‘बर्फी’ फिल्म खेलेका भोलाराजलाई यतिबेला लाग्दैछ- ‘म फेरि जिरोबाट सुरु भएँ कि ?’

‘आज नै आउनु न त’

निर्देशक सोमनाथ खनालसँग फोनमा कुरा भयो । म मण्डला नाटक घर पुगे ।

मण्डला पुग्नासाथ थिएटर पुगेजस्तै हुन्छ । भुईँतल्लामा काठका टुक्राहरू, रङ्गका बट्टाहरू । कोही केही गरिरहेका कोही केही । अनि बेला-बेला समय कटाउन टेनिस टेबल बोर्ड पनि ।

त्यो सबै हेर्दै भर्‍याङ उक्लिएपछि पुगिन्छ आर्टिस्ट क्याफे । त्यसको वरपर अनेकौँ नाटकहरूको फोटोहरू राखिएको ।

म ब्ल्याक बक्सभित्र पस्दै गर्दा सबैतिर अँध्यारो थियो । सोमनाथ खनाल ठ्याक्क ढोका नजिकै देखा परे । ‘बस्दै गर्नु है, रिहर्सल पछिको ब्रेकमा कुरा गरौला ।’ मलाई उनले निर्देशन गर्न लागेको ‘हिउँभन्दा चिसो’ नाटकको बारेमा कुरा गर्नु थियो । अन्तर्वार्ता भन्दा पहिला रिहर्सल हेर्ने भएँ ।

बिस्तारै स्टेजमा बत्ती पर्‍यो । अचानक नयाँ दुनियाँमा जन्म लिएको हो कि जस्तो भयो । सेटको बनावट निकै पृथक् थियो । दश दिनमा बनाइएको भनेर त पत्याउनै गाह्रो । मञ्चको बिचमा एउटा घर ठडिएको थियो । कर्णाली भेगबाट नै कुनै घर टपक्क टिपेर ल्याइएको हो की जस्तो देखिन्थ्यो । साना-साना कोठा, आँगन र भुईँतल्ला ।

नाटकको रिहर्सल सुरु भयो । मञ्चमा तीन जना कलाकार देखिन्थे । सोमनाथ तल पट्टिको दर्शकको सिटमा बसेर निर्देशन गर्दै थिए । स्टेजमा चर्चित कलाकार भोलाराज सापकोटा डाक्टरको भूमिकामा देखिन्थे । उनी तीनै कलाकार हुन् जो सन् २०१२ मा आएको बर्फी फिल्ममा रणवीर कपुरको साथी भएर खेलेका थिए ।

निर्देशक र कलाकार हातेमालो गर्दै नाटकलाई अघि बढाइराखेका थिए । सोमनाथ निर्देशकको भूमिका खेल्नमा मग्न; कहिले कुन बत्तीसँग खेल्ने भने कहिले कुन गीत बजाउने; नाटक बिस्तारै यी साना-साना पाटाहरूमा काम गर्दै निर्माण हुँदै थियो ।

पहिले नाटक हेरेको भए पनि पर्दा पछाडि के कस्तो हुन्छ भनेर बल्ल बुझ्न पाएँ । एकछिनमा अन्तिम दृश्यको रिहर्सल सकियो । जिउभरि काँडा पलाए ।

‘ल, अब एक घण्टा ब्रेक है त’ भन्दै सोमनाथले भने । त्यो खाली समयमा कुरा गर्ने पूर्वनिर्धारित योजनाअनुसार निर्देशक सोमनाथ र अभिनेता भोलाराजसँग मेरो कुराकानी हुन थाल्यो ।

भोलाराज सापकोटालाई चुनौतीपूर्ण भूमिकाहरू खेल्न निकै रुचि लाग्छ । कुनै रोल गर्दा राति निन्द्रा नै नलागोस् त्यस्तो खाले । ‘१०-१५ दिन अलि तनाव होस्, अनि बल्ल पो रमाइलो हुन्छ त, तनाव नलिएर नि भएन नि ।’

उनलाई सानैदेखि अभिनयमा रुची थियो । सात कक्षामा पढ्दा नै ‘मूर्ख बिरामी; नामक नाटक आफै लेखेर निर्देशन गरिसकेपछि यस क्षेत्रमा उनको चाख बढ्दै गयो । रहरको खेलमा रमाउँदै गर्दा यो कुन बेला पेसा बन्न पुग्यो, पत्तै भएन । अभिनयबाट पनि जीविकोपार्जन हुन्छ भन्ने थाहा पाएपछि अरू क्षेत्रमा काम गर्नु उनको विकल्पमा नै थिएन ।

उनी हेटौडाबाट काठमाडौँ आए । यहाँ निक्कै नाटक खेलिभ्याए ।

नाटकमा अभिनय गर्दागर्दै हिन्दी सिनेमा “बर्फी” मा खेल्ने मौका आयो । तर त्यो बाटो पनि सजिलो कहाँ थियो र, अडिसनको क्रममा उनी पहिला कलकत्ता पुगे भने दोस्रो चरणमा मुम्बई । टन्नै साथीहरूबिच आफू छानिएकोमा सापकोटा खुसी देखिन्थे । त्यस फिल्मपछिको यात्राको बारेमा कुरा गर्दा उहाँ भन्छन्, ‘एक्टिङ मेरो लागि जिन्दगी हो, म खुसीमा मात्तिने र दुखमा आत्तिने मान्छेमा पर्दिन । कुनै रोलले बढी चिनाए होलान्, तर सबै मेरो लागि उति नै महत्त्वपूर्ण छन्।’

बर्फीमा खेलेपछि उनी नेपालमै फर्किए । यहाँको माहौलमै रमाउन थाले । नेपालमै फर्केर पनि उनको अभिनयको सफर जारी थियो । उनले निरन्तर नाटकहरू निर्देशन गरे । केही  नाटकहरूमा अभिनय गरे । तर त्यो बिचमा धेरै काम स्कुलतिर गरे । थिएटरमा अभिनय नै गर्नेगरी चाहिँ देखिएनन् ।

हिउँभन्दा चिसो नाटकमा गरेको अभिनय उनको नाटक घरमा छ वर्षपछिको डेब्यु हो । यतिपछि नाटकमा अभिनय गर्दै आफैसँग वार्तालाप गरेजस्तो उनलाई नभइरहेको छ । कहिलेकाहीँ  आफैँसँग सोध्छन् ‘म फेरी जिरो बाट सुरु भए कि ?’

‘हिउँभन्दा चिसो नाटकको एउटा दृश्यमा अभिनय गर्दै भोलाराज । साथमा ‘प्रकाश’ फिल्म खेलिसकेकी कलाकार रेणु योगी ।’

पहिला पहिला उनलाई सिनेमा खेल्न निकै गाह्रो र नाटक सजिलो लाग्दो रहेछ। अहिले आएर त्यो धारणा बदलिएको छ । फिल्म खेल्दा काटेर फेरी अर्को सट लिन मिल्छ, नाटकमा त्यस्तो हुँदैन । स्टेजमा पसिसकेपछि एक मिनेट पनि निस्किनै नपाउने भएर पनि उनलाई त्यस्तो लागेको रे । 

‘निर्देशन गर्न र अभिनेता हुनमा कुन रमाइलो लाग्छ?’

’देखिने निर्देशक हैन, कलाकार  हो । कलाकारको काम भनेकै निर्देशकले प्रस्तुत गर्न खोजेको कुरालाई चरित्र मार्फत प्रस्तुत गर्नु हो । त्यसैले मलाई अभिनेता हुन नै रमाइलो लाग्छ ।’

आफ्नो रोलको तैयारी गर्दा उनी आफू त्यो पात्र हु भनेर विश्वास गर्न आफूलाई प्रोत्साहन गर्छन् । तर त्यसलाई सधैँ बोकिराख्दैनन् । ‘यो सोच नाटक चलुन्जेल मात्र राख्नु; सधैँ त्यही सोच राख्यो भने त्यसले राम्रो भन्दा बढी हानि गर्ने गर्छ।’ 

‘विभिन्न पात्रहरू एकैखाले भूमिका खेल्दा खेल्दा टाइपकास्ट हुन्छ कि भनेर सोच्नेहरू हुन्छन् नि । के भन्नुहुन्छ ?’

उनी स्वाभाविक लबजमा भन्छन् ‘सेफले म समोसा बनाउँछु, खाना बनाउँदिन भन्न पाउँदैन नि, एक्टर नि त्यस्तै हुन पर्छ। त्यसो भन्न थाल्यो भने एक्टर टाइपकास्ट हुने गर्छ।’

‘अभिनेता बन्न वा अथवा निर्देशन नै गर्न खोज्ने अहिले को पीढीलाई के भन्न चाहनुहुन्छ ?’

‘मेहनत गर्नुपर्छ । हामी सपना ठुलो देख्छौ, ठुला ठुला स्टारहरू ठुलो ठाउँमा पुगेको देख्छौ, तर तिनीहरू रातारात स्टार कसरी बन्न पुगे भन्दा यहाँ मेहनत र धैर्यता को कुरा छ नि त । र अर्को कुरा काममा अनुशासन हुन पर्छ, त्यो परिधिमा आफू समावेश हुन सक्नुपर्छ।’

यति कुरा भएसँगै उनी खाजा खान गए । म नाटक ‘हिउँभन्दा चिसोका’ निर्देशक सोमनाथ खनाल सँग कुरा गर्न थालेँ । 

खनालले पहिलेदेखि निर्देशक बन्छु भनेर सोचेका थिएनन् । काठमाडौँमा पत्रकारिता पढ्न आएका उनी बिस्तारै सडक नाटक र बानेश्वरमा हुने गुरुकुलका हुने नाटक हेर्न जान्थे । नाटकतर्फ बिस्तारै कौतुहलता बढ्दै जाँदा उहाँ एउटै नाटक दोहोराएर हेर्न पनि गए । त्यस समयमा उनले हेरेका नाटक मध्ये सञ्जीव उप्रेतीको उपन्यास ‘घनचक्कर’ मा आधारित नाटक त झन् ८-१० पटक गुरुकुल मै हेर्न पुगेको उनी बताउँछन् ।

आफ्नो चाख बढ्दै गएपछि, उहाँ बिस्तारै म पनि कसरी नाटकमा लाग्न सक्छु होला सोच्दै पर्दा पछाडि सहयोगीको रूपमा हाजिर भए । बिस्तारै कलेजमा पनि कसले निर्देशन गर्ने भनेर सोध्दा उनकै हात बढ्न थाल्यो । 

‘हामी पहिला खुसीको लागि काम गर्थ्यौँ, अनि बिस्तारै त्यसमै रस भरिन थाल्यो । बिस्तारै अब यसलाई स्टेबल कसरी गर्ने त भन्ने सोच तर्फ पुग्यौँ । टिम बन्यो । २०१५ सालदेखि यसैमा केही गर्नुपर्छ भनेर हामी लाग्यौँ । यसरी मण्डला थिएटर बन्यो ।’ उनले थपे ।

निर्देशक सोमनाथ खनाल

‘हिउँभन्दा चिसो’को योजना उनले लकडाउनको बेलामा पढेको एउटा हिन्दी नाटकबाट बन्न थाल्यो । त्यो नाटक यति रोमाञ्चक लग्यो कि अब यो नाटक म नेपालमा लेराएरै छाड्छु भन्ने ऊर्जा उनमा पलायो । त्यस बेला देखि धैर्य जमाएर राखेर बसेका उनी नाटक मञ्चन हुने दिन आउन लाग्दै गर्दा निकै हर्षित र केही सशङ्कित देखिन्छन् । 

सस्पेन्स साइकोलोगिचल थ्रिलर नाटक नेपालमा कम नै मञ्चन हुने गर्दछ । केही नयाँ प्रयास गर्न लागिरहेकोमा उनमा छुटै कौतुहलता थियो । आफ्नो सेट र सङ्गीत द्वारा कर्णाली प्रदेश देखाउने उनको चाहना साँच्चै पुरा भएजस्तो लाग्यो। नाटकमा खस भाषाको प्रयोग लगायत पहिरन देखि सङ्गीतमा समेत धेरै मेहनत गरिएको छ । 

३ हप्तामा तैयार भएको यो नाटक बनाउन लागेको मेहनत झल्किन्छ । नाटकको लागि सङ्गीत बजाउने छुट्टै टिम छ । सरल पराजुली र  प्रनिश मगर, जो आफै सुदूर पश्चिमका रहेछन्, उनीहरूले लोकबाजा का धुन बटुलेका छन् । नायिका रेणु नाथ योगी र गोविन्द सुनारले भोलाराजलाई अभिनयमा साथ दिएका छन् ।   प्रकाश निर्देशन गरेका इंगि होपो कोनिच सुनुवारले सोमनाथलाई निर्देशनमा पनि सघाएका छन् ।  

सबै कुराको निर्णयमा पुरा टिम नै सहभागी भएको सोमनाथले बताए । भने  ‘सबै कुरा बारे सबै सँग सल्लाह लिने गरेको छु ।’

‘किन कर्णालीको सेटिङ नै बनाउनुभएको ?’

‘म कर्णाली पुग्दा त्यहाँको अवस्थालाई नजिकैबाट देख्न पाएको थिएँ । यो नाटकले मागेको सेटिङ कर्णाली जस्तै दुर्गम भुगोल भएकाले पनि त्यसलाई छानेको हुँ ।’ उनले जवाफ दिए ।

भित्र निर्देशन गर्दा उनी आफ्नो काममा निकै मज्जाले भिजेका छन् । नाटक घर भित्र अलि कडा मिजासका देखे पनि बाहिर बोल्न आउँदा खनाल नरम स्वभावका छन् । नाटकको विषयमा बोल्दा उनको आँखामा बेग्लै चमक देखिन्छ  मानौँ एउटी आमा आफ्नो बच्चाको बारेमा खुसी हुँदै कुरा गर्दैछिन् । त्यही भावना च्याप्प समातेर उनको भित्र कैद गरिदिएको जस्तो ।  

‘आजको रिहर्सल कति बजेसम्म चल्छ त सर ?’ म सोध्छु ।

‘खै, आज त बज्छ होला ८ -९’ उनी जवाफ दिन्छन् ।

नाटक स्टेजमा जाने दिन आइसकेको छ । यही शुक्रवारदेखि स्टेजमा उनले गरिरहेको हस्तक्षेप घट्ने छ । अनि भोलाराजले भनेको जस्तै नाटक कलाकारको जिम्मामा आइपुग्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *