दुइटा सहर कब्जा गरी मस्कोतर्फ बढ्दै रूसको विद्रोही सेना
रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको छ।
अहिले सो समूह लिपेत्स्क प्रान्तमा प्रवेश गरेको छ।
समाचार संस्था एपीका अनुसार प्रान्तका गभर्नरले सो समूह उक्त क्षेत्रमा प्रवेश गरेको बताएका हुन्। गभर्नर इगोर अर्टामोनोभले वागनर समूह हातहतियारसहित सो क्षेत्रमा प्रवेश गरेको बताएका हुन्।
लिपेत्स्क प्रान्त मस्कोदेखि ३६० किमी दक्षिणको क्षेत्रमा पर्छ।
यसअघि वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए। रोस्तोव मस्कोबाट ११०० किमी टाढा छ। वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको थियो।
उक्त समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको छ।
वागनर समूह मस्को नै जाने सोचले अघि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले दक्षिणी सहर रोस्तोव-अन-डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ।
वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको बिबिसीले जनाएको छ। वागनर समूह रूसकै निजी सैन्य संस्था हो।
रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको छ। प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका हुन्।
उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन्।
उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका छन्।
प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो-कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ। स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन्।
प्रिगोजिनले रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए। – एजेन्सी