राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्छ : हिक्मतकुमार कार्की
मकालु खबर
२०८० असार ८ गते
विराटनगर, ८ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् ।
प्रदेश योजना आयोगले शुक्रवार विराटनगरमा आयोजना गरेको ‘कोसी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले कोसी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरू तय आवश्यक भएको बताए ।
प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।
‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तयार गर्ने सन्दर्भमा हामी पहिले नै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरूमा असन्तुलन हुने अवस्था रहन्छ ’– मुख्यमन्त्री कार्कीले भने । प्रदेशको संरचनागत कुरामा ध्यान दिँदा अन्य क्षेत्रका कामहरू छुटेको प्रस्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको उनले स्मरण गराए । उनले प्रदेश केही क्षेत्र अवस्था खस्किएको दृष्टान्त प्रस्तुत गर्दै औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताए ।
कार्यक्रममा कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कोसी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताए । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजवादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरू पनि सोही अनुरूप निर्माण गरिनुपर्ने बताए । त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रूपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेती लगायतका व्यक्तिहरूले प्रदेश समृद्धका आधारहरूको बारेमा बोलेका थिए । कार्यक्रममा अर्थशास्त्री प्रा डा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मकालु खबर
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित