रामजी रामले समाजलाई भन्नु छ– ‘डाक्टरी काम गर्या हो के हाम्रा आमाहरूले ऊबेला’
रामजी राम दुई कक्षामा पढ्दाको कुरा हो ।
उनी पानी पिउनका लागि कलको लाइनमा बसेका थिए । आफ्नो पालो आएपछि कल चलाउन खोज्दा एक महिलाले उनलाई रोकिन् ।
‘किन त्यहाँ छोएको तल झर,’ रामतिर इङ्गित गर्दै भनिन् ।
उनलाई सुरुमा त केही नराम्रो गरेछु कि जस्तो भयो । एकाएक ठुलो स्वरको गाली आएपछि के गर्ने ? केही अचम्मित, जिज्ञासु अनि, चित्त दुःखाईको भावनासहित उनले महिलालाई प्रश्न गरे ।
‘किन झर्ने आन्टी ? के भयो ?’
बोल्ने क्षमता उनीसँग ऊबेलैदेखि थियो ।
‘तिमेरु तल्लो जातको भएर हामीसँग यसरी बोल्ने ?,’ ती महिला कड्किइन्, ‘तल्लो जातको मान्छेले हाम्रो कल छुन मिल्दैन ।’
त्यसदिन उनलाई पहिलो पटक कसैले छुवाछुत गरेको थियो । अहिले पनि त्यो पल उनी सम्झिरहन्छन् । एकदमै दुःख लागेको ।
‘यो धर्ती छुँदा पानी नछोइने तर कल छुँदा चाहिँ किन पानी छोइने ?,’ उनको दिमागमा यस्तो प्रश्न पनि आयाे । तर महिलाले दिएको जवाफले त्यसलाई दबायाे ।
त्यो बेला एउटा गलत जवाफले उनको सही प्रश्नलाई जित्यो । उ बेला उनको जातबारे त्यसरी प्रश्न गर्ने वातावरण थिएन ।
‘अहिले पनि कहाँ छ र ?’
मनमा खल्लोपन बोकेर उनी त्यो दिन घर पुगे ।
आमा खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको छेउमा बसेर उनले आफूसँग भर्खरै घटेको घटनाबारे सुनाए । अनि दिउँसो महिलालाई सोधेको त्यही प्रश्न गरे । आमाले पनि उनलाई चित्तबुझ्दो उत्तर दिनुभएन । यतिमात्र भन्नुभयो, ‘यस्तो हो बाबु, हामी सानो जातका हौँ । ठुलाबडा जातको घरमा जानु हुँदैन ।’
अनि थप्नुभो, ‘हामीलाई पनि सानोजात आएको कहाँ मन पर्छ र ?’
त्यसबेला जानेर होस् या नजानेर एकजातले अर्को जातलाई विभेद गर्नैपर्छ भन्ने छाप गाउँमा बसिसकेको थियो । विभेद भोग्ने जातहरूले पनि आफूभन्दा साना जातहरूलाई विभेद गर्ने गर्दथे । उनीहरूले पनि गर्थे । उनका घरमा विवाह र मृत्यु संस्कार हुँदा तल्लो जातको भनिने ‘डोम’ समुदायहरू आउने गर्दथे । ती उनको घरको छेउसम्म आउँथे तर भित्र पस्न सक्दैनथे ।
उनले दुईथरीको विभेद थाहा पाए । एउटा आफूले भोग्ने र अर्को आफूले गर्ने ।
त्यसदिन बुबाआमासँग एकछिन सवालजवाफ पनि भयो ।
‘यदि उनीहरूले हामीलाई हेपेको गलत हो भने हामीले हामीभन्दा सानो कहलिने जातलाई घरभित्र पस्न नदिनु गलत हो,’ उनले यस्तो भन्दा बुबाले सजिलै स्वीकार्नु भो । त्यसपछि कम्तीमा उनीहरूको घरमा त्यो नियमले बास गर्न छोड्यो ।
उनी भन्छन्, ‘त्यसपछि म मेरा अन्य दलित साथीलाई घर लिएर आउन थालेँ । सँगै बसेर पढ्ने अनि खानपिन पनि सँगै गर्न थालेँ । त्यसपछिका दिनहरूमा मेरा डोम साथीहरूसँग मेरो घरबाट हुने विभेद कम हुँदै गयो ।’
कक्षा ३ उत्तीर्ण भएपछि उनी ४ कक्षामा भर्ना भएका थिए । घरमा ट्युसन पढाउने चन्दु सरले प्लान इन्टरनेशनलका अमिरी सहनी सरसँग कुराकानी गरेर बाल क्लब बनाउनु पर्छ है भन्नुभयो । किन बाल क्लब बनाउने सर ? भनेर सबैले एकसासले सोध्दा भन्नुभयो, ‘खेल्नका लागि, कुद्नको लागि, आफ्नो मन लागेको कथा सुनाउन, कसैलाई सुन्न र मन लागेका कुरा बोल्नका लागि ।’
उनी बालक्लबमा सहभागी भइहाले । बालक्लबको नाम राखियो– ‘श्री उप सत्य वाचनालय बालक्लब’ । त्यसमा २८ जना सदस्य थिए । रामजी त्यसका सचिव भए । उनको काम साथीहरू भेला पार्ने थियो । छलफलका प्रस्ताव लेख्ने र निर्णय लेख्ने गर्थे । जयकरण राम, अनिता कुमारी पासवान, नगिना पासवान अनि यादव साथीहरू राकेश, भिखारी राय ।
क्लबमा सहभागी भएपछि उनले जातीय छुवाछुतबारे अझ विस्तृत रूपमा थाहा पाए । उनीहरू आफूले भोगिरहेका समस्याबारे त्यहाँ कुरा गर्थे । छुवाछुतबारे मात्र नभएर यौन दुर्व्यवहार, शारीरिक तथा मानसिक विकासका साथै बालविवाह जस्ता विषयमा छलफल पनि हुने गर्दथ्यो ।
तर जुन साथीसँगै बसेर उनीहरू वालविवाह कसरी कम गर्ने भनेर कुरा गर्थे, त्यही साथीमध्येकी एकको सानै उमेरमा विवाह भयो । उनी त्यति बेला ११ वर्षकी मात्र थिइन् । अनि अझै पीडादायी कुरा त उनको बालविवाह हुँदै गर्दा रामलाई नै ‘मार्बा’ बनाउन (जग्या सजाउन) र घर रंग्याउन बोलाइएको थियो ।
बुबाले उनलाई एक कक्षामा पढ्न थाल्दादेखि नै लेख्ने डटपेन दिनुहुन्थ्यो । केही चित्र कोर्न नजान्दा उनी त्यसैले गोलो–गोलो बनाउँदै वा जुँगा दाह्री बनाउँदै खेल्थे । खेल्दाखेल्दै राम्रो बनाउन थालिहाले । स्कुलमा पेन्टिङ कम्पिटिसन हुन थाल्यो । उनले कम्पिटिसन जित्न थाले । जितेर अझ धेरै कापी, कलम, पेन इत्यादि पुरस्कार पाउन थाले । अझ धेरै पेन्टिङहरू बनाउन थाले । एकदिन बुबाले गरुडामा दूध बेच्न जाँदा धेरै जनावर, चरा र फुलको चित्र भएको कापी ल्याइदिनुभयो । उनले फूलको चित्र हेर्दै त्यसलाई पनि जस्ताको तस्तै बनाए ।
अनि त के चाहियो । चित्र बनाउन जान्नेमा उनी दाखिला भए । अनि त कहिले कसको घरमा बनाउने निम्तो कहिले कसको घरमा । कहिले बयलगाडामा ।
उनलाई अरूको घरमा रङ्गाउन मजा लाग्थ्यो । तर आफ्नै साथीको बालविवाहमा रङ्गाउनु पर्दा भने नमिठो लाग्यो । उनलाई त्यो बेला आफूले बरु चित्र बनाउने काम नजानेको नै भए हुन्थ्यो भइरह्यो ।
‘कसैको पनि बालविवाह भए मलाई पनि भन्नु र पुलिसलाई पनि भन्नु,’ उनलाई बालक्लबको सरले भन्नुभएको थियो । तर आफ्नै साथीको बिहे भएको कुरा उनले कसैलाई भनेनन् ।
आफूले अब त्यसो नगरेकोमा उनलाई पछिसम्म ग्लानि भइरह्यो ।
+++++
बुबा, आमा, अनि दिदीबिहानी ६ बजेदेखि नै धानको बिउ काड्न जानुहुन्थ्यो । दिदी, आमाहरू धान रोप्न पनि जानुहुन्थ्यो । अनि एकैचोटि १२ बजे आउनुहुन्थ्यो । घरमा खाना बनाउने मान्छे कोही हुँदैनथ्यो । उनीहरू खेल्दै खेल्दै आमाहरूले खाना खाने बेलामा पुग्थे ।
गिरहत(खेतधनी)ले खेतको आधि काम सकेपछि खाना खाने बेलामा काम गर्नेहरूलाई पानी पियाउने चलन हुन्छ । अझ तल जातकोले त पानी पनि घरबाट नै लिएर जानुपर्थ्यो । पानी खाने बेलामा केही खाजा र पानी दिने चलन छ आज पनि छ । त्यसलाई “पनपियाइ” भनिन्छ ।
उनीहरू बुबाआमाको पनपियाइमा परेको दुई वटा रोटी, चटनीको भाग पनि खाइदिन्थे । कतिपय छोराछोरीहरू खेतमा नै आमाको दूध खान जान्थे । बहिनी धेरै रुँदा उनी पनि बहिनीलाई बोकेर नै खेतमा दूध खुवाउन लान्थे ।
अहिले सम्झिँदा उनलाई त्यो बेला आमाले खान मन लागिलागि पनि उनीहरूलाई भनेर भाग काटेर दिएको खानेकुराको माया लाग्छ ।
बिउ उखेलिसकेपछि बिउ राख्ने गिरहतको घरमा भोज हुन्थ्यो । बुबाहरू त्यहाँ जानुहुन्थ्यो । तर आमाहरू जान पाउनुहुन्नथ्यो । आमाले घरको काम र खेतमा बाख्रा चराउने जस्तो खेतका धेरै कामहरू गर्नुहुन्थ्यो । घर सरसफाइ र मिलाउने सबै काम गर्नुहुन्थ्यो । बुबाले खेतको र बजारको काम हेर्नुहुन्थ्यो ।
त्यो देख्दा पनि उनलाई बेलाबेला ‘आमाहरू चाहिँ गिरहतको घरमा किन जान नपाउनुभएको’ लागिरहन्थ्यो ।
महाजनको घरमा काम गरेबापत पाइने बन ( ज्याला, धान) लिन काम गर्नेहरू जानुपर्थ्यो । ६ घण्टा काम गरेका अढाई किलो धान पाइन्थ्यो । उनी कोही न कोहीसँग त्यहाँ पुगिरहेका हुन्थे । ४ ओटा ५ ओटा बन भएपछि टाउकोमा बोकेर ल्याउँथे ।
उनको गाउँको महाजनको घरमा उनको साथी राजु गिरी अढाइ किलो धान लिन गएका थिए । धान लिन जाँदा उसले झुक्किएर आँगनमा थुकेछ ।
‘तैँले मेरो घरको आँगनमा थुक्ने ?’ महाजन रिसाए ।
उ झुक्किएको थियो । उसको अनुहार लत्रियो ।
‘यो थुक तैँले चाटेर जानुपर्छ ।’
साथीको अनुहार पुरै खुम्चियो । लाग्छ सुकिसकेको हाँगो हो उ ।
उसले थुक चाट्यो । अनि आँखा झुकाएर उठ्यो । केही नबोली फर्कियो । सँगै फर्किएका उनी पनि केही नबोकी फर्किए ।
फर्किँदाको सन्नाटा रामलाई नमज्जा लाग्यो । साथीले केही बोल्न नसकेको बेला उनी पनि केही बोल्न सकेनन् ।
त्यसबिचमा अर्को घटना पनि भयो ।
उनको पोताको नाम राजु थियो । ऊ आमाको नजिकै थियो ।
आमाले बोलाइन्, ‘राजु यहाँ आऊ त ।’
उनले त्यसरी बोलाएको महाजनले सुने ।
‘तिमी चमारदुसाधले पनि आफ्नो छोराको नाम राजु राख्ने भयौ ?,’ आमाले छोरालाई बोलाएको नाममा पनि महाजनलाई आपत्ति भयो ।
उनलाई त्यो बेला आफ्नो नाम राजु नभएकोमा ढुक्क लाग्यो ।
यसरी अनेक सामाजिक ठक्करहरूको बिचमा उनी हुर्किँदै गए । त्यो बिचमा उनीसँग एउटा अनुहार जहिल्यै हुन्थ्यो । त्यो अनुहारले उनलाई पढ्नलाई प्रेरित गरिरहन्थ्यो । त्यो अनुहार बुबाको थियो ।
+++++
उनको नाम ‘राम’ भनेर बुबाले नै राखिदिनुभएको रहेछ । ‘नाम पुकार्दा पनि भगवानको नाम पुकारम भनेर नाम राख्देको अरे ।’ आमाबुबाले उनको जन्मपछि माछामासु खान छाड्नु भयो ।
‘यो छोरालाई चाहिँ पढाउँछु। भगवान् जसरी हामीलाई ख्याल गरोस् न यसले ।’
बुबा पनि गाउँको महाजनहरूको जन हुनुहुन्थ्यो । उनीहरूको काम गरिदिनुहुन्थ्यो । त्यही बेला महाजनका छोरा छोरीले पढेको देख्नुभएछ। अब मेरा छोराछोरीलाई पनि पढाउँछु भन्ने सपना त्यहीबेला आएछ ।
‘पढ्ने सपना मैले थोडि न देखेको हो, मेरो बुबाले देखेको हो,’ रामजी सम्झन्छन्।
जे होस् बुबाको सपना ढिलोचाँडो उनको भयो । राम्रो सपना जसले देखे पनि त्यसले अरूलाई फाइदा नै पुर्याउँछ ।
बुबाले छोरो एकदिन पनि स्कुल नगइ घरमा बसेको हेर्न चाहनुहुन्न थियो । जसरी भएपनि स्कुल जानै पर्यो । खाना खाएपछि दायाँबायाँ नगरी सिधै स्कुल । त्योबाहेक उहाँ उनीसँगै बसेर पढ्नु पनि हुन्थ्यो । सुरुसुरुमा उनीहरूभन्दा जान्ने हुनुहुन्थ्यो । बिस्तारै उनले बुबालाई जित्न थाले । उनको पढाइलाई पढाउन सक्ने अर्को मान्छे चाहिने भयो । गाउँमा एसएलसी फेल भएको सर आउनुभएको थियो । बुबाले त्यही सरलाई बोलाएर उनलाई पढाउने जिम्मा दिनुभयो । सबै विद्यार्थीलाई यहीँ पढाउनु बरु त्यसको पैसा हामी दिन्छौँ भनेर थप केही विद्यार्थी पनि थपिदिनुभयो ।
बुबा र काकाहरू सिनु फाल्न जानुहुन्थ्यो । उनलाई बुबाले कहिल्यै पनि काममा जान दिनुभएन । उनी काकाहरूसँग भने गए ।
यसरी नै उनी १० कक्षा पास भए । के पढ्ने र कहाँ पढ्ने भन्ने कुरा हुन थाल्यो ।
‘साथीहरू सबै बाहिर गइरहेका छन् । कोही जनकपुर गइरहेका छन् । कोही पोखरा र काठमाडौँ । म कहाँ जाम ?,’ खेतमा काम गरिरहेका बुबालाई उनले सोधे ।
बुबाले कोदालो रोक्नुभयो । नजिकै बस्न बोलाउनुभयो । अनि बाँसको फेदमा बस्दै भन्नुभयो, ‘हेर हाम्रो एक वर्षको आम्दानी भनेको २० देखि २५ हजार हुन्छ । त्यसमा घर परिवार पाल्नुपर्छ । सबैलाई खुवाउनु पर्याो। अनि तिम्रो उता गयो भने कति पैसा लाग्छ। त्यसको पैसा म महिनाको पनि तिर्न सक्दिन । पढाई त फरक कुरा हो ।’
उनलाई नमिठो त लागेको थियो तर केही भनेनन् । बुबा नै बोलिरहनुभयो ।
‘अर्को कुरा भन मलाई त्यहाँका पढाई र यहाँको पढाई फरक छ ? किताब त्यहाँ र यहाँको फरक छ ? साइन्स त्यहाँको र यहाँ फरक छ ?’
‘छैन । किताब त उही हो ?’
‘अनि तिमी जहाँ गए पनि पढ्ने तिमीले हो । तिमी यतै बसेर मेहनेत गर ।’
उनी घरबाट नजिकै पढे । त्यहाँ नै मेहनेत गरे ।
त्यही मेहनेत बढ्दै बढ्दै गएर उनलाई डाक्टर पढ्ने बनायो । डाक्टर पढ्ने क्रममा पनि उनको बाटो सजिलो भएन । फिस नतिरेको भनेर आफ्नै क्याम्पसले उनलाई जाँचमा बस्न दिएन । तर मिडियामा आफ्नो कथा आएपछि सबैको साथ पाएर अन्तिममा उनले जितिछाडे । भर्खरै मेडिकल काउन्सिलको परीक्षा सकेर उनी डाक्टर बनेका छन् ।
+++++
उनको एकजना काकी हुनुहुन्छ उहाँको जहिल्यै पनि टाउको दुख्थ्यो । तर औषधि किन्नलाई एक दुई रुपैयाँ पनि साथमा हुँदैनथ्यो। अहिले सोच्छन्, ‘त्यति थोरै पैसा पनि नभएर उपचार गर्न नपाएको थियो ?’
उनलाई यो कुरा साँच्चै भइरहेको हो र जस्तो लाग्छ ।
गाउँमा भएको स्वास्थ्य चौकीमा सबै कुरा नि:शुल्क हुनुपर्ने थियो । तर त्यहाँसम्म गए पनि औषधि दिन्छन् कि दिँदैनन् भन्ने डर उनीहरूलाई सधैँ भइरहन्थ्यो । बेलाबेला नदिने गरेकाले पनि त्यस्तो लागेको होला । बरु गाउँको स्वयंसेविकाहरूले औषधि दिइरहेका हुन्थे ।
गाउँमा स्वयंसेविकाहरूले उनलाई आफूहरूले डेलिभरी गराउने तालिम लिइरहेको भनेर सुनाउँथे । उनी त्यतिबेला आफ्ना आमाहरूलाई सम्झिन्थे ।
‘वहाँले नगरेको काम त हाम्रा आमाहरूले गर्नु हुन्थ्यो । गाउँभरिको डेलिभरी हाम्रा आमाहरूले गराउनुहुन्थ्यो ।’
अहिले पनि बच्चा जन्माउने काम चुनौतीरहित छैन । दिनानुदिन धेरै समस्याहरू बढिरहेका छन् । नियमित केयरमा हुँदा पनि नर्मल डेलिभरी गर्न गाह्रो छ । उनका आमाहरूले त उ बेलादेखि नै नर्मल डेलिभरी गराउनुहुन्थ्यो । तर त्यसको क्रेडिट भने धेरै पाउनुभएन ।
‘हाम्रा समुदायलाई चैँ किन हेप्या होला के मानिसहरूले,’ अचम्म मान्दै उनी भन्छन्, ‘डाक्टरी काम गर्या हो के हाम्रा आमाहरूले ।’
उनको बुबाले भनेअनुसार आमाहरूले मान्छेको मात्र हैन बाख्राको पनि डेलिभरी गरिदिनुहुन्थ्यो । उनीहरूको गाउँ नजिकै सुन्दरपुर भन्ने गाउँ थियो । हजुरआमाहरू डेलिभरी गराउन त्यहाँसम्म पनि पुग्नुभएको थियो । उहाँलाई निक्कै परपरका मान्छेहरूले पनि लिन आउँथे ।
उनीहरू चमार हुन् । चमारको सम्बन्ध छालासँग छ । उनका पुर्खाले चमार(छाला) मा दुख्यो भने मसाज गरिदिने गर्थे । मसाज गर्यो भने निको हुन्थ्यो । खुट्टा बाउँडिएको छ, नसा च्यापिएको छ, मडारिएको छ भने त्यो सेवाले काम गर्थ्यो । अहिलेको फिजियो थेरापी जस्तै ।
त्यस्तै डेलिभरी भइसकेपछि पनि काम सजिलो थिएन । बच्चालाई नै स्याहार्नु पर्ने, आमालाई नुहाइदिनुपर्ने, आमालाई र बच्चाको पोषणमा ध्यान दिनुपर्ने । क्लाससेन्टर निकाल्ने, रगतहरू पुछेर सबै सफा गरिदिने । उहाँहरू पनि नुहाएर त्यो काम गर्नुहुन्थ्यो । काम गरेबापत सारी इनाममा पाउनुहुन्थ्यो । कहिले काहिँ एक ढक्कनी चामल दिनुहुन्थ्यो । अनि एक छाक आलु ।
त्यस कामको लागि तल्लो वा माथिल्लो जात भनेर कतैबाट कुरा आउँदैनथ्यो । कसैले भनिहाले भने पनि हजुरआमाले प्रतिवाद गरिहाल्नुहुन्थ्यो । हजुरआमाको त्यही बानी आफूलाई आएको हो कि जस्तो उनलाई लाग्छ ।
‘कसले छुवायो भन्यो रे ? अनि त्यो तिमीहरू जन्मिने बेला तिम्रा आमाहरूलाई मैले छोएको चाहिँ ? त्यतिबेला चाहिँ तिमीहरूलाई लाज लागेन ?’
‘त्यो बेलामा चाहिँ तिम्रो घरमा कुल देवता छेउमा म पुग्दा भयो । अहिले बन माग्दा आउँदा चैँ घर छुइन्छ । लाज लाग्दैन तिमीलाई ?’
हजुरआमाले यस्तो भन्नुहुन्थ्यो ।
+++++
यी र यस्ता सामाजिक तहहरूमा हेलिँदै हेलिँदै उनी डाक्टर बनेका छन् । डाक्टर भइसक्दा उनको काम सकिएको छैन । बरु सुरु भएको छ । उनले अहिलेसम्म देखेका यी सबै खाले कथा र घटनाहरूलाई बिर्सिँदै सामाजिक परिवर्तनका लागि लाग्नु छ । अनि ‘आफूले विभेद नसहने, आफूले विभेद नगर्ने’ समाजको हिस्सा बन्न योगदान गर्नु छ ।
अनि खुलेर भन्नु छ– ‘म डाक्टर हजुरआमाको नाति हुँ ।’
Twitter: SurajWritesNP