फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न सर्वोच्चको आदेश
पोखरा। पोखरा फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
पोखरा महानगरपालिकाले फेवासहित महानगर भित्रका सबै तालको मापदण्ड घटाउने निर्णय गरेको थियो। ५५ औं कार्यपालिका बैठकबाट फेवाको मापदण्ड ६५ बाट ३० मिटर कायम गरिएको थियो।
यस्तै, रुपा र वेगनासको ५५ मिटर र बाँकी तालहरुको २० मिटर मापदण्ड कायम गरिएको थियो। यसअघि फेवा बाहेक सबै तालको मापदण्ड १ सय मिटर थियो।
फेवाको मापदण्ड घटाउने महानगरको निर्णय विरुद्ध सर्वोच्चमा रिट परेको थियो। मुद्दाको सुनुवाई गर्दै सोमबार न्यायधिस कुमार रेग्मी र हरि फुयाँलको संयुक्त इजलासले २०७५ बैशाख १६ कै आदेशलाई निरन्तरता दिएको हो।
अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले अघिल्लो वर्षको जेठ ११ गते सर्वोच्च अदालतमा महानगरको मापदण्ड घटाउने निर्णयविरुद्ध रिट दायर गरेका थिए।
यस्तै, तालको मापदण्ड भित्रका सबै संरचना भत्काउन पनि आदेश दिएको छ।