अवरुद्ध बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सवारी सञ्चालन
मकालु खबर
२०८० जेठ ३१ गते
बेनी । बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलवार रातिको बाढीले बगाएको हो ।
मङ्गलवार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सिधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण–२ का वडाध्यक्ष ओम फगामीले जानकारी दिए । उनका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रूपमा खोलामा सवारी वारपार हुने गरी मर्मत गरेपछि सडकमा यातायात सञ्चालन भएको हो ।
सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सञ्चालन भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मङ्गलवार राति वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो ।
यसैबीच बाढीले भुरुङतातोपानीबजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब पाँच सय मिटर बढी पाइपलाइन क्षति भएको छ । गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्याएको छ ।
मकालु खबर
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित