महिला कवि बढेसँगै भाषामाथिको पुरुष आधिपत्य भत्किँदै छ- टर्कीस कवि गोन्का ओज्मेन
टर्किस कवि गोन्का ओज्मेनको जन्म सन् १९८२ मा टर्कीको बुरदुरमा भएको थियो । उनले सन् २००४ मा इस्तानबुल विश्वविद्यालयको अङ्ग्रेजी साहित्य विभागबाट स्नातक गरेकी छन् । हाल उनी साहित्यिक अनुवाद पत्रिका ‘ची.एन.’ र ‘पुलबिबर’को सम्पादकका रूपमा काम गर्छिन् । टर्कीभन्दा बाहिर आफ्नो परिचय फैलाइसकेकी उनी टर्कीमा आफ्नो पुस्ताकी सबैभन्दा प्रसिद्ध महिला कवि हुन् । उनका कवितामा युद्धदेखि प्रेमसम्मका विविध मुद्दामा नारीवादी आलोचनात्मक दृष्टिकोण पाइन्छ । उनले पूर्वीय र पश्चिमी देशका कविलाई एकताबद्ध गरिएको ‘अ न्यु डिभ्यान’ पुस्तकको लागि लेखेकी छन् । ‘ए न्यू दिवान’ अनलाइनका लागि प्रकाशित यो अन्तर्वार्तामा उनले ‘अ न्यू डिभ्यान’ मा लेख्दाको अनुभवसँगै उनका लागि कविता के हो, अनि टर्कीमा कविताको अवस्था कस्तो छ भन्नेबारे बोल्दै विभिन्न तहका सामाजिक मुद्दाबारे कुरा गरेकी छन् । प्रस्तुत छ मकालुखबरकी होहंसा खड्का र सुरज सुवेदीको अनुवादमा अङ्ग्रेजीमा प्रकाशित उनको अन्तर्वार्ताको सम्पादित अंश:
तपाईंको कविता लेखन प्रक्रिया कस्तो हो भनिदिनु न । सामान्य रूपमा कविता लेख्दा र ‘अ न्यु डिभ्यान’ जस्तो विशेष अवसरको लागि लेख्ने तरिकामा के फरक पर्छ ? तपाईंका लागि कविताले के अर्थ राख्छ ?
मैले १२-१३ वर्षको हुँदादेखि नै कविता लेख्न थालेको हु । १५ वर्षकी हुँदा त कविता नै प्रकाशित भयो । त्यही वर्ष मैले कविताको लागि पहिलो पुरस्कार पनि जितेँ । यद्यपि कविभन्दा पहिला म कविताको पाठक हो । म सधैँ कविता बुझ्ने रचनात्मक पाठक बन्न प्रयत्न गर्छु । कविताका किताब पढेर नै मैले कविता लेख्न सिकेको हुँ भन्दा पनि हुन्छ । बलियो कविताले हामीलाई धेरै कुरा सिकाउँछ । त्यसैले पनि म प्रायः टर्कीस अङ्ग्रेजी दुवै भाषामा लेख्ने, फरक–फरक सांस्कृतिक पृष्ठभूमिका कविलाई पढ्ने प्रयास गर्छु ।
म आफूलाई पढ्न मन लाग्ने जस्ता कविता लेख्छु । कुनै विचार वा इमेजबाट प्रेरित भएपछि नै कविताका लाइनहरू आउँछन् । मलाई कम्प्युटरमा सिधै लेख्नभन्दा हातैले लेख्न मनपर्छ । मेरो नोटबुकमा पहिला अनेक ड्राफ्ट बनिसक्छन् । तीनलाई प्रकाशन गर्न मलाई समय लाग्छ । म आफ्ना कविता ठुलो आवाजले पढ्छु, ताकि शब्दका ध्वनि र सङ्गीतहरू महसुस गर्न सकूँ अनि मैले तीनलाई कस्तो टोनमा लेख्न खोजेको हुँ खोज्न सकूँ । मलाई पाठकलाई बुझ्ने ठाउँ दिने गरी लेख्न मनपर्छ । कविता, कवि वा आफैँसँग संवाद गर्ने ठाउँ उनीहरूलाई छोडिदिन मनपराउँछु । यसले गर्दा उनीहरू कविताको रचनात्मक प्रक्रियामा पनि सहभागी हुन सक्छन् । मेरो रचनामा आ-आफ्ना खुसी, चाहना, झुट, रहस्य, सम्झना, सम्बन्ध, विचार र इमेजहरू ल्याउन सक्छन् । लेखक एमिली डिकेन्सनले भनेकी छन् ‘कोही भन्छन् बोलेपछि शब्द मर्छ, म भन्छु त्यो शब्द त्यही दिनेदेखि बाँच्न थाल्छ ।’ म उनको कुरामा लगभग सहमत छु, सँगै यो पनि भन्छु कि कवितामा नभनिएका शब्दहरू धेरै हुन्छन् । पाठकले पढुन् र थाहा पाउन् भनेर ती पर्खिरहन्छन् ।
मैले गर्मीको छुट्टीमा घर गएको बेला यो ‘न्यु डिभ्यान’ कविता प्रोजेक्टमा काम गरेकी हुँ । घर जानुअघि केही नोटहरू बनाएकी थिएँ तर ती साधारण र सिलसिलेवार नमिलेका थिए । घरमा बसेको मौकामा मैले आफ्नै सुरले शान्त र स्थिर प्रकृतिको काखमा रहेर पूर्ण एकाग्रताका साथ काम गर्न पाएँ । बिदामा गएको भएर काम गर्ने बाध्यता पनि थिएन । कति कविताहरू त मैले ‘मृत’ कविहरू: ‘गोथे’ र ‘हाफिज’सँग निन्द्रामै काव्यिक कुराकानी गरेको जस्तो लागेर निन्द्रा मै पनि लेखेँ ।
एज्रा पाउन्ड भन्छन्– ‘कविता सबैभन्दा विलक्षण ‘अर्को आवाज’ हो, जसले हामीलाई हाम्रो मानवीय अवस्थासँग साक्षात्कार गराउँछ ।’ यो उत्साह र दृष्टिकोणको आवाज भएकाले पनि ‘अर्को आवाज’ हो । यो अर्कै संसारको कुरा पनि हो । त्यसैले म कवितालाई एक प्रकारको साहित्यिक पुनरुत्थान वा ‘मृत’ भइसकेको लेखनलाई नयाँ जीवन दिने नयाँ प्रक्रियाको रूपमा पनि लिन्छु । यो रचनात्मक संवाद हो । शब्द शब्द बिचको घर्षण संवाद पनि हो ।
यो कविताले घरलाई आश्रय दिने सुरक्षित, र शान्तिपूर्ण ठाउँ हो भन्ने कुरा नकार्छ । विभिन्न विद्वानहरूले घरको बारेमा लेखेका कुरा पछ्याउँदै यस किताबमा छापिएका कवितामार्फत म परम्परागत बुझाइको मुड्की उज्याएर महिलाहरूलाई घररूपी पिँजडामा थुनेर राख्न चाहने रुढीवादी समाजको विरुद्ध बोलेकी छु । मेरो कविताकी महिला पात्र आफ्नो प्रेमीलाई कहिल्यै पनि घर नलैजानु भन्छिन् । पश्चिमा बुझाइमा रहेको बाइनरी अपोजिसनको तर्कमा केन्द्रित रहँदै मैले उनीहरूले त्यसैमा रहँदै बनाएका निजी र सार्वजनिक जीवनको परम्परागत इमेज, बाहिर र भित्रको द्वन्द्व, लैङ्गिक भूमिकाहरू, विगत र वर्तमान, प्रकृति र संस्कृति, दिन र रात अनि पूर्वीय र पश्चिमा जस्ता पक्षहरूलाई एउटै घानमा मिसाउने अनि अनि कतिलाई उल्टो सुल्टो पार्ने प्रयास गरेकी छु ।
घरहरू हिंसाले भरिएका छन् । लुकाइएका दमन र उल्लङ्घनले भरिएका छन् । यो संसार पनि त ठुलो घर नै हो ।
आफ्नो कवितालाई तपाईंले सुन्दर ढङ्गले सङ्गीतमा सेट गर्नुभएको छ । त्यसैबाट प्रेरित भएर भिडियो पनि बनाउनुभएको छ । यो प्रोजेक्टमा त्यसरी कविता प्रस्तुत गर्ने तपाईं मात्र एकजना सहभागी हुनुहुन्थ्यो । त्यसैले पनि मलाई त्यो रोचक लाग्यो । यसको बारेमा केही थप भनिदिन चाहनुहुन्छ ? सुनाउन थालेपछि कविता कसरी परिवर्तन हुन्छ जस्तो तपाईंलाई लाग्छ ?
यसो भन्दिनुभएकोमा तपाईंलाई धन्यवाद । दुवै पक्षलाई परिवर्तन गर्ने भएकाले जसरी हरेक भेट महत्त्वपूर्ण हुन्छ । त्यसैले मेरो कविता र सङ्गीतबिचको भेट अनि त्यसपछि आएको भिडियो सबैलाई अनुवाद गर्नुजस्तै जस्तै एउटा कलात्मक प्रक्रिया वा संवाद जसरी लिन मिल्छ । सङ्गीतले कवितामा नयाँ प्रकारको दृष्टिकोण दिन्छ । नयाँ प्रकारको तह थप्छ । यस्तै भिडियोले मानिसहरूलाई प्रेरित गर्ने नयाँ नयाँ अवसर प्रदान गर्छ । कवितामा काम गर्दै गर्दा ठुलो स्वरमा पढ्दै म आवाजको उतारचढाव कस्तो छ भनेर जाँच गर्छु । मलाई कविताको ध्वनि निर्माण र ध्वनि संरचनामा रुचि छ । तीनको ध्वनि प्रभाव, स्वरावृत्ति, मिटर, अनुप्रास तथा अलङ्कार, दोहोरिने ध्वनि अनि आन्तरिक अनुप्रास आदि जस्ता श्रवण पक्षका आयामहरूले कसरी अर्थ दिन्छ भन्ने कुरामा पनि म ध्यान दिइरहेको हुन्छु ।
म अनुप्रास बनाउँदा साधारण बोलीचालीको भाषाहरू टिप्छु । सामान्य बोलीको लय कैद गर्छु । मैले मेरो अन्तिम पुस्तकमा म्युजिकल नर्सरी राइमहरू प्रयोग गरेको थिएँ । तीमध्ये एउटा ‘मेमेट’ भन्ने पिस प्रतिष्ठित सङ्गीतकार ‘साइमिन सामवती’ले रचना गरेका थिए । (उनले गरेको त्यो कामलाई यहाँ हेर्न सक्नुहुन्छ । https://youtu.be/ft_4d_nq2K8)
म टर्कीको बर्दुर तालबारे गरिएको एउटा विशेष प्रोजेक्टमा पनि सहभागी थिएँ । त्यो ताल सुक्न लागेको थियो । मलाई टर्कीका एक महान् सङ्गीतकार टर्गे अर्डनरको धुन रचनामा कविता लेख्न भनिएको थियो । त्यो पिसको नाम गोथेको फाउस्टमा आधारित “विलापको गीत” थियो । संगीत भरिएको धुनमा आधारित भएर लेख्नु मेरो लागि नयाँ अनुभव थियो जुन सजिलो थिएन । त्यसको सङ्गीतले मलाई सताइरह्यो । एक सङ्गीतको टुक्राको लागि कविता लेख्नु मेरो लागि नयाँ अनुभव थियो । तर सङ्गीतले बेस्सरी हैरान लगाए पनि मैले एउटा विशिष्ट कविता लेखेँ । त्यसको नाम “गोले यास” (ताल सम्झिएर विलाप) थियो । त्यसपछि निर्देशक, तथा मेरो प्रिय मित्र मेहमेट शाफक टर्केलले यो कवितालाई आफ्नो डकुमेन्ट्रीको शीर्षकको रूपमा प्रयोग गरे अनि कविता/गीत पनि सहभागी गराए ।
पछि मेरो अर्को कविता ‘बिल इस्त्ये’ सङ्गीतकार मेर्ट कमिलरले सङ्गीतमा ढाले । मैले मेहमत शाफक टुर्केलसँग सहकार्य गरेपछि उनी त्यसको लागि भनेर नै सर्टफिल्म बनाउन चाहन्थे । यी दुवै प्रयासलाई पनि अनुवाद हो भनेर भन्न सकिन्छ । यी कलाकारहरूले पनि एउटा माध्यमलाई अर्को माध्यममा परिणत गरिरहेका छन्– कवितालाई नयाँ भाषामा नभई नयाँ रूपमा परिवर्तन गरिरहेका छन् । फरक फरक कलाका विधाहरू हुने बिचको यस प्रकारको संवादले दुवै पक्षको लागि वैकल्पिक आयाम खोल्छ भन्ने मलाई विश्वास छ । यो पढ्ने, विवेचना गर्ने, अर्थ निकाल्ने अनि आफ्नो रचना गर्ने जस्तै काम नै हो । अन्य कलाका शैली वा विधाहरूसँग सहकार्य गर्दा मलाई आफ्ना कविताहरूलाई नयाँ नयाँ तहहरू थप्न सहयोग पुगेको छ । एउटा कविताको असीमित सम्भावनाहरू हुन्छन् ।
त्यसका अलावा मलाई प्रायजसो ‘टुर्कु’ भनेर चिनिने लोक गीतहरूमा असाध्यै रुचि पनि छ । अशिक्षित नै भएतापनि मेरो हजुरआमा मलाई ‘मनिज’ सुनाउनुहुन्थ्यो जसलाई छोटो लयबद्ध लोक कविता भनेर भन्न सकिन्छ । अशिक्षित तर घुम्न खुब रुचाउनुहुने मेरो बुढीहजुरआमा मलाई अनौठा अनि गहिरो अर्थ हुने परिकथाहरू घण्टौँसम्म सुनाइबस्नुहुन्थ्यो । ती सबै आवाजहरू मेरो दिमागमा बसेका छन् । ती संभवतः मेरो समाजको सामूहिक स्मृति पनि हुन् । त्यसैले पनि मेरो कविता अनेक सांगीतिक विधा, कीर्तन, गीत, लग, चुट्किला, रहस्य, मिथक, मन्त्र, किंवदन्ती, अप्ठ्यारा शब्दहरू, शब्द खेल, वाचनहरू, धार्मिक किताब, काव्यहरू, बिलौना, लोक कथा र ऐतिहासिक वर्णनहरूमा आधारित समृद्ध मौखिक परम्पराहरू हुँदै आएका छन् ।
अंकारामा किशोरावस्था बिताएदेखि नै मैले टर्किस भाषा सिक्न खोजिरहेको छु । यो भाषाको सौन्दर्य, अनि धेरै सम्भावनाहरू अन्वेषण गर्न सकिने यसको दायराबाट म चकित छु । टर्किस भाषामा पृथक् सुनिएको महसुस हुने कविताको कुनै पक्ष छ जस्तो तपाईंलाई लाग्छ ?
रोचक प्रश्न सोध्नुभयो । मूलभाषामा लेख्ने एक लेखकलाई आफ्नो भाषा बाहिर निस्कन र भाषालाई कुनै विदेशीले देखे जसरी हेर्न गाह्रो छ । तर हामीले यस्तो प्रयास भने गरिरहनुपर्छ । कहिलेकाहीँ भित्रको मान्छेको देख्न नसकेको कुरा बाहिरको मान्छेले देख्न सक्छ ।
मलाई लाग्छ, भाषाको संगीत दुईवटा कुराबाट आउँछ । पहिलो त हाम्रो भाषा स्वर वर्णमा धनी छ । हामीसँग आठवटा स्वर वर्णहरू छन् र हाम्रो ध्वनि प्रणालीका ती प्रमुख विशेषताहरू हुन् । दोस्रो, भाषा स्वर वर्णहरूको तालमेल नजिक रहेर निर्माण गरिएको हुन्छ । त्यसैले पनि हाम्रो भाषामा थोरै शब्दमा धेरै कुरा भन्न सजिलो छ, जसले कवितालाई फाइदा नै गर्छ । साथै यसले हामीलाई सोचबाट इमेज अनि इमेजबाट कवितामा पुग्न पनि मद्दत गर्छ । तर मैले भनिरहेको साधारण टिप्पणी मात्र हो । सबैले भाषालाई समान रूपमा प्रयोग गर्छन् भन्ने पनि छैन । हामीसँग लिङ्ग तटस्थ सर्वनामहरू छन् जसले लेखनमा ठुलो स्वतन्त्रता दिन्छ । हाम्रो वाक्यविन्यास पनि धेरै लचिलो छ, जसको कारण हामी वाक्यलाई चाहे जसरी घुमाउन सक्छौँ । त्यो कविताको लागि सजिलो कुरा हो ।
तपाईं ‘टर्किस् पोयट्री टुडे’ को प्रकाशनसँग पनि आबद्ध हुनुहुन्छ । अहिले टर्कीमा तथा विश्वव्यापी रूपमा कविताको भूमिका के देख्नुहुन्छ ? आज टर्कीमा भएका कविहरूको अवस्था कस्तो पाउनुभएको छ ? के यो परिवर्तन भइरहेको छ ?
टर्कीमा कविताले केही पुस्ताअघिसम्म कायम रहेको प्रतिष्ठा गुमाइरहेको छ भनेर हामी बेलाबेला गुनासो गरिरहेका हुन्छौँ । यद्यपि मलाई लाग्छ, केही पश्चिमा देशहरूमा भएको भन्दा पनि यहाँ हाम्रो कविताको अनुहार उच्च छ । यहाँ कविता छाप्ने धेरै पत्रिकाहरू छन्, कवि अनि कवि बन्न चाहने व्यक्तिहरू छन् । सात वर्षअघि गेजीको विरोध प्रदर्शनको क्रममा हामीले ‘पोएट्रीइज इन द स्ट्रिट्स’ नामक एउटा रोचक आन्दोलन पनि देख्यौँ जहाँ मानिसहरूले राजनैतिक नाराहरू तथा पुलिसको बर्बरता र आक्रमणको समाचार सँगसँगै भित्ताहरूमा अनि भुईँहरूमा आफूलाई मनपर्ने कविताका लाइनहरू कोरिरहेका थिए । केहीले त्यो के गरेको भनेर नबुझे पनि त्यसले एक प्रकारले कविताको सामर्थ्य र इज्जतलाई पुनर्स्थापित गर्यो । अनि विशेष गरी नयाँ पुस्ताको लागि कवितालाई नयाँ बनाइदियो । यसले मानिसहरू कविता पढ्छन् अनि यसलाई सान्दर्भिक र महत्त्वपूर्ण मान्छन् भन्ने कुरा पनि देखाइदियो । मलाई थाहा छ, हामी कविता लेखेर संसार बदल्न सक्दैनौँ तर मलाई थाहा छ कि हामी मानिसहरूलाई परिवर्तन गर्न सक्छौँ, र यी मानिसहरूसँग मिलेर हामी राम्रो संसार बनाउन सक्छौँ, कम्तीमा हामी चीजहरू परिवर्तन गर्न लड्न सक्छौँ ।
टर्कीमा कविता एक महत्त्वपूर्ण शक्ति हो । मौखिक साहित्यदेखि लिएर समकालीन कवितासम्मको यात्राक्रममा यसको लामो र समृद्ध विगत छ । यो काव्य परम्पराले हाम्रो सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सन् १९२३ मा गणतन्त्रको स्थापनाले हामीलाई भाषा सुधारतर्फ अग्रसर गर्यो । सँगै ल्याटिन वर्णमालाको अवलम्बन, सरकार र शिक्षामा धर्मनिरपेक्षताको घोषणा, अनि पश्चिमीकरणतर्फ डोर्यायो । ती कदमले विगतको साहित्यसँग हामीलाई विभाजित गर्यो । सन् १९२० को दशकमा नाजिम हिक्मेटले विषयवस्तुमा नवीनता ल्याउँदै पद्य शैली पछ्याएर कवितामा क्रान्ति ल्याए । सन् १९४० को दशकमा ‘गारिप आन्दोलन’ ले कवितामा आमूल परिवर्तन ल्याईअर्को काव्य क्रान्ति गर्यो । उनीहरूले परम्परागत कवितामा हुने जस्तो उपमा वा रूपकलाई बेवास्ता गरे, अनि तीनको ठाउँमा सामान्य अनि दैनिक जीवनमा बोलीमा भाषा प्रयोग गरे । दैनिक जीवनका वस्तुहरू र घटनाहरूबाट कविताको विषय टिपे । मिटरमा लेख्ने वा औपचारिक लयमा लेखिने तरिका त्यागे । सन् १९५० को दशकको अन्त्यमा ग्यारिप आन्दोलनको प्रतिक्रियाको रूपमा दोस्रो नयाँ आन्दोलन देखियो । त्यो प्रभावशाली कविता आन्दोलनले ‘डाडा र अतियथार्थवादी पश्चिमा आन्दोलन’ले गरेको जस्तै भाषालाई अवरोध प्रदान गरे । त्यसले गर्दा कविताहरू अझै अमूर्त र भाषिक प्रयोगमा आधारित बने ।
त्यसयता मैले देखेको सबैभन्दा क्रान्तिकारी परिवर्तन भनेको भाषाभित्रको पुरुष आधिपत्यको विनिर्माण हो । सन् १९८० को दशकपछिको कविता परम्पराले महिला कवि र लेखकको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । महिला कविले मूलधारको सांस्कृतिक उत्पादनमा महिला प्रतिनिधित्वकाे तरिकालाई चुनौती दिइरहेका छन् र धक्का पुर्याइरहेका छन् । अनि अझै पनि पुरुष प्रधान संस्थाले ‘पुरुष महान् हुन्’ भनी दर्शाउने अनेक मिथकका पनि घाँटी अँठ्याइरहेका छन् । उनीहरू मूल जरालाई नै हल्लाउँदै कला र इतिहासमा रहेको पितृ सत्ताको बिरुवा उखेल्न खोजिरहेका छन् । यसको एक हिस्सा बन्न पाउँदा म आफूप्रति पनि गौरव गर्छु ।
कविता अविश्वसनीय शक्तिशाली साधन हो । यसलाई हतियारको रूपमा प्रयोग गर्न सकिन्छ र परेको बेला यसैमा आश्रय लिन पनि सकिन्छ । यसले समाजको आकार परिवर्तन गर्न सक्छ । कविहरू धार परिवर्तन गर्नसक्ने हुन्छन् । कविता अझै पनि क्रान्तिकारी छन् । अझै पनि शक्तिशाली छन् । कविताले आवाजविहीनलाई आवाज दिन्छ । अदृश्यलाई दृश्य बनाउँछ । यसले नदेखाइएका कुराहरू देखिने बनाउँछ । यसले सोच्नै नसकिने कुरा सोच्छ । भन्न नसकिने कुरा भन्छ । यी र यस्ता अन्य कुरा गरेर कविताले आफ्ना पाठकहरूमा नयाँ दृष्टि थप्छ । त्योभन्दा क्रान्तिकारी अरू केही कुरा हुन्छ जस्तो मलाई लाग्दैन ।