ई-सेवाको रकम अब एटिएमबाट पनि झिक्न सकिने
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई-सेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् ।
ई-सेवाले हाल एभरेस्ट बैङ्कसँगको सहकार्यमा ई सेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरुवात गरेको हो । ई सेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । ई सेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने एप मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।
यसअघि ई सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैङ्कमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटिएम मार्फत पनि रकम झिक्न सकिने भएपछि ई सेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरुवात गरिएको हो ।
ई सेवामा रहेको रकम एटिएम मार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ई सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘ई सेवा प्रयोगकर्तालाई ई सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेस्ट बैङ्कसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरुवात गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ ई सेवामा रहेको रकम क्यासमा नै चाहिएपनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरुवात गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिबद्ध छौँ ।’
यस्तै कार्यक्रममा एभरेस्ट बैङ्कका डेपुटी सिइओ विजय कुमार शर्माले भने ‘ एभरेस्ट बैङ्क जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा ई सेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । ई सेवाका प्रयोगकर्ताले एभरेस्ट बैङ्कका देशभर रहेका कुनैपनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका ई सेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ’।
हाल ई सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट (ई सेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा डेढ करोड भन्दा बढी जनसङ्ख्याले सेवा लिइरहेका छन् । ई सेवाबाट इन्स्योेरेन्स्को प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई जहाजको टिकट, बस टिकट, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानी लगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।