अहिले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हल आवश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

२०८० असार ५ गते

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए । उनले गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढङ्गले अघि नबढाउन पनि सरकारलाई सचेत गराए । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाई थियो ।
उनले भने, ‘हामीले बजेटमा उल्लेख गरेका छौँ–अति विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत नागरिकहरूलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौँ । कमसेकम हाम्रो मन्त्रीज्यूको कार्यकालमा देखिने हिसाबले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु । अहिले हामीलाई ठूल्ठूला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ । यो मन्त्रालयले हाम्रो सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले हाम्रो मुलुक धेरै सम्पन्न र समृद्ध मुलुक हो । र, ऐतिहासिक हरित र सांस्कृतिक एउटा भएपनि सहरको प्रारम्भ गर्न अहिले जरुरी छ । अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यक्ता छैन । र, अहिलेको ध्यान दलित, विपन्न र सीमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्ने जस्तो झारा टार्ने आवास होइन । देशले अनुभूत गर्ने किसिमको आवास बनाउनेमा सहरी मन्त्रीको ध्यान जरुरी छ । त्यतातर्फ ध्यान जाओस् भन्ने म चाहन्छु ।’
सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

२०८० असार ५ गते
प्रतिक्रिया
सम्बन्धित