गण्डकीका ३ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
पोखरा । गण्डकी प्रदेशका ३ वटा जिल्ला बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । तनहुँ, स्याङजा र बागलुङ मनसुनजन्य उच्च जोखिममा परेका हुन् ।
यसवर्षको मनसुनजन्य पुर्वानुमानका आधारमा बाढीबाट उच्च जोखिममा रहेका जिल्लाहरुको बर्गीकरण गरिएको छ । गोरखा, लमजुङ, कास्की, पर्वत, मनाङ, मुस्ताङ र म्याग्दी मध्यम जोखिममा परेका छन् । २ वर्षअघि मनाङ र मुस्ताङ लगायत हिमाली जिल्लामा बाढी पहिरोले ठूलो संकट निम्त्याएको थियो । नवलपुरमा यसपालि पनि बारम्बार बाढीले जोखिम निम्त्याइरहने देखिएको छ ।
केही समयपछि नेपालमा मनसुन भित्रिँदै छ । गण्डकी सरकारले मनसुनजन्य क्षति न्यूनिकरण र तत्कालै राहत उद्धारका लागि पुर्व तयारी गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार प्रदेश विपद कोषमा १० करोड र जिल्ला विपद कोषमा १० लाख नघट्ने गरी रकम व्यवस्था गरिएको छ ।
यसबाहेक सबै सुरक्षा निकायलाई स्रोत साधन युक्त राखिएको छ । घटना भइहाले तुरुन्तै घटनास्थल पुग्ने र उद्धारमा सहयोग गर्ने व्यवस्था मिलाएको पाण्डेले बताए ।