पोखरा महानगरलाई खाजा खर्च र भ्रमण कम गर्न लेखा समितिको निर्देशन
पोखरा । पोखरा महानगरको सार्वजनिक लेखा समितिले महानगरमा हुने खाजा खर्च र अध्ययन अवलोकन भ्रमण कम गर्न निर्देशन दिएको छ । समितिको २४ औँ बैठकले आगामी वर्ष खाजा तथा अवलोकन भ्रमणलाई निरुत्साहित गर्न निर्देशन दिएको हो ।
महानगरमा अघिल्लो वर्ष खाजा खानामा मात्रै २ करोड ३९ लाख खर्च भएको थियो । उक्त रकम नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले पनि निर्देशन दिएको छ । समितिले अध्ययन अवलोकनका नाममा लाखौँ, करोडौँ खर्च गरेपनि त्यसको प्रतिफल नदेखिएको भन्दै सचेत रहन महानगरलाई निर्देशन दिएको हो । आर्थिक मन्दीको असर देखिएकाले खर्च कटौती गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो सुझाव दिइएको समितिका संयोजक झपटबहादुर रानाभाटले जानकारी दिए ।
यस्तै, समितिले महानगर भित्रका सबै सार्वजनिक श्रोत, साधन र सम्पत्तिबाट प्राप्त हुने राजश्व र भाडा केन्द्रीकृत गर्न निर्देशन दिएको छ । हाल महानगर भित्रका सार्वजनिक श्रोत, साधन र सम्पत्तिको राजश्व र भाडा विद्यालय, संस्था र समितिले छुट्टाछुट्टै संकलन गर्दै आएका छन् । पोखरा महानगरपालिका भित्र रहेको गुप्तेश्वर गुफा र डेभिडफल्स (पातलो छाँगो) को राजश्व छोरेपाटन मावि र महेन्द्रगुफा र चमेरे गुफाको विन्ध्यवासिनी मावि बाटुलेचौरले संकलन गर्दै आएको छ ।
यसैगरी, अमरसिंह मावि, राष्ट्रिय मावि, कालिका मावि, बाल मन्दिर मावि लगायत महानगर भित्रका १९ भन्दा विद्यालयले सार्वजनिक श्रोत, साधन र सम्पत्तिबाट राजश्व र भाडा संकलन गर्दै आएका समितिले जनाएको छ । यस्तो रकम आफूखुसी खर्च गर्न नदिन समितिको सुझाव छ ।