देशभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट, पाउने छन् ५ लाख सहायता

काठमाडौँ । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ । मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो ।

छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ । हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ । त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले यस्ता विद्यालय छनोट गरिएको छ । मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराइने बताए । उक्त रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ । रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अङ्क प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो ।

केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्याङ्कन गर्दै आएको छ । विद्यालय कार्यसम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ । लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको छ । मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन् । तीमध्ये हालसम्म पाँच हजार ९८ वटाको कार्यसम्पादन मूल्याङ्कन गरिसकेको छ ।

प्रतिक्रिया

One thought on “देशभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट, पाउने छन् ५ लाख सहायता

  1. राम्रो काम को राम्रो नतिजा आउनु झनै राम्रो हो सामुदायिक बिधालय लाई प्राइभ्ट भन्दा प्रभाब साली बनाउन सरकारको ध्यान जावोस शैक्षिक गतिबिधी पनि आधुनिक र जीवन परिवर्तन मुलक होस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *