विवादित संवाद हटाउने भएपछि फिल्म ‘आदिपुरुष’ को सेन्सर पास
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको सेन्सर बोर्डले जनाएको छ ।
फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।
उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय भएपछि फिल्म वितरकले नेपालमा प्रदर्शन हुने उक्त फिल्मबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने प्रतिवद्धता जनाएपछि बोर्डले सेन्सर पास गरेको सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले बताए ।
‘फिल्मबाट सीता भारतकी छोरी भन्ने संवाद हटाउन लगाएपछि हामीले आदिपुरुषको सेन्सर पास गरेका हौं । नेपालमा प्रदर्शन हुने फिल्ममा त्यो संवाद हुँदैन‚’ अध्यक्ष दत्तले भने ।
भारतमा के हुन्छ भन्ने ऐकिन भइसकेको छैन। तर नेपालमा भने हट्ने भएको छ।
शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ।
काठमाडौंका मेयर बालेन्द्र शाहले भने भारतमा पनि यी शब्द नहटाइ प्रदर्शन भए तीन दिनभित्रमा काठमाडौंमा रोक लगाउने घोषणा गरेका छन्।