बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान भित्र्यायो
स्पेनिस क्लब बार्सिलोनाले यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर भित्र्याउने पक्का भएको छ।
सिटीका कप्तान समेत रहेका इल्के गुन्डोगन सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो । सिटीमा गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ।
सिटी सम्झौता थप गर्न तयार भएपनि गुन्डोगन बार्सिलोना जान इच्छुक भएपछि त्यो सम्भव नभएको हो।
३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौता थपको प्रस्ताव राखेको थियो। उनले ला लिगा च्याम्पियन बार्सिलोनासँग ३ वर्षको सम्झौता गर्ने भएका छन्।
सिटीका प्रशिक्षक पेप गुआर्डिओला गुन्डोगानलाई राख्न इच्छुक थिए । जर्मनीका मिडफिल्डरले २०२२–२३ मा सिटीका लागि ५१ खेल खेलेर ११ गोल गरे।
एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडमाथि २–१ को जितमा उनले दुवै गोल गरेका थिए। उनले आफ्नो अन्तिम सात खेलमा ६ गोल गरे।
च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानलाई १–० ले हराएर यो सिजन प्रिमियर लिग र एफए कपको उपाधि जित्दा उनले पुरै ९० मिनेट खेलेका थिए।
उनी सन् २०१६ मा २० मिलियन पाउन्डमा सिटीमा अनुबन्ध भएका थिए।
इतिहाद स्टेडियममा आफ्नो सात वर्षको अवधिमा उनलले १४ उपाधि जिते ।
सिटीले २०२२–२३ को सिजन अघि उनलाई कप्तान बनाएको थियो ।