मकालु अनुवाद

कलाकारको काम चरित्रको पीडामा होमिने हैन, प्रस्तुत गर्ने मात्र हो : नसीरुद्दीन शाह

नसीरुद्दीन शाह भारतका चर्चित कलाकार हुन् । सत्तरीको दशकका भारतीय आर्ट फिल्महरूमा काम गरेर प्रशंसा बटुलेका उनले ५० वर्ष लामो बलिउड करियरमा थुप्रै यादगार फिल्महरूमा काम गरेका छन् । फिल्मसँगै उनी थिएटरमा पनि उत्तिकै नियमित छन् । सामाजिक र राजनैतिक विषयमा बोल्न नहिचकिचाउने उनी अहिले भारतमा चर्चित अनुहार बनिरहेका चरित्र अभिनेताहरूले उदाहरणस्वरुप हेर्ने व्यक्तित्व बनिसकेका छन् । आफ्नो पछिल्लो यो अन्तर्वार्तामा उनले दशकौँ लामो अभिनय यात्राको क्रममा आफूले बुझेको कुरासँगै स्टारडम अनि मेथड एक्टिङको बारेमा बोलेका छन् । सँगै नवप्रवेशीसँग काम गर्दाको अनुभव पनि साटेका छन् । प्रस्तुत छ मकालुखबरको अनुवादमा फिल्म कम्पानियनसँग उनले दिएको अन्तर्वार्ताको सम्पादित भावानुवाद । 

तपाईँ नवकलाकारहरू आफूसँग नधकाउन् भनेर के गर्नुहुन्छ ? सँगै काम गर्ने कलाकारसँग कोही धकाएपछि त पक्कै पनि राम्रो नतिजा आउँदैन नि हैन ?

नवप्रवेशीहरूले सेटमा ‘म नर्भस छु’ भनेको म मनपराउँदिन । के यो बक्सिङ म्याच हो ? कि कुनै प्रतिस्पर्धा हो ? यस्तो भनिरहेको हुन्छु । यसमा नर्भस हुनुपर्ने कुरा केही छैन । म आफैँ पनि आफ्नो अभिनयलाई लिएर कहिल्यै नर्भस भइनँ । घमन्ड भने पनि हुन्छ तर रोमान्टिक गीत गर्दा बाहेक अरू कुनै पनि बेला म नर्भस भइनँ । मैले दिलीप कुमार, कमल हसन, जस्ता धेरै महान् कलाकारसँग काम गरेँ । उहाँहरूसँग काम गर्दा पनि म कहिल्यै पनि अप्ठ्यारोमा परिनँ । उहाँहरू सबै व्यवसायीक कलाकार भएकाले पनि होला । मलाई मेरो काम थाहा हुन्थ्यो उहाँहरूलाई उहाँको । यो त दुई सङ्गीतकार सँगै बसेर जुगलबन्दी गरेको जस्तै त हो । म कसैसँग चाँडै साथी बनिहाल्न सक्दिनँ । मलाई संवाद सुरु गर्न गाह्रो हुन्छ । तर सेटमा म सँग मात्र हैन क्यामेरा वा नयाँ कामको नतिजासँग डराइरहेको कुनै नवप्रवेशीलाई डराएको देखेँ भने म ऊसँग केही गफ गर्न खोज्छु । उसको काँधमा धाप मारेर उसलाई सहज महसुस गराउने प्रयत्न गर्छु । सफल हुन्छु कि हुन्न त थाहा छैन, तर यस्तो प्रयत्न भने गर्छु । 

तपाईँ पक्कै पनि सफल हुनुभएको छ । पछिल्लो सिरिज ‘ताज’ सफल भएको समाचारहरू पनि आइरहेका छन् । नयाँ सिजन बन्ने पनि कुरा भइरहेको रहेछ । पहिलो सिजनमा आएका प्रतिक्रियालाई कसरी लिनुभयो ? त्यसले दोस्रो सिजनलाई कसरी प्रभाव पार्‍यो ?

सिरिज राम्रो चलेकोमा म खुसी छु । तर एकपल्ट कुनै काम गरिसकेपछि म त्यसलाई समातिराख्दिनँ । त्यसले के गर्छ होला वा कति चल्छ होला भनेर खोज्दिन । त्यो कुरालाई डिलिट नै गरिहाल्छु त भनेको हैन । त्यो पक्कै पनि दिमागमा त रहन्छ । केहीलाई बचाउन पनि मनपर्छ । तर अभिनयको करियरमा मैले एक कलाकारलाई हुन सक्ने धेरै उतारचढाव झेलेको भएर त्यो कुराले मलाई धेरै फरक भने पार्दैन । म त्यसैले पनि आफूले गर्ने कामको बारेमा पूर्वानुमान पनि गर्दिनँ । काम आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने भन्ने नै मेरो लागि सबैभन्दा महत्वको कुरा हो । र सायद यो कुरा मैले आफ्नो करियरको सुरुवाती क्षणमा नै सिक्न पाएँ । १९७५ मा बनेको मेरो पहिलो फिल्म ‘निशान्त’ मा गिरीश कर्नार्ड, सबाना आजमी, स्मिता पाटिल, अमलिस पुरी आदिले खेलेका थिए । त्यो फिल्म रिलिज भएपछि म बाहेक बाँकी सबैले काम पाएका थिए । मैले नपाउनुमा केही कारणहरू थिए । मैले आफ्नो कामको कुनै कम्प्लिमेन्ट पाइनँ । तर पछि थाहा पाएँ मानिसहरूले मलाई कुनै कलाकार नै सोचेका रहेनछन् । हैदरावादबाट ल्याएको कुनै स्थानीय युवक होला भन्ठानेछन् । खासमा त्यो आफैँमा सबैभन्दा ठुलो कम्प्लिमेन्ट थियो । त्यो कुराले केही समय अलमलमा पारे पनि मलाई आफ्नो काम गर बाँकी बिर्सिदेऊ भन्ने सन्देश भने दियो ।  

तपाईँ ५५ वर्षदेखि सिनेमामा काम गरिरहनुभएको छ । लगभग आधा जीवन भन्दा धेरै । अहिलेसम्म २४० वटा फिल्ममा काम गरिसक्नुभएछ । करियरको अहिलेको अवस्थामा तपाईँलाई के ले उत्साह दिन्छ ?

मैले धेरै रोचक भूमिकाहरू पाउन थालेको छु । खासमा जवान हुँदा पाउने भन्दा धेरै रोचक भूमिकाहरू मैले ५० वर्ष कटेपछि पाएँ । हुन त जवान हुँदा गरेका धेरै आर्ट मुभीहरूले मेरो परिचय बनाए तर आफूलाई चुनौतीपूर्ण लाग्ने धेरै भूमिकाहरू मैले आफ्नो करियरको दोस्रो अध्यायमा गर्न पाएँ । आफूले मस्त रमाइलो मान्ने प्रोजेक्टमा सहभागी भएर काम गर्न पाउने कुराले नै मलाई उत्साहित पारिरहन्छ । अगाडी बढाइरहन्छ । यो काम गर्दा मलाई रमाइलो हुन्छ जस्तो लाग्यो भने म त्यो काम गर्छु । रमाइलो लाग्ने कारणहरू धेरै हुन सक्छन् । कहिले भूमिका होला, कहिले काम गर्न मन लागेको निर्देशक होला वा स्विटजरल्याण्डमा एक महिनासम्म सुटिङ गर्न पाइन्छ भन्ने कुरा होला वा त्यसबाट आउने पैसा पनि हुनसक्छ । आजभोलि म सानो सानो भूमिकाहरू गर्न ज्यादा रुचाउँछु । लगभग ५० वर्षभन्दा धेरै सिनेमामा काम गरेकाले म थाक्न थालेको पनि हुन सक्छ । सिनेमामा भन्दा बरु थिएटर गर्न अझै मजा लाग्छ । 

के कुराले त्यस्तो बनाएको ? 

संभबत सिनेमामा अभिनय गर्दा गर्नुपर्ने पर्खाइले होला । त्यसले दिमाग खराब गर्छ । कुनै सटमा अभिनय गर्दै गर्दा कति राम्रो लयमा गइसकेको हुन्छ । त्यसपछि निर्देशकले ‘कट कट कट’ भन्छन् । त्यस्तो नभए हुन्थ्यो जस्तो लाग्छ । तर यो सिनेमाको विशेषता हो । त्यसैले धेरै कम्प्लेन पनि गर्दिन । तर अब चाहिँ म त्यसबाट थाक्न थालेको छु । थिएटर स्टेजमा त्यो भन्दा फरक हुन्छ । त्यहाँ दर्शक र कलाकार बिचमा प्रत्यक्ष सम्पर्क बन्न सम्भव हुन्छ । 

धेरै कलाकारहरूमा आफू अर्कै मान्छे भएको अनि साधारण हुँदा त्यो हराउने भ्रम हुन्छ । तपाईँ यहाँ बिना कुनै मेकअप आउनुभयो । वरपर मान्छे नि छैनन् । के तपाईँ यो कुराबाट जानेरै अलग बस्नुहुन्छ कि ? 

म खासमा वरिपरि घुम्ने मान्छे चाहिन्छ भन्ने कुराको आवश्यकता नै देख्दिनँ । न मैले कहिल्यै त्यसको महसुस नै गरेँ । सबाना आजमीले मेरो करियरको सुरुवातमा मलाई पब्लिक रिलेसन राख्ने मान्छे राख्न सुझाव दिएकी थिइन् । मैले भनेँ मलाई पब्लिक रिलेसन हेरिदिने मान्छे नै चाहिएको छैन । म त्यो आफैँ ह्यान्डल गर्न सक्छु । र म त्यसमा उत्ति सारो आशक्ति पनि राख्दिनँ । लामो समयसम्म मेरो निजी मेकअप म्यान पनि थिएन । धेरै फिल्महरू एकैपल्ट लिएर  सिफ्ट र लोकेसन यताउता हुन थालेपछि मात्र मैले लिएको हो । हरेक ठाउँमा फरक फरक मेकअप म्यानसँग काम गर्न गाह्रो भयो । त्यस बेला राखेको मान्छे नै अहिले म सँग छन् । उनी मेरो अहिलेको म्यानेजर पनि हुन् । हाम्रो थिएटर कम्पनी पनि उनी नै सञ्चालन गर्छन् । मलाई उनी भए पुग्छ । यदाकदा एक गिलास पानी ल्याइदिने मान्छे भए ठिक । अक्सर त्यो पनि म आफैँ गर्न सक्छु । स्टारहरू यस्तो कुरा देखाउन चाहन्छन् । आफू आइपुगेको माहौल बनाउन चाहन्छन् । राजा आउनुभन्दा पहिला सिपाहीले ‘होसियार’ भनेको जस्तो । म आफूलाई राजा मान्दिनँ । त्यसैले धेरै स्टारहरूले गर्ने त्यस्तो व्यवहार मलाई आलोकाँचो लाग्छ ।

त्यसो गरेर तपाईँले धेरै नयाँ प्रतिभाशाली कलाकारहरूलाई आशा बाँड्नुभएको छ । यसरी पनि काम गर्न सकिन्छ भन्ने पार्नुभएको छ । के यसलाई हामी तपाईँले उनीहरूलाई आफ्नो बाटो नभुल्नु भनेर दिनुभएको कुनै सन्देश भनेर बुझ्न सक्छौँ ?

स्टार हुन खोज्दा जीवनसँग सम्पर्क टुट्न सक्छ । तर त्यसलाई टुटाउनु हुँदैन । नवाजुद्दीन सिद्दीकी, पङ्कज त्रिपाठी, स्वर्गीय इरफान खान, गुल्सन देभइया, गजराज राव,  के के मेनन, मनोज बाजपेइ जस्ता कलाकारहरू यति अब्बल हुनुमा उनीहरू सबैले देखेको दुर्गम उज्यालोको पनि हात छ । सबै मध्यम वा निम्न वर्गीय परिवारबाट यहाँ आइपुगेका हुन् । उनीहरूको करियरको विकास क्रमिक छ । कोही पनि ह्वात्तै यहाँ आइपुगेका हैनन् । तर रातारात स्टार बनेको मान्छेसँग जोखिम धेरै हुन्छ । यदि म उनीहरूलाई केही भन्छु भने जीवनसँगको त्यो स्पर्श नगुमाउन भन्छु । मैले माथि भनेका नामहरू वास्तविक जीवनसँग गाँसिएको भएरै यति सबल अभिनेता भएका छन् । उनीहरूसँग चरित्रको लागि चाहिने जीवनको स्रोत छ । जति चर्चित र धनी बन्दै गइन्छ उत्ति नै एक्लो बन्दै जाने खतरा हुन्छ । त्यसले जीवनसँगको सम्पर्क टुटाउँछ । भारतमा भारतमा स्टार हुनलाई उ वास्तविक बन्नु हुँदैन भन्ने खाले सर्त छ कि जस्तो पनि मलाई लाग्छ । 

तपाईँले स्क्रिनमा गर्न अझै पनि संघर्ष गरिरहेको कुनै इमोसन छ ?

सुरुमा नै भने नि रोमान्टिक गीत । कहिलेकाहीँ कुनै इभोसनले गहिरोगरि हिर्काउँछ । त्यसले असहज पनि बनाउँछ । तर म त्यसलाई व्यक्तिगत रूपमा लिन्न । म चरित्र बन्न सङ्घर्ष गर्दिन । उसले के महसुस गर्छ भन्ने कुरा सबै महसुस गर्न पनि चाहन्न । उसले के महसुस गर्छ भन्ने कुराको प्रतिनिधित्व गर्न पाए मलाई हुन्छ । कुनै समय थियो म मेथड एक्टिङमा विश्वास गर्थेँ । चरित्र जे हो त्यस्तै बन्न खोज्थेँ । त्यो मेथडमा अझै पनि धेरै काम लाग्ने कुराहरू छन् । तर चरित्र नै बन्ने वाला जुन बेवकुफी छ त्यो मलाई जहिल्यै पनि बकवास लाग्छ । एक त बन्न सकिन्न । अनि अर्को बन्नु पनि हुँदैन । मैले यदि आफूले गरेको सबै चरित्र बन्नुपर्‍यो भने त म त दृष्टिविहीन पनि बन्नुपर्ला, अपराधी पनि बन्नुपर्ला । चरित्रसँगै उसको पीडामा होमिनु कलाकारको काम हैन ।  उसले त चरित्रको पीडालाई देखाउने मात्र हो । यो कुरालाई यसरी बुझ्यो भने मात्र त्यसमा प्रभावकारी बन्न सकिन्छ । नभए त त्यसले आफ्नै भावनात्मक पक्षलाई मात्र कमजोर बनाउँछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *