जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख आयुक्त थपलिया
मकालु खबर
२०८० जेठ २९ गते
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् ।
संविधान र कानुन प्रतिकूल हुनेगरी सरकारले बजेटमार्फत सो कार्यालय हटाउने निर्णय गरेकाले त्यसलाई तत्काल सच्याउनुपर्ने उनको तर्क थियो । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्णय सरकारले तत्काल नसच्याउने हो भने आगामी श्रावण १ गतेबाट जिल्ला निर्वाचन कार्यालयहरूबाट हुने निर्वाचनसम्बन्धि सबै काम ठप्प हुने स्मरण गराए ।
निर्वाचन आयोगको कार्यालय कहाँ रहने भन्ने कुरा निर्वाचन आयोग आफैँले गर्ने कुरा संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय कहाँबाट आयो ? भनी सरकारलाई पटकपटक प्रश्न समेत गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानुन आफैं बोल्ने भएकाले जिल्ला निर्वाचन कार्यालय चाहिन्छ भनेर निर्वाचन आयोगले बोलिरहन आवश्यक नभएको समेत बताए । उनले भने ‘संविधानले र निर्वाचन कानुनले पनि प्रस्ट रूपमा निर्वाचनको कार्यालय कहाँ राख्ने भन्ने कुराहरूको निर्णय आयोगले गर्नेछ भन्ने छ यहाँ । संविधानको दफा नै किन पढेर सुनाऊ । तपाईँहरूले नै बनाएको कानुन हो । अव निर्वाचन आयोगले थाहै नपाई उसको कार्यालय कहाँ पुग्छ ? पत्तो हुँदैन । यो गजबको स्थिति पनि हामीले देखिराखेका छौँ । जहाँसम्म सङ्गठन संरचनाको विषय छ । आयोगले पहिले तयार गर्छ । अनि प्रस्ताव गर्छ नेपाल सरकारलाई । अनि, नेपाल सरकारको स्वीकृति अनुसार त्यो कार्यान्वयन हुन्छ । यतिसम्मकि संविधानको धारा २४७ ले त केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन सम्बन्धी काम गर्नको निम्ति कर्मचारी, स्रोतसाधनलगायत अन्य सहयोग गर्नुपर्छ भनेर संविधानमै लेखिएको छ । अव यसमा यति भनिसकेपछि यो संविधान अनुकूल छ कि छैन ? भनेर मैले भन्नै परेन । र, यो कार्यालय चाहिन्छ कि चाहिँदैन भनेर पनि बोलिरहन परेन । संविधानमा प्रस्ट १२/१५ वटा बूँदा यहाँ छन् । त्यसले यो कुरा प्रस्ट गर्दछ । यस कारण यसै अनुरूप हुनको निम्ति म अनुरोध गर्दछु । र, यही विषयमा अन्तिममा चाहिँ मैले के अनुरोध गर्न चाहन्छु भने अव करिवकरिव हाम्रा ४२ वटा जति हाम्रा आफ्ना कार्यालयहरू छन् आफ्नै सरकारी भवनमा । धेरैजसो कार्यालय भाँडामा लिएर पनि हाम्रा निर्वाचन सामग्रीहरू र जुनजुन जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा सम्मानित अदालतमा प्रश्न उठेको छ । त्यसको कागजात पनि सुरक्षित राखिएको स्थिति छ । यो निर्णय तत्कालै सच्चिएर यथावत रूपमा सम्पूर्ण कार्यालयहरू सुचारु हुन्छन् भन्ने स्थिति नहुने हो भने हामी साउन १ गतेदेखि अहिले जिल्ला निर्वाचन कार्यालयले गरिरहेका सम्पूर्ण कार्यहरू ठप्प हुने स्थिति भएको हुँदा यो चाहिँ ढिला भइसकेको छ । त्यसकारण छिट्टै यो विषयमा निष्कर्षमा पुग्न जरुरी छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्न पाउने व्यवस्थासहित नयाँ निर्वाचनसम्बन्धि कानुन उने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सो सम्बन्धी कानुनको मस्यौदामा सबै तहको निर्वाचनको मितिको समेत स्पष्ट व्यवस्था गरिएको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभाको उपनिर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्न आयोग तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक निर्णयका लागि पहल गरिदिन सांसदहरू र संसदीय समितिको ध्यानाकर्षण गराए ।
मकालु खबर
२०८० जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित