लागूपदार्थ छोडेका बाबु भन्छन्- ‘मेरो छोरालाई जस्तो अरूलाई नपरोस्’
छोरो निःशब्द भयो ।
उसलाई सोधिएको प्रश्न गाह्रो थिएन । तर जवाफ दिन नसकेर आफ्नो छोरो निःशब्द भएको देख्दा बाबु भावुक बने । जिन्दगीमा त्यति भावुक सायदै कहिले बनेका थिए होला । त्यति नराम्रो सायदै महसुस भएको थियो होला ।
प्रश्न उनको बारेमा सोधिएको थियो । तर पनि छोरालाई भन्न आएन । आफ्नो बाबुको बारेमा छोरो त्यति अलमल्ल सायदै कहिल्यै भएको थियो होला ।
दुई वर्ष अगाडिको कुरा हो । उनको छोराको अनलाइन कक्षा हुँदै थियो । त्यसै बेला शिक्षकले सोधेका थिए ‘आमा के गर्नुहुन्छ ?’
‘डाक्टर हुनुहुन्छ ।’ छोराले सजिलै जवाफ दिएको थियो ।
‘अनि बाबु ?’
विमल (नाम परिवर्तन) ले त्यतिबेलासम्म लागूपदार्थ सेवन गर्न छोडिसकेका थिए । त्यसबाट मुक्त भएर यही क्षेत्रमा काम गर्न थालिसकेका थिए । लागूपदार्थ सेवनको सिकारबाट मुक्त भई समाजमा प्रतिष्ठित जागिरमा संलग्न नभएकालेनै उनका छोराले उनको बारेमा केही भन्न सकेन । छोराका अन्य सबै साथीहरूले ‘मेरा बाबु फलानो फलानो’ भनेको सुनिरहेका आफ्नो छोरा ट्वाल्ल परेको देख्दा उनलाई निकै नराम्ररी मन घोचेको थियो ।
त्यति नराम्रो विमललाई लागूपदार्थको कुलतमा फस्दै छु भन्ने बोध भएको बेला पनि लागेको थिएन होला ।
+++++
विमल त्यस बेला १४ वर्षको मात्र थिए । चुरोट सेवन बाट सुरु भएको लत बिस्तारै साथीहरूको लहैलहै मा लागेर लागुऔषधको लतमा बढ्दै गयो । उनका साथीहरू “ब्राउन सुगर” भन्ने लागूपदार्थ समेत सेवन गर्दथे । त्यसमै सबै पैसा मास्थे । ‘तैँले खाने दिन पर्खिरहेको छौँ’ उनलाई यस्तै भन्ने गर्थे । साथीहरूले पटक पटक गरेको आग्रह उनले लामो समय नकार्न सकेनन् । कि त साथीभाइ छोड्नुपर्यो कि त उनीहरूको आग्रह मान्नुपर्यो ।
विमलले एकपटक त्यसको स्वाद चाखेमा अर्को पटक पक्कै पनि पैसा जुटाएर खान खोज्छ भन्ने उनीहरूलाई थाहा थियो । त्यसपछि उनले जुटाएको पैसाले आफू पनि केही गर्न पाइन्छ भन्ने उनीहरूलाई लागेको थियो । साथीहरूले सोचेको जस्तै भयो । एकदिन विमलले ब्राउन सुगर लिए ।
पहिलो पटक लागुऔषध सेवन गर्दा विमललाई निकै टाउको दुखेको थियो । दोस्रो र तेस्रो पटक देखि दुख्न कम भयो अनि साथीहरूले भनेको जस्तै चरम आनन्द महसुस हुन थाल्यो । त्यहाँ देखि विमलले ७/८ महिना सम्म एक दिन पनि नछुटाई सेवन गर्दा लत बसेको पनि पत्तो पाएनन् ।
विमल भन्छन्, ‘यसरी लागुऔषधको सेवन गर्दा जिन्दगीमा भएभरका अनेकौँ समस्या र तनाव बाट मुक्त भएको झैँ लाग्थ्यो । जिन्दगी एकदम रमाइलो लाग्थ्यो’ ।
यसरी गर्न नहुने काम गरिरहँदा विमललाई चरम आनन्द मात्र नभई म त खतरा हो, म जस्तो मान्छे अरू कोही छैन भने झैँ महसुस हुन्थ्यो । आफूले केही ठुलो गल्ती गर्दै छु जस्तो चाहिँ कतैबाट पनि महसुस हुँदैन थियो । जिन्दगी यसैगरि रमाइले गर्दै बिताउँछु भन्ने मनस्थिति भइसकेको थियो ।
‘साथीहरूको प्रभाव थिएन भने पनि लागूपदार्थ प्रतिको कौतुहलताका कारण म आफै भए पनि खोजेर चाखेरै छाड्थेँ होला’ अहिले उनी त्यो बेलालाई सम्झिन्छन् । खुल्दुलीले मान्छेलाई कसरी लतमा तान्ने रहेछ भन्ने बुझिसकेका छन् ।
पहिलोपल्ट चाखेको केही समयमा नै उनी ब्राउन सुगर र नाइट्रोजन नामक लागुऔषधको लतमा फसिसकेका थिए । यो करिब सन् १९९८ तिरको कुरा हो ।
उनी ब्राउन सुगर विभिन्न डिलरहरू बाट मगाउँथे भने नाइट्रोजन चाहिँ फार्मेसिमा चिनेका मान्छे सँग कुरा मिलाएर अनि अलि बढी पैसा तिरेर किन्ने गर्थे ।
घरका सदस्यहरूलाई पनि छोराको यस्तो कर्तुतको अत्तोपत्तो थिएन । तर जब घरखर्चको लागि भनेर छुट्टाइएको पैसा दिनदिनै घट्न थाल्यो तब घरका सदस्यलाई छोरा माथि शङ्का उत्पत्ति हुन थाल्यो ।
उनीहरूलाई थाहा हुन्जेलसम्ममा उनको लत निक्कै बढिसकेको थियो । एक दिन खान नपाउँदा पानी बिनाको माछा झैँ छटपटाउन थालिसकेका थिए । त्यति मात्र नभई खुट्टा पोल्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने जस्ता शारीरिक पिडा पनि महसुस हुन सुरु भएको थियो ।
घरका मान्छेले उनलाई मनोचिकित्सककहाँ लगे । त्यसपछि २००२ सालमा आश्रा सुधार केन्द्रमा साढे ४ महिना बसे । केन्द्रमा बसे पनि विमलको मस्तिष्कमा ड्रग्स छोड्ने मनस्थिति छँदै थिएन । केन्द्रले ३ महिनामा एक चोटि एक दिनको लागि घर पठाइदिन्थ्यो । त्यही मौकामा उनी पुरानो डिलरसँग कुरा मिलाएर सेवन गरिहाल्थे । तीन महिना पछि खान पाउँदा उनलाई बल्ल बाँचे भनेको जस्तो हुन्थ्यो ।
आश्रा सुधार केन्द्रबाट भनेजस्तो सुधार नभएपछि सन् २००५ मा उनी रिचमन्ड फेलोसिप नेपाल, कीर्तिपुरमा आइपुगे । यहाँका सुरुका दिन पनि एकदम मुस्किलले बिते । बाच्न मन पटक्कै लाग्दैनथ्यो । खाली कसरी पुरानो लतलाई पाउने होला जस्तो हुन्थ्यो । कहिलेकाहीँ रातको बेला मरे नि हुन्थ्यो झैँ लाग्थ्यो ।
लागुऔषध सेवन गरेको मान्छेको स्वास्थ्य निकै खराब भएको हुन्छ । रिचमन्ड फेलोसिप नेपालमा सुरुको एक महिना शारीरिक तन्दुरुस्तीमा ध्यान दिइन्छ । दोस्रो महिनामा परामर्श दिइन्छ, उनीहरूका कुरा सुनिन्छ, सम्झाइन्छ र बुझाइन्छ ।
विमललाई पनि घर र करियरको बारेमा बयान गरी सम्झाइ बुझाइ गरियो । उनको दिमागमा त्यो कुरा सम्झिँदा केही न केही प्रभाव पर्न थाल्यो ।
तेस्रो महिनामा अध्यात्म सम्बन्धी पढाउँदै ध्यान, योगा आदि गराउँदै विवेकशील बन्न प्रेरित गरियो । ४ महिना पछि रिचमन्डकै कुनै सानो सानो काम गर्न लगाइयो ।
कसैलाई बारी सम्बन्धी काम, कसैलाई रासन सम्बन्धी काम । विमललाई मेडिकल सम्बन्धी काम भाग लगाइएको थियो । औषधी बाँड्ने, डाक्टर आउँदा डाक्टरको छेउमा बस्ने । डाक्टरले अरूलाई यस्तो खानु भनेको बेला टिपोट गर्ने आदि ।
त्यस्तो गर्दै गर्दा जिम्मेवारी फर्किन थाल्यो । लागूपदार्थ सम्झिएर हुने चन्चले मन स्थिर हुन थाल्यो । आफूले केही राम्रो काम गरे झैँ लाग्न थाल्यो । आत्मविश्वास बढ्न थाल्यो ।
विमल चार महिना पछि डिस्चार्ज भएर पहिलोपल्ट दुई हप्ताको लागि घर गए ।
घरमा सोचेजस्तो भएन । के गरम कसो गरम लागिरह्यो । जिउ नै अल्छी भयो ।
समाजमा प्रतिष्ठित जागिर नखाएको भनेर आफ्नै आमाले समेत उनलाई ‘तैँले केही नगर्ने भइस् है’ भनेर भनिरहनुभयो । आमाको मुखबाट यस्तो सुनिराख्दा विमललाई म त बेकार नै रहेछु जस्तो महसुस हुन्थ्यो । दुई हप्ता बल्लबल्ल कट्यो ।
डिस्चार्ज भएर घर फर्किदा विमललाई समाजले अझै स्वीकार नगरेको झैँ महसुस भएको थियो । साथीहरू र आफन्त भेट्न अप्ठ्यारो लाग्थ्यो । ‘पारिवारिक भेटघाट हुँदा आफन्त सँग आँखा जुधिरहँदा ती आँखाहरूले मलाइ तुच्छ नजरले हेरेको र अनेकौँ आलोचना गरेको महसुस गर्थे’ उनी सम्झिन्छन् ।
उनी पुनः रिचमण्ड नै फर्किए ।
पुनः मेडिकलको काम समाल्न थाले । त्यसरी राम्रो काम गर्दा उनी अरूबाट राम्रो प्रतिक्रिया पाउने गर्थे । त्यसले उनको आत्मविश्वास बढायो । आफू पनि केही गर्न सक्दो रहेछु भन्ने आँट आयो । आफ्नो केही महत्त्व रहेछ भन्ने महसुस भयो ।
उनी त्यसपछि निरन्तर रिचमण्डमै स्टाफ भएर काम गरिरहेका छन् ।
लागुऔषधको लत बाट छुटकारा पाएपछि उनी रिचमन्डमै स्टाफ भएर काम गरिरहेका छन् । कुनै बेला आफू आएर लतबाट मुक्त हुन सङ्घर्ष गरेको ठाउँमा अरूलाई सुधार्न लागिपरिरहेका छन् । त्यसरी काम गरिरहँदा उनलाई खुसी र गर्व लागेर आउँछ । रिचमन्डमा सुधारका लागि भर्ना भएर आएका अन्य व्यक्तिहरूलाई देख्दा यिनीहरूको भविष्य बिग्रन दिन्न, यिनीहरूलाई चाडै सुधार्छु भन्ने भइरहन्छ ।
आफैँ पनि त्यहाँको अवस्था भोगेर आएकाले उनी त्यहाँको वातावरणलाई सकेसम्म सुन्दर बनाउन लागिपरिरहन्छन् । लतलाई छोड्न सघाउने ठाउँ भएकाले त्यसको राम्रो वातावरणले सुधार चाँडै हुने उनले बुझेका छन् ।
+++++
कुनै बेलाको विमल जस्तै २४ वर्षीय आकाश (नाम परिवर्तन) पनि लागुऔषधको लतमा फसेका थिए । रिचमन्डमा भर्ना हुनुभन्दा अगाडी अर्कै सुधार केन्द्रमा थिए । उनी सुधार केन्द्रको लापरबाहीले गर्दा केन्द्रभित्रै पुनः दुर्व्यसनीमा फस्न गएका थिए ।
केही समयदेखि रिचमन्डमा भर्ना भएर अहिले उनी सुधारको प्रक्रियामा छन् । अन्य सुधार केन्द्रमा केवल चारतिरको पर्खालभित्र थुनिएर राखिएकोमा आकाशलाई रिचमन्डमा वरिपरिको वातावरणमा डुल्न पाइने, मर्निङ् वाक गर्न पाइने भएकाले आनन्द लाग्छ । रिचमन्डमा कुटपिट नगरेको उनले बताए । भने ‘यहाँको वातावरण राम्रो छ । स्टाफहरू साथी जस्तै छन् । प्रेरक कक्षाहरू सुनाइन्छ । खानपिन पनि राम्रो छ ।’
‘हाम्रो समाजमा अझै पनि सुधार भएकाहरूलाई हेर्न राम्रो नजर बनिसकेको छैन । त्यस्तो वातावरण बनाउन हामी सबै मिलेर काम गर्नुपर्छ ।’ विमलले थपे । अनि भने,
‘अनि मेरो छोरालाई म के गर्छु भन्न गाह्रो भएजस्तो अरूलाई नपरोस् ।’