ढोरपाटनका मेयरविरुद्ध ७६८ उजुरी !

पोखरा । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि बागलुङ स्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बेपत्ता छन् । उनले बागलुङ र पोखरामा इमेज सहकारी स्थापना गरेर बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । सहकारीले हजारौँ बचतकर्ताको रकम फिर्ता गर्न सकेन । दिनहुँ बचतकर्ताले सहकारी घेरा हाल्न थालेपछि सहकारी नै बन्द गरेर मेयर नेपाली सम्पर्कविहीन छन् ।

उनी विरुद्ध अहिले उजुरीको चाङ लागेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनेको भीड दिनहुँ लाग्छ । इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका नायब उपरीक्षक मदन केसीले बताए । अझै चार हजारभन्दा बढी उजुरी आउने अनुमान छ ।

नेपाली जेठ ५ देखि सम्पर्क विहीन छन् । गृह मन्त्रालयले नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । उनीहरू कोही पनि सम्पर्कमा छैनन् ।

नेपालीमाथि बचतकर्ताको दुई अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । हालसम्म ८९ करोड ६६ लाख बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा छन् भने पोखरामा अर्को शाखा छ । बागलुङमा मात्र दुई अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखराका पीडितहरूले पनि जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरको सहकारी महाशाखामा दिनहुँ बैठक गरिरहेका छन् । बचतकर्ताले सामूहिक रूपमा संघर्ष समिति गठन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *