साफ च्याम्पियनसिप : भारतलाई जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बजेदेखि हुँदैछ ।

नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को हार बेहोरेर प्रतियोगिताको सुरुवात खराब गरेको छ । त्यस्तै भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

यस साफ च्याम्पियनसिपमा ८ देशले भाग लिँदै छन् । साफ देश श्रीलङ्का फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समूह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समूह बि मा लेबनान, मालदिभ्स, भुटान र बङ्गलादेश रहेका छन् ।  दुवै समूहका शीर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।

यसअघि १३औँ संस्करणको साफ २०२१ मा मालदिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने मालदिभ्सले २ पटक, बङ्गलादेश, अफगानिस्तान र श्रीलंकाले एक एक पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *