ओशोको ध्यान २० वर्षअघि नै गरेको भए मसँग मेडिकल कलेज हुँदैनथ्यो : डा. सुनिल शर्मा (अन्तर्वार्ता)

डा. सुनिल शर्मा, मेडिकल तथा राजनैतिक जगतमा नौलो नाम होइन । नोबेल मेडिकल कलेज र अनि काठमाडौँ मेडिकल कलेजका अध्यक्ष रहेका उनी नेपाली काङ्ग्रेसबाट मोरङ–३ का प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हुन् । तर उनको यो परिचयमा पछिल्लो समय केही नयाँ उपाधि पनि जोडिएको छ । उनी भर्खरै १२ दिनसम्म तपोवनमा बसेर फर्किएका छन् । नयाँ नामस्वरुप स्वामी विवेकानन्द बनेर आएका छन् । सँगै उनले ओशो तपोवनलाई ५० लाख दिएको कुरा पनि चर्चामा छ । उनको यो नयाँ आध्यात्मिक यात्रा कसरी सुरु भयो ? उनी कसरी ओशोसम्म पुगे ? त्यहाँ पुग्दा के भेटे ? मकालुखबरसँग उनले यसबारे कुरा गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको संवादः

 तपाईं अध्यात्म वा ओशोसम्म कसरी पुग्नुभयो ? ओशो छन् भन्ने जानकारी पहिला नै थियो ?

सन् २००० सालतिरको कुरा हो । म एमबिबिएस अध्ययनको लागि चीनमा बसोबास गर्दै थिएँ । त्यहाँ मेरो रुममेट सन्तोष झा हुनुहुन्थ्यो । अहिले युरो सर्जन रहनुभएका उहाँ त्यस बेलै पुना गई ओशो सन्न्यासी भइसक्नु भएको रहेछ । उहाँले क्यासेटमा ल्याउनुभएको प्रवचन म दिनैजसो सुन्ने गर्थे । त्यो सुन्दा मलाई पनि खुब मनपर्थ्यो । मलाई पनि पुना जाऊँ जाऊँ भएको थियो । तर समय जुरेन । पछि नेपालमा विपश्यना गरेँ । यसैक्रममा पोहोर अर्हत स्वामीसँग मेरो भेट भयो । वहाँसँग चिनजान भएपछि दुई तीनपल्ट जान खोजेको थिएँ । मिलिरहेको थिएन । यसपल्ट भने पहिला तीन दिन श्रीमतीसँगै गएर र पछि नौ दिन एक्लै गरी १२ दिनको ध्यान सम्पन्न गरेँ । 

चीनमा हुँदा सुनेको अडियोको कुनै लाइन याद छ ? त्यस्तो लाइन जसले तपाईंलाई प्रभावित पारेको थियो ?

ओशोले ‘हामी हरेक मानव बुद्धकै एक रूप हौँ’ भन्नु भएको छ । दियो मा बाती, तेल र स्वयं दियो पनि हुने गर्छ । र जब त्यो बत्ती निभ्न खोज्छ हामी त्यो बातीलाई थोरै माथि सारिदिने गर्छौँ जसले निभेको बत्तीलाई सास दिन्छ । त्यस्तै ओशोले भनेका छन्, ‘तिमीभित्र तिम्रो ब्रह्म छ । तिम्रो दियो, बत्ती र तेल,सबै तिमी नै हौ । मेरो काम त्यो बत्ती निभ्न लागेको बेला थोरै उठाइदिने मात्र हो ।’ उहाँले ‘म तिमीभित्र भएको तिमीलाई देखाइदिने गर्छु’ भनेर भनेको कुराले मेरो मनमै छोएको थियो । यदि तपाईँले ध्यान केन्द्रमा गएर एउटा आज्ञाकारी विद्यार्थी जसरी प्रवचन सुन्नु भयो भने, तपाईँले मृत्यु के हो बुझ्नु हुन्छ । कल्पना गर्नुहोस् त, यदि तपाईँलाई अबको केही घण्टामा म मर्दैछु भन्ने कुरा थाहा हुने हो भने यी सारा लफडा मामलाको केही मतलब हुने थिएन । ती सबैलाई त्यागिदिनुहुने थियो । हो ध्यानले यही कुरा बोध गराउँछ । 

तपाईंको नेपालमा दुई करियर छन्, एउटा व्यवसायीको र अर्को राजनीतिज्ञको । ती सबै छोडेर तपोवनमा ध्यान गर्न जाने बेलामा तपाईंलाई कस्तो लागेको थियो । के के तयारी गर्नुभयो ?

मैले यहाँबाट जानुअघि नै त्यहाँ कोठा बुक गरेको थिएँ । त्यहाँ पुगेपछि नयाँ कपडा किने गएँ । पहिलो पल्ट जाँदा स्याउ, सुन्तला आदि इत्यादि पनि बोकेको थिइनँ । केवल आफ्नो शरीर मात्र लगेर गएको थिए । दोस्रो पल्ट जाँदा भने केरा र स्याउ लगेको थिएँ । त्यहाँ खानाको पनि एकदम राम्रो प्रबन्ध छ । बिहान लगभग १० वा १०:३० मा खाजा दिनुहुन्छ । डेढ बजे लन्च ६ बजे डिनर खुवाउनुहुन्छ । प्रवचन प्राय: स्वामी आफैँले दिनुहुन्छ । तपोवनमा बिपश्यना गरेको जस्तो गाह्रो भने छैन । १५-१५ मिनेटमा नयाँ नयाँ सेसन भइराख्छ । नाच्ने गाउने हो कि, हिँड्ने होकी, ध्यान गर्ने की सबै कुरा विधिपूर्वक सिकाउनु हुन्छ । तपाईँलाई इमान्दारीपूर्वक भन्नुपर्दा, कुनै पनि मान्छे ध्यान नगरी मर्‍यो भने स्वर्ग नै पुग्दैन जस्तो लाग्छ मलाई । त्यसैले पनि ध्यान एकदमै महत्वपूर्ण छ । यसले तपाईंलाई जीवनमा नयाँ अनुभूति महसुस गराउँछ । मान्छेलाई हेर्ने विषयमा होस् या अरू कुनैमा । पहिला व्यवसाय गर्दा पैसा कमाउन एकदमै कुदिन्थ्यो होला । ध्यान गरेपछि यस्तोखाले लोभीपन नि घट्दै जानेरैछ । 

त्यहाँ गइसकेपछि या त्यहाँ रहिसकेपछि तपाईंले आफूमा पाएको परिवर्तन या प्राप्ति चैँ के हो ?

तपाईँलाई साँच्चै भन्ने हो भने मलाई यो संसदमा एकछिन पनि बस्न मन छैन । जनताप्रतिको उत्तरदायित्वले मात्र मलाई रोकेको छ । म कांग्रेसको इतिहासमै सबैभन्दा बढी मत पाएको मान्छे हुँ । त्यो चिजलाई मैले चिन्नुपर्छ भनेर मात्र म अडिएको छु । त्यहाँ दुइ देखि पाँच प्रतिशत मान्छेहरू भ्रष्ट छन् । पैसा खाएर देश लुट्नेहरू पनि त्यहाँ नै पुगेका छन् । उनीहरूलाई जनताप्रति कुनै उत्तरदायित्व छैन । अहिले आएको बजेट हेर्नु न कस्तो हावा छ । अहिले पनि नेपाली खाडी जानु परेको छ । उनीहरूलाई प्रतिवर्ष दश बिस हजार बच्चालाई उच्च शिक्षा पढाइदिऊँ, डाक्टर इन्जिनियर बनाइदिउँ भन्ने छैन । यिनै कारणले मलाई वितृष्णा र घृणा लागेको छ । 

तर स्वामी जीले तपाईं राजीनामा नदिनु तपाईँजस्तो मान्छेहरू त्यहाँ नै बसेर समाज सेवा गर्नुपर्छ भन्नुभयो । नभए मैले त तपोवनमा हुँदै राजीनामा पठाउन लागेको थिएँ । 

तपोवनमा अरू के के कुराहरू देख्नु भयो?

त्यहाँ डेथ पार्क पनि बनाएर राखेको छ । तपाईँले हेर्न जान नि मिल्छ । तर तपाईँले सिधा आँखाले हेर्ने कुरा र ध्यान गरेर हेर्ने कुरामा फरक छ । ध्यानको आँखाले हेर्न थालेपछि तपाईंले महसुस नै अर्कै गर्नुहुन्छ । आफ्नो आमा र अर्काको आमा त धेरै फरक हुन्छ नि । त्यस्तै तपाईंले हेर्ने र ध्यान गरेर ग्रहण गर्ने कुरा पनि बेग्लै हो । म त भन्छु सात दिन त कम । कम्तीमा एक महिने पूर्ण ध्यान गर्नु पर्छ ।

ध्यान सुरु गरेपछि आफ्नो दृष्टिकोण कसरी खेल्दै गयो, सुनाउनुहुन्छ ?

पहिलो चोटि ध्यानमा छिर्दा तपाईँलाई केही पनि महसुस हुँदैन । मलाई तीन दिनको साँझमा नाचिरहेको बेला हात माथि लग्दापनि ह्वार्र ह्वार्र इनर्जी माथि लागिरहेको छु जस्तो महसुस भयो । कत्ति पल्ट त्यहाँबाट आउने इनर्जी लगेर संसदमा भएका बाहरुलाई पनि खन्याइदिन मन लाग्थ्यो । ध्यानको सकारात्मक विचारको शक्तिबाट पैसा नखाई देश बनाउन सकिन्छ जस्तो साहस आउने रहेछ ।  

आफूले गरेको कुनै कुराले गिल्ट महसुस भयो कि भएन तपाईंलाई ?

त्यसमा चाहिँ म चुकेँ । मलाई जति गर्दा पनि रुन कराउन आएन । मैले सम्झे मेरो बुबा स्वस्थ हुनुहुन्छ, आमा त्यस्तै स्वस्थ हुनुहुन्छ । तीन वटै दाजुबहिनी सबैको राम्रै छ आजसम्म । छोराछोरीदेखि श्रीमतीसम्म सबै स्वस्थ छौँ । गरिबको छोरो म । अर्काको घरमा अमाबुवाले काम गरेर हुर्काएका । अब अहिले अरबपति भइसकेँ । त्यो भएर पनि मलाई रुन चैँ पटक्कै आएन । खासमा मलाई केही पीडा नै थिएन । त्यसैले बरु त्यसको सट्टामा हरिकृष्ण हरे राम गाएर बसेँ । 

त्यहाँ कोही साथी बनाउनु भयो ? बनाउनु भयो भने यताको साथी र त्यहाँको साथीमा के फरक हुने रहेछ ? यता त आम मानिससँग ठोकिने सम्भावना एकदमै कम हुन्छ नि हैन ? 

मैले त्यहाँ धेरै साथी बनाएँ । त्यहाँ भएका सबै आफ्नै परिवार लाग्यो मलाई । यता अध्यात्मपट्टि लागेका साथीहरू धेरै भरपर्दो हुने रहेछन् । उनीहरूलाई केही स्वार्थ छैन न मलाई केही दिनु छ, न उनीहरूलाई नै केही लिनु नै छ । हामीले नम्बर साटासाट गरेका छौँ । कहिलेकाहीँ कल हुन्छ । आफ्नो भावना साटासाट गर्‍यो त्यत्ति हो ।

अब आगामी दिनमा के गर्छु बन्ने सोच बनाउनु भएको छ ?

ध्यानलाई अझै बढाउने । बिपश्यना जाने । वर्षमा एकचोटी ध्यानमा छिरिरहने । प्रफुल्ल बनाउँछ ध्यानले ।

तपाईँ डाक्टरी पेशाको मान्छे । मानिसको शरीर अध्ययन गर्नुभएको छ । मानिसको शरीरकै उपचार गर्ने व्यवसायमा हुनुहुन्छ । अहिले आएर शारीरिक मात्र नभई आत्मिक अध्यात्ममा पनि लीन भइराख्नु भएको छ । यी दुई विषयमा फरक तत्त्व के पाउनु भयो ?

आत्मिक अध्यात्ममा त अझै एक क्लासमै छु । शरीर भनेको मेकानिकल कुरा हो । आध्यात्मिक कुराको कुनै तुलना नै छैन । अहिले अमेरिकाको हार्वर्ड, कोलम्बिया, जोन किइट्स जस्ता युनिभर्सिटीहरूमा नयाँ मोडल कोर्स सुरु गरेका छन् । जसमा एलोप्याथिक औषधीसँगै योग र ध्यानलाई समेत समावेश गरिएको छ । त्यो मोडेल हामीकहाँ पनि ल्याउनु छ । हामीले यहाँ काठमाडौँ मेडिकल कलेजमा आगामी श्रावण एक गतेदेखि बिरामीहरुलाई पनि ध्यान गराउने सोचिरहेका छौँ । मानसिक स्वास्थ्यका बिरामीलाई ध्यान गराउने हो भने ८० प्रतिशत रोग ठिक गराउन सकिन्छ जस्तो मलाई लाग्छ । मन त नियन्त्रण गर्ने हो नि हैन र ? 

तपाईँको विचारमा अहिलेका मानिसलाई के कुराले दु:ख दिइरहेको छ ? के ले भौतिकवादी बनाइ रहेको छ ?

हामी मान्छेले कुरै बुझेका छैनौँ । आजको मान्छे भोलि मर्दैमर्दैनन् जसरी पैसाको पछि भागिरहेका छन् । म पनि ३० वर्षसम्म त्यसरी नै पैसाको पछाडि भागेको हो तर अहिले बुढो भइयो । अबको ३० वर्षमा ७० पुग्छु । नेपालीको सरदर आयु भनेको त्यति नै हो । त्यसपछि बाँचेको त बोनस हो । मरिहालिन्छ भन्ने भएपछि मलाई पैसा कमाउने कामको पछाडि भागेर काम छैन भन्ने थाहा भइसक्यो । त्यसैले अब ठुलो फण्ड बनाएर बच्चाहरूलाई पढाउने योजनामा छौँ । अहिले नै हामीले करिब ७०० बच्चाहरूलाई पढाइरहेका छौँ । यसैपाली पनि एकजना विश्वकर्मा भाइलाई एमबिबिएसमा भर्ना गराइसक्यौँ । यस्तै ठुलो धन राशिको फण्ड बनाएर बच्चाहरूलाई पढाउनु पर्‍यो भनेर यतातिर पो लागिसकेँ म त ।

यदि ओशोबारे २० वर्षअघि नै थाहा पाउनुभएको भए बिचमा गरेका के काम फरक तरिकाले गर्नुहुन्थ्यो होला ?

ओशोको ध्यान २० वर्षअघि नै गरेको भए मसँग मेडिकल कलेज नै हुँदैनथ्यो । ढिलै पुगे पनि राम्रो ठाउँमा पुगेको छु, म त्यसमै खुसी छु । कुनै पनि काम मैले ढिला गरे अथवा ढिला थाहा पाए भनेर पछुतो मान्नु पर्दैन । जुन दिन त्यो राम्रो कर्म हो भनेर थाहा पाइन्छ, त्यही समयबाट दत्तचित्त भएर लागि हाल्नेहो । त्यसैले भनिन्छ, जति नै टाढा पुगे नि यु टर्न लिन कहिल्यै नडराउनु । मैले त यु टर्न लिइसके ।

तपाईं गीत कत्तिको सुन्न्नुहुन्थ्यो ?

आध्यात्मिक म्युजिकहरू त कम नै सुन्थेँ । सांसद भैसकेपछि म इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस (ISKCON) मा पनि जोडिएको थिएँ । त्यहाँबाट भागवतगीताका कोर्सहरू पनि लिएँ । म दैनिक रूपमा २१६ पटक माला जप्छु जसले कन्सियसनेस लेबल बढाउँछ । त्यसले ९० प्रतिशतसम्म डर हराउँछ, सोच्ने तरिकामा फरक पर्छ।

 पछिल्लो समयको ट्रेन्ड हेर्दा अहिले राजनीतिज्ञहरू धमाधम तपोवन जाने क्रम बढेको छ । केही अगाडि नारायणकाजी श्रेष्ठ जानुभयो, सिके राउत पनि उतै हुनुहुन्छ । यो ट्रेन्डलाईतपाईं मुक्तिको खोजीको रूपमा बुझ्नुहुन्छ कि कुनै देखावटी आकर्षण मात्र ?

कहिले काहिँ जाने कुरा चै फेसन जस्तो लाग्छ मलाई । तर साँच्चिकै ध्यान गर्न जाने हो भने धेरै सकारात्मक कुरा हो । ध्यान गर्न जाँदा चै मान्छे मुक्ति पाउनभन्दा पनि के रैछ त बुझौँ न भनेर जाने गर्छन् । ओशो खासमा बुद्धबाट प्रभावित छन् । उनले नयाँ ध्यान सुरु गरेको नभई बुद्धकै ध्यानमा आधारित भएर त्यसलाई आधुनिकीकरण गरेका मात्र हुन् । हामीले लुम्बिनीका सेन्टरहरूमा ध्यान प्रवर्द्धन गर्न बजेट दिने हो भने १० लाखदेखि ५० लाखसम्म  विदेशीहरू ध्यान गर्न मात्रै भएनी नेपाल आउन सक्छन् ।  हामी त ध्यान सुरुवात गर्ने बुद्धका सन्तान हौ नि । हामी ओरिजिनल हौँ । ध्यानको उत्पत्ति भएको नै नेपालको पर्वतबाट रहेछ । त्यसैलाई प्रवर्द्धन गरेर नेपाललाई संसारभर चिनाउने संरचना हामी बनाउन सक्छौँ । 

यो कुरा त अहिलेको लागि सम्भाव्यता मात्र भयो । अब एकपल्ट तपाईँको मतदातामातिर जाऊँ न । तपाईंलाई अथाह मत दिएर जिताउने तपाईंका जनता मध्य कतिपय जनता यस्ता पनि होलान्, जसका लागि तपाईंले जसरी ध्यान गर्नु सपनाको कुरा होला । अहिले नेपालमा ध्यान पनि शाेखको रूपमा बढिरहेको छ । ती मध्ये कतिलाई त एक छाक खाना जुटाउन पनि धौ धौ छ । यी विविध समूहलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 

सबैभन्दा गरिब को हो ?  गिट्टी कुट्ने मान्छे वा मकै पोल्ने मान्छे ? अथवा सडकको छेउमा बसेर जुत्ता पालिस गर्ने मान्छे । यस्ता मान्छेहरूलाई पनि बिहानै उठेर ध्यान गर्न लगाउन सकिन्छ । ध्यान त निःशुल्क हो । इच्छा हुने हो भने यसलाई जुनसुकै अवस्थामा गर्न सकिन्छ । तपोवन आएर दिनको १३०० तिरेर  यतै खाने अनि बस्ने गर्न नसक्लान् । तर प्रयास गर्ने हो भने त युट्युब बाटै पनि सिक्न सकिन्छ । त्यसैकारण म ध्यानलाई लक्जरी हो भनेर मान्दिन । 

तपाईँले अहिलेसम्म जुन कुरा थाहा पाउनुभयो । त्यो सबैलाई नीतिगत हिसाबमा पनि लागु गर्न सकिन्छ ?

पहिले त बुद्धि चाहिन्छ । सथीहरूले सुन्दा यो सुनिल आफ्नो मात्र बुद्धि छ, जस्तो कुरा गर्छ भन्नुहोला । तर मलाई यो सरकारमा भएका मान्छेहरूको बुद्धि छ जस्तो लाग्दैन । एउटा उदाहरण दिन्छु है । हाम्रो गौतम बुद्ध जन्मेको ठाउँ छ नि लुम्बिनी त्यहाँ  हामीले अमेरिकन क्लिनिक अथवा अस्पतालसँग मिलेर उतैका लाइसेन्सधारी डाक्टरहरू ल्याएर सात स्टार अस्पताल बनाइदिने र संसारभरिको सुत्केरी हुन चाहने महिलालाई सस्तो सुविधा दिने अनि अझ मिल्छ भने ती महिलालाई दुई महिनाअघि बोलाएर ध्यान गराउने र नव बुद्ध जन्माउन र हुर्काउन लगाउने हो भने एक हजार बेडको मेटरनिटि अस्पताल त्यहीँ चल्छ । यसले के हुन्छ भने बुद्धको भूमिमा जन्मेको आमाले आफ्नो सन्तानलाई पनि बुद्ध देख्छिन् । यदि हरेक दिन उनीहरूलाई जूमबाट १५ मिनेटको भए पनि ध्यान गर्न सिकाइराख्ने हो भने त्यो बच्चा ठुलो भएपछि पनि ध्यानमै लीन भइरहन्छ । भोलिपर्सि तीनै बच्चाहरू संसारका ५० प्रतिशत देशका उच्च ओहोदामा पुग्न सक्छन् । यो कुरा सुन्दा हाँसो लाग्न सक्छ । तर सरकारले मलाई प्लान बनाउन दिन्थ्यो भने मस्तले बनाउँथे । 

अब ध्यानलाई फरक तरिकाले हेरौँ है त । हामीकहाँ ध्यान गर्नुपर्ने र ध्यान दिनुपर्ने कुरा छन् । एउटा सांसद भएपछि ध्यान दिने कुरा पनि धेरै हुन्छ । तपाईंले गरेको यो ध्यानले तपाईंले ध्यान दिनुपर्ने कुरामा कसरी मद्दत गर्ला ?

पहिला त नीति नै बनाउनुपर्‍यो । ध्यान पनि विश्वबजारमा हामीलाई चिनाउन सक्ने माध्यम बन्न सक्छ भन्ने कुरा हामीलाई थाहा भइसकेको छैन । सगरमाथाको कारण विश्वमा चिनिने कुरा मेकानिकल कुरा मात्र हो । तर ठोकुवा गरेर राख्नु, सगरमाथाले चिनाएभन्दा बढी बुद्धले उत्पादन गरेको ध्यानले हामीलाई संसारमा चिनाउन सक्छ । पाँच–सात सय रोपनी जग्गा ध्यानका लागि भनेर सरकारले छोडिदिने हो भने पनि हामीले ठुलो परिवर्तन ल्याउन सक्छौँ ।

ओशोका धेरै आयामहरू छन् । उनका अनुयायीसँगै आलोचनात्मक हिसाबले हेर्ने मान्छेहरू पनि धेरै छन् । यसरी उनको अनुयायी बन्दै गर्दा तपाईँलाई आफू एकपक्षीय पनि हुन्छु कि भन्ने डर लागेको छ कि छैन ?

भारतले गएको दुई शताब्दीमा आगामी ५०० वर्षमा पनि पाउन नसकिने तीन मान्छे पैदा गर्‍यो । एक ओशो, अर्को विवेकानन्द अनि अर्को प्रभुपाद । उहाँहरूले विश्वबजारमा दिएर गएको कुरा भव्य छ । म एकपक्षीय हुन्न किनकि ध्यानबारे यहाँ मात्र कुरा भएको छैन । हाम्रो भागवद्‍गीतामा पनि त ध्यानको कुरा छ । ओशोले त्यही विचारलाई आधुनिकीकरण गर्नुभएको मात्र हो । ओशोले नयाँ ध्यान आफैँले विकास गरेको हैन । उहाँले गर्नुभएको यो विवेचना युगान्तकारी छ । साधारण मान्छेले हेर्ने दृष्टिकोणभन्दा फरक तरिकाले तर्कसहित उहाँले यसलाई प्रस्तुत गर्नुभएको हो । म यसबारे अझै अध्ययन पनि गरिरहेको छु । 

अब चुनाव उठ्नुहुन्छ कि उठ्नुहुन्न ? 

तपाईँलाई गफ लगाएको हैन तर अर्कोपल्ट चुनावमा उठ्ने/नउठ्ने कुरामा मलाई आजसम्म पनि इच्छा छैन । मलाई यो धेरै लफडामा पर्नु छैन । बरु आनन्दले परिवारसँग बसेर जीवन बिताउने हो । बरु म त बिहानै उठेर श्रीमतीसँग नाच्न पो थाल्छु । बुढाबुढी बिहान उठेर सँगै नाच्ने हो भने पनि धेरै कुरा फरक पर्छ ।

 

प्रतिक्रिया

2 thoughts on “ओशोको ध्यान २० वर्षअघि नै गरेको भए मसँग मेडिकल कलेज हुँदैनथ्यो : डा. सुनिल शर्मा (अन्तर्वार्ता)

  1. हामीले सुनिल जीको विभिन्न रूप देख्यौ तर यस्तो शान्त स्वभाव पहिलो पटक देख्दा निकै नै खुसी लागेको छ, तपाईँ जस्तो नेताको नेपालको लागि जरुरी छ ।

  2. पोथे पढ पढ जगमोहा पण्डित भयाना कोहि । ढाइ अक्षर प्रेम और दया जाने सो पण्डित होइ।।।।।।।आध्यात्मित हुनु र आध्यात्मित जस्तो देखिनु धेरै भिन्न कुरा हुनआलु खेत मा राखेको बुख्याचो ले चराहरु भगाउन सक्छ तर आलुलाइ गोडमेल गर्न सक्दैन ।हरि ॐ

Leave a Reply

Your email address will not be published. Required fields are marked *