गण्डकी सरकारले आगामी वर्ष ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । यसअघि सरकारले सञ्चालन गरेका एक निर्वाचन क्षेत्र एक सडक, पालिका केन्द्र जोड्ने सडक, प्रदेश गौरवका आयोजना, रणनीतिक सडक र कृषि सडक स्तरोन्नतीका लागि सरकारले विशेष प्याकेज घोषणा गरेको छ । ती सडकहरुको कालोपत्रे र स्तरोन्नति गर्न मात्रै आगामी वर्ष खर्च हुने गरी ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यसबाट ३ सय किलोमिटर सडक कालोपत्रे हुने अनुमान छ भने २५ वटा सडक पुल तथा २० वटा झोलुंगे पुल निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले जानकारी दिए ।
उनका अनुसार आगामी वर्ष शालिग्राम कोरिडोर र बुद्धसिंह मार्गको निर्माणका लागि छुट्टै १९ करोड ५० लाख विनियोजन भएको छ । महत्वपूर्ण सडकमा पर्ने विभिन्न ५ वटा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम अघि सारिएको छ । तनहुँको भीमाददेखि नवलपुरको डेढगाउँसम्म, डेढगाउँदेखि झ्यालबास खण्ड, बागलुङको काठेखोलादेखि गलकोटको नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घासासम्म र लमजुङको शीतलपाटीदेखि नाल्मा फेदीसम्मको सुरुङमार्ग आगामी वर्ष अध्ययन गरिने सरकारले जनाएको छ ।
प्रदेश सरकारले नयाँ सडक निर्माणलाई कम प्राथमिकतामा राखेर भैरहेका सडकलाई बाह्रै महिना चलाउने गरी कार्यक्रम तर्जुमा गरेको जुग्जालीले सुनाए ।
‘नियमित मर्मत सम्भारमा सरकारको ध्यान छ । यसका लागि मर्मत सम्भार कोष छुट्टै बन्छ,’ उनले भने, ‘भैरहेका सडकहरुलाई बाह्रै महिना चल्न सक्ने बनाउनु हाम्रो प्रमुख दायित्व हो ।’
मर्मत सम्भारका लागि २१ करोड ७५ लाख एकमुष्ट विनियोजन गरिएको छ ।