनि यो हतारको विषय भइसकेको छु ।
पहिला पहिला पत्रकारितासँग सूचना हुन्थ्यो । त्यसलाई खेलाउने समय हुन्थ्यो । प्रश्न सोध्ने । भेरिफाइ गर्ने । आवश्यक परे फेरी प्रश्न सोध्ने । अहिले त्यो समय घट्दै गएको छ । अहिले प्लेटफर्म बढेका छन् तर तीनको विश्वसनीयता घट्दै गएको छ ।
म स्वयं पनि एक पटक त्यसको सिकार भएको छु । नेपाली हिउँचितुवाको फोटो खिचेर चर्चित भएकी भनिएकी युवतीसँग मैले पनि कुराकानी गरेँ । उनको फोटो अमेरिकन राजदूतावासले समेत हालेपछि मलाई उनको कथा सुन्ने इच्छा भएको थियो । उनलाई फेसबुकमा म्यासेज गरेँ । इमेलमा कुराकानी गरेँ । उनले कथा सुनाइन् । कथा मनपर्यो । कान्तिपुरले छाप्यो पनि ।
तर उनले खिचेका फोटो झुटो रहेछन् । केहीदिनमा अल्पाइनम्यागले गरेको रिसर्चले पत्तो लाग्यो ।
मेरो लेखनको विषय खोज पत्रकारिता थिएन । उनका फोटो साँचो हुन् कि झुटो हुन् भन्ने कोण पनि मेरो थिएन । रै पनि उनले इमेलमा मात्र बोल्न चाहेको कुरालाई मैले ‘किन होला?’ भनेर खोज्न सक्थेँ । उनले दिएका बनावटी लाग्ने जवाफलाई अझै कोट्याएर सोध्न सक्थेँ । फोटोको बारेमा नेपाली फोटोग्राफरसँग कुरा गर्न सक्थेँ ।
उनी त्यसरी नै काम गर्न रुचाउने मान्छे होलिन् सोचेर मैले उनको जवाफहरूलाई विश्वास गरेँ । फसेँ । (यो विषयको बारेमा अर्को एउटा फिल्मसँग जोडेर फेरी लेख्नेछु । धेरैलाई उनी साँचो मान्छे नै हैनन् भन्ने पनि लागेको रहेछ । उनी साँच्चै मान्छे हुन् । नेपाल आएकै थिइन् । तर पर्याप्त चर्चा पाउने आशामा सायद फट्याइँ गरिन् । हतारमा चर्चित हुने लोभमा परिन् ।)
नेपालमा यतिबेला केही फ्याक्ट चेकिङ वेबसाइटहरू चालु छन् । तीनले मिडिया वा सामाजिक सञ्जालमा आएका खबरहरू साँचो हुन् कि हैनन् जाँच गर्छन् । धन्न जाँच गर्छन् र जोगिन पाइन्छ । नेपालको पत्रकारिता कति हतारमा गइसकेको छ भन्ने कुरा तीनले बनाएका पछिल्ला केही फ्याक्ट चेकहरू हेर्यो भने पनि धेरै कुरा थाहा हुन्छ । भर्खरैको उदाहरणमा माइसन्सारले स्विडेनमा सेक्स च्याम्पियनसिप हुने कुरा झुटो लेखेका भनेर पत्रिकाहरूको फ्याक्ट चेक गरेको थियो । त्यसमा कहलिएका धेरै मिडिया समेत परे ।
रफ्तारको साहित्यमा कसैलाई पनि अडिने फुर्सद छैन । आज केही परे । भोली कोही पर्छन् ।
अनि त्यो रफ्तार पत्रिकालाई मात्र आएको हैन । साधारण मान्छेलाई पनि आएको छ । दुर्घटना भएको ठाउँमा मद्दत गर्न जानुभन्दा पहिला भिडियो खिच्ने मान्छे । हात हातमा सामाजिक सञ्जाल लिएर आफ्नै मिडिया चलाइरहेको मान्छे । ती सबै रफ्तारमा छन् । गलत समाचारलाई पत्याएर उसकै पछि कुदिहाल्ने मान्छे । कुन समाचार पब्लिकमा जानुपर्ने हो थाहा नपाएका मान्छे ।
यस्तो लाग्छ हामी सबै त्यो हतारको उत्पादन भइसकेका छौँ ।
पत्रकारिताको यही रफ्तारको विषय बनिसकेकी एक अपराध बिटमा काम गर्ने पत्रकारको कथामा आधारित सिरिज ‘स्कुप’ ले हरेकपल्ट हिट विषय दिने चक्करमा हामीले के गुमाइरहेका छौँ र हाम्रो पत्रकारिताले के हराइरहेको छ भन्ने कुरा सम्झाइदिन्छ ।
अनि भनिदिन्छ ‘पत्रकारिताको धर्म न्युज ब्रेक गर्नुमात्र हैन, ब्रेकिङको चक्करमा अक्सर छुटिरहने नयाँ कोणलाई अगाडी ल्याउनु पनि हो ।’
+++++
जुन २०११ मा अपराध बिटमा काम गर्ने भारतीय पत्रकार ज्योतिर्मोइ दे को मुम्बइमा हत्या भयो । हत्याको अभियोग चर्चित डन छोटा राजनलाई लाग्यो । अनि केही दिन पहिला राजनको अन्तर्वार्ता छापेको कारण हत्यामा सहयोग गरेको अभियोगमा सोही बिटमा काम गर्ने अर्की पत्रकार जिग्ना भोरा पक्राउ परिन् । भारतको पनि अदालती प्रक्रिया त्यही हो । त्यसमा पनि हाइप्रोफाइल केस भएकाले प्रहरीले मुद्दालाई अल्झाउन मिल्ने गतिलो चाल खोज्यो । पत्रकारितालाई गलाउन मिल्ने मज्जाको जाल खेल्यो । आफ्नो मुख जोगाउने उपयुक्त मौका प्रहरीले पनि पायो ।
जिग्ना लामो अदालती प्रक्रिया चलुन्जेल जेल बसिन् । जेलमै ‘बिहाइन्ड द बार्स इन बाइकुला: माइ डेज इन प्रिजन’ नामको किताब लेखिन् ।
हन्सल मेहता निर्देशित ‘स्कुप’ त्यही किताबमा आधारित भएर बनेको ह। जिग्ना भोराको चरित्र सिरिजमा जाग्रुती पाठक बनेकी छन् । अनि उनी जस्तै अरू चरित्रहरू पनि वास्तविक जीवनभन्दा फरक नामका छन् ।
जाग्रुतीको सुरक्षा र अपराध जगतका हरेक ठुला मान्छेसँग पहुँच छ । सबैसँग सम्बन्ध बनाउँदै स्टोरी ब्रेक गर्न माहिर छिन् । उनको गतिसँग सबै जना परिचित छन् । उनी सात वर्षमा नै डेपुटी ब्युरो चिफ बनेकी छन् । उनलाई गति र पहिलो पृष्ठमा छापिने आफ्नो नामसँग लगाव छ । यति लगाव छ कि उनी त्यसको लागि जे पनि गर्न तयार छिन् ।
सिरिजले उनको रफ्तारको माध्यमबाट एक पत्रकारको महत्वकांक्षालाई देखाएको छ । त्यो महत्त्वाकाङ्क्षा सही र गलत पाटो के के हुन सक्छ भन्ने कुरा पनि दर्साएको छ । यसै पनि पुरुषहरू धेरै भएको क्राइम रिपोर्टिङमा उनी त्यसरी पुग्नु ठुलो कुरा हो । उनको चरित्रसँग महिलाहरूले के के गर्न सक्छन् भनेर देखाउन सक्ने ठुलो तागत छ । तर त्यसले जोखिम पनि थपिदिएको छ ।
तर जाग्रुती चरित्रले पाउने घटनाक्रमको तह यति मात्र छैन । उनको गतिलाई असामान्य मान्नेहरू उत्ति नै छन् । यो हाम्रो समाजको समस्या हो । यसले कुनै महिलाले केही प्रगति गरिन् भने उनको प्रगतिलाई विशुद्ध प्रगतिको रूपमा हेर्दैन । बरु अर्को पुरुषले निकाल्ने ब्रेकिङ न्युजलाई मेहनेत ठान्ने यही समाज उनले निकाल्ने ब्रेकिङ न्युजमा पक्का पनि दायाँ बायाँ केही गरिन् होला भनेर शङ्का गर्छ । उनीसँग दोहोरो अर्थ लाग्नेगरि प्रहरी अफिसरले कुरा गर्छ तर त्यसको दोष पनि अक्सर उनले नै भोग्नुपर्छ । समाज महिलाको कोणबाट विषयलाई हेर्न अल्छी गर्छ ।
उनी एक्लै आफ्नो बच्चालाई हुर्काइरहेकी छन् । प्रेमी भनिएको मान्छे उनी अदालती झमेलामा परेपछि तर्किन्छ । हाम्रो समाजको पुरुष सजिलो हुन्जेल मात्र महिलाको सहयोगी बन्छ, अप्ठ्यारो सुरु हुनासाथ अपरिचित बन्छ ।
उनको प्रगतिमा जल्ने अफिसको उनी भन्दा तलको एक चरित्र छ । उ उनलाई कसै गरी गिराउन चाहन्छ । उनले तर्कले जितेको विषयलाई पनि महिला भएकै कारणले ठाउँ पाएको भनिबस्छ । उ जाग्रुतीलाई पत्रकारिताको शक्तिले भन्दा पनि कुनै अनैतिक व्यवहारले माथि पुगेकी मान्छेमा सीमित गर्छ ।
हाम्रो समाज महिलालाई धेरै कुरामा सीमित पार्छ ।
उनको प्रगतिमा ईर्ष्या गर्ने त्यही पात्रकी श्रीमती छिन् । उनको कथा जाग्रुतीसँग धेरै मिल्छ । उनको गति जाग्रुतीसँग मिल्छ । उनले पनि भर्खरै प्रमोसन पाएकी छन् । तर त्यो युवक आफ्नै श्रीमतीलाई सोध्छ ‘आफ्नो बोससँग त सुतेकी छैनस् नि ।’
सिरिजले अपराध जगतको कथा भन्दै गर्दा महिलाहरूप्रति असमान यस्ता धेरै सामाजिक तहहरूलाई पनि चलाएको छ ।
+++++
तीव्र महत्त्वाकाङ्क्षा तहमा एकछिन कुरा गरौँ ।
सिनियर रिपोर्टरको हत्या भएपछि उनले त्यो विषयलाई समाचार बनाउन खोजेको प्रसङ्ग फिल्ममा छ । उनी जेल परेको बेला पनि त्यसलाई पटक पटक सपनामा देखिरहन्छिन् । रिपोर्टर गोली लागेर भुईँमा ढलेको छ । उनी उसलाई उठाउन भन्दा त्यसलाई पनि समाचार बनाउन हतार गर्छिन् । सपनामा ‘एम्बुलेन्स एम्बुलेन्स’ भन्दै बरबराउँछिन् ।
उनलाई जुन पनि न्युज ब्रेकिङ गर्ने तीव्र महत्वकांक्षाले यसरी छोएको छ कि उनले हार्नुलाई कमजोरी मान्न थालेकी छन् । आफूभन्दा सिनियरले आफूलाई नचिनेकोमा इख राख्ने उनी आफूभन्दा जुनियरलाई स्पेस दिन नखोज्ने भएकी छन् । त्यस्तो हतारले केहीपल्ट उनलाई गलत सूचनाको जिम्मामा पनि पुर्याउँछ ।
केही समय पहिला उकेरा डटकममा अन्तर्वार्ता दिँदै नेपाली सुरक्षा बिटमा काम गर्ने नयाँपत्रिकाका पत्रकार नवराज मैनालीले भनेका थिए ‘हामीहरू प्रहरीका प्रवक्ताजस्ता भयौँ।’ जाग्रुती पनि त्यही जोखिममा छिन् । उनलाई पछार्न भनेर आउन चाहिरहेकी अर्की महिला पात्र त झन् लगभग प्रहरीको इशारामा चल्ने पत्रकार भइसक्छिन् ।
यस्ता दृश्यहरूले सुरक्षा पत्रकारितासँग जोडिएका जोखिमहरू देखाएको छ ।
सिरिजको धेरै ठाउँमा प्रकाशकले सम्पादकीय तहमा हस्तक्षेप गर्छन् । भन्छन् ‘व्यवसाय जसरी पनि चल्नुपर्यो ।’ त्यो हस्तक्षेपले पनि पत्रकारिताको कमजोरीहरू कहाँ कहाँ हुन्छन् देखाएको छ । यदि त्यसरी नै के कुरा छाप्ने र के नछाप्ने कुरा व्यवसायको दृष्टिकोणले मात्र हेर्ने हो भने पत्रकारिता स्वतन्त्र रहँदैन भन्ने कुरा पनि सिरिजले उठाएको छ । त्यसैले पनि जाग्रुतीको पक्षमा बोलिरहेको सम्पादक उनले त्यसरी बोल्दा सरकार र प्रहरी विरुद्ध लागेको जस्तो देखिएको र त्यसै कारण विज्ञापन आउन छोडेको भन्ने कुरामा प्रकाशकसँग मतभेद भएपछि राजीनामा दिन्छन् ।
जाग्रुतीमाथि चलेको मुद्दाले भारतीय समाजको कानुनी कमजोरीहरूलाई पनि देखाएको छ । उनीमाथि लगाउँदै नलगाउनुपर्ने मुद्दा लाग्छ । ठोस प्रमाण नहुँदा पनि त्यति लामो समय नलाग्नुपर्ने मुद्दा लम्बिन्छ । उनले त्यति धेरै समय शारीरिक र मनोवैज्ञानिक पीडाबाट गुज्रिनुपर्छ ।
+++++
सिरिजको एउटा दृश्यमा जाग्रुतीको सम्पादक भन्छन् ‘पहिला पहिला उत्कृष्ट पत्रकारिता विवादास्पद हुनु स्वाभाविक मानिन्थ्यो, अहिले जे विवादित हुन्छ त्यसलाई उत्कृष्ट पत्रकारिता मानिन्छ ।’
यो ट्रेन्ड बिस्तारै नेपाली मिडियासम्म पनि आउँदै गरेको छ । यसको समाधान के त ?
अर्को संवादमा तीनै सम्पादक भन्छन् ‘कोही बाहिर सुख्खा छ भन्छन्, कोही बाहिर पानी पर्दै छ भन्छन् । समाधान त झ्याल खोलेर हेर्नुमा हुन्छ ।’
आशा छ हाम्रो पत्रकारिताले भित्र बसेर पानी परेको वा नपरेको भन्नुभन्दा पहिला एकपल्ट झ्याल खोल्न सिकोस् । मिल्छ भने बाहिर जाने समय निकालोस् ।
रफ्तारको साहित्यबाट थोरै ब्रेक लिएर लामो सास फेरोस् ।
@SurajWritesNP