मधेश प्रदेश : दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
जनकपुरधाम । नेकपा एमाले समर्थन फिर्ता लिएको २९ औं दिन आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भएपछि आकस्मिक रुपमा प्रदेशसभा बैठक डाकिएको हो । सत्तारुढ लोसपा सांसद उपेन्द्र महतोले आज सांझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने जानकारी दिए ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । तर मुख्यमन्त्री विश्वासको मत लिने मुडमा थिएनन् ।
स्रोतका अनुसार अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निष्कर्षमा पुगेका छन् ।
प्रदेशको सबभन्दा ठूलो दल नेकपा एमालेको समर्थनमा पुस २७ मा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर समिकरण बदलिएपछि चैत २१ मा नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । सरकार छाडेपनि समर्थन दिएको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो । सोही कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ ।
मधेश प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९/९ तथा नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।