चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता थापाले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए । उनले नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । सरकार छोड्नपरे पनि नडराईकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने उनको तर्क छ । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरू एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताए । संसद्मा समानुपातिक निर्वाचन प्रणाली नराख्न पनि उनले आग्रह गरे ।

महामन्त्री थापाले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरूको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन ग-यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ । के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तल,माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि । समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्छ । काँग्रेसले आकर्षण गरोस् ।

समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *