दुल्लु नगरपालिकाको बजेट ९२ करोड ८३ लाख, निःशुल्क एम्बुलेन्स र छात्रवृति कार्यक्रमलाई निरन्तरता
दैलेख । दैलेखको दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि ९२ करोड ८३ लाख ५६ हजार २७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आइतबार नगरपालिकाको १३ औं नगरसभाबाट आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।
नगरपालिकाले कुल बजेटको ७५ दशमलब ५२ प्रतिशत अर्थात ७० करोड १० लाख ९३ हजार चालुतर्फ र २४ दशमलब ४८ प्रतिशत अर्थात २२ करोड ७२ लाख ६३ हजार २७ रुपैयाँ पुजिगततर्फ विनियोजन गरेको हो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख बिना कार्कीले यो खर्च अनुमान चालु आर्थिक बर्षको विनियोजनको तुलनामा १४ दशमलब ३५ प्रतिशतले कम भएको बताइन् ।
यस्तै नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने र प्रत्येक बर्ष ५२ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रवृति दिने कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख भरत रिजालले जानकारी दिए ।
उनले भने, दुल्लु नगरपालिकाको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर बजेट ल्याएका छौ ।
यसबाट दुल्लु नगरपालिका र दुल्लुबासीको आर्थिक, सामाजिक तथा शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा लिएका छौ ।
साथै दुल्लु नगरपालिकाले बजेटमार्फत दिगो विकासका अवधारणा अवलम्बन गर्दै प्रयोगकर्तामैत्री पूर्वाधार निमार्ण, सामाजिक सचेतना, सुशासन प्रवद्र्धन, उत्पादन र उत्पादकत्व बृद्धि, धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार, प्रविधिमैत्री, सिपमुलक, आयमुलक तथा जिवनोपयोगी शिक्षा, वातावरण संरक्षण तथा विपद, जोखिम व्यवस्थापन, स्वास्थ्य सेवामा नागरिकको पहुच बृद्धिका लागि स्वास्थ्य पूर्वाधार र आन्तरिक आयमा बृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।