पोखरा महानगरमा दातृ निकायले साढे २७ अर्ब लगानी गर्दै (के–के हुँदैछ काम ?)
पोखरा । पोखरा महानगरपालिकामा आउँदो ४ वर्षभित्र फोहोर पानी प्रशोधन केन्द्र स्थापना हुने भएको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिने जानकारी दिए । उक्त परियोजनामा ११ अर्व भन्दा बढी खर्च हुने बताइएको छ ।
‘विज्ञ प्राविधिकहरु मार्फत डिजेटल डिजाईनको काम सम्पन्न भैसकेको छ । परियोजना सुरु हुने चरणमा रहेको छ,’ उनले भने ।
यस्तै, एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । ७ अर्व ५० करोड लागतमा दिगो पर्यटन विकास परियोजना सञ्चालनको प्रक्रिया सुरु भएको आचार्यले बताए ।
उनका अनुसार ग्रिन सिटी क्लिन सिटी अवधारणाका साथ कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको सहकार्यमा ६ अर्व लागतको हरित यातायात प्रणाली विकास कार्यक्रम पनि कार्यान्वयनको चरणमा छ ।
यता करिब ३ अर्वको लागतमा तालचोकदेखि बेगनासतालसम्म नमुना सडक विस्तारको काम सुरु भएको छ । यसमा विश्व बैंकले आर्थिक सहयोग गरेको छ ।
विश्व बैंकले नै कोत्रेदेखि दोविल्ला हुँदै बिरौटा जोड्ने वैकल्पिक राजमार्ग (वाइपास रोड) स्तरोन्नतिको काम सुरु भएको छ । यसैवर्ष, पोखराको एकीकृत पर्यटकीय गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न नगर विकास कोष र नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बीच महानगरले सम्झौता गरिसकेको छ ।
महेन्द्रपुलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा चमेनागृह सहितको अत्यधुनिक सार्वजनिक शौचालय र लायन्स क्लब इन्टरनेशनलको सहयोगमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण सुरु भएको मेयर आचार्यले बताए ।
उज्यालो पोखरा अभियान अन्तर्गत महानगरका २३ मुख्य चोकहरूमा हाइमास्ट लाइट जडान गरिएको छ । यस अभियान अन्तरगत १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान भएका छन् । पहिलो चरणमा महानगरको मुख्य सहरी क्षेत्रको २० किलोमिटर सडकमा विद्युत, टेलिफोन, अप्टिकल फाइबर लगायतका तारहरू भूमिगत गर्ने प्रक्रिया सुरु गरिएको महानगरले जनाएको छ ।