सरकार–पहिचानवादी वार्ता : थप छलफल गरी अघि बढ्ने सहमति
विराटनगर । कोशी नामाकरणको विरोधमा आन्दोलन गर्दै आएका पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता थप छलफल गर्ने गरी टुङ्गिएको छ । पहिचानको माग गर्दै आएको १ नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र सरकारबीच झण्डै ५ घण्टा वार्ता भएको थियो ।
वार्ता सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै सरकार पक्ष र पहिचान पक्षले वार्ता सौहाद्रपूर्ण रूपमा अघि बढेको बताएका छन् । उनीहरूले दुवै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको बताएका छन् । कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेर वार्ताको लागि आउन आग्रह गरेसँगै वार्ताको सुरुवात भएको हो ।
कोशी प्रदेश सरकारको वार्ता टोलीमा संयोजक तीलप्रसाद मेन्याङ्बो, सदस्यहरू भक्तिप्रसाद सिटौला र बुद्धिकुमार राजभण्डारी सहभागी थिए । पहिचानवादीहरूको तर्फबाट वार्ता समितिमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिथक र पदम जवेगु वार्तामा सहभागी थिए ।
विराटनगरको बिग होटेलमा बिहान ९ बजेदेखि सुरु भएको वार्ता झण्डै ५ घण्टा चलेको थियो । वार्तापछि प्रतिक्रिया दिँदै सरकारी वार्ता टोलीका संयोजक खानेपानी ऊर्जा तथा सिचाई मन्त्री तिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुनः वार्तामा बस्ने सहमति भएको बताए ।
आन्दोलनरत पक्षका वार्ता टोली सदस्य ग्याल्जे शेर्पाले सरकारसँग वार्ता प्रारम्भ भएको बताए । वार्ताको प्रारम्भ भएकोले अर्को वार्तामा बस्ने र समस्या हल गर्दै अघि बढ्ने सहमति भएको शेर्पाले बताए । गत फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि कोशी नामको विरोध भइरहेको छ । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।