नियमित परीक्षणले किड्नी ड्यामेज हुनबाट जोगिन्छ (मृगौला रोग विशेषज्ञसँग अन्तरवार्ता)
विदेशबाट फर्किएकाहरूमा मृगौला समस्या
मृगौला सम्बन्धी समस्या पछिल्लो समय युवा पुस्ताहरूमा त्यसमा पनि वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरूमा पनि देखिँदै गएको छ । विराट मेडिकल कलेजमा पछिल्ला दिनहरूमा वैदेशिक रोजगारीमा गएका र फर्किएर आएका ११ जनाको किड्नी बिग्रिएर अहिले डायलिसिस भईरहेको छ । अहिलेसम्मको विभिन्न अनुसन्धानहरूबाट किड्नी फेलियरको कारण भनेको डायबिटिज, ब्लड प्रेसर (उच्च रक्तचाप), वंशाणु, किड्नीमा पानीका फोकाहरू देखिनु, क्षणिक दुखाई कम गर्नका लागि खाइने पेन्कीलर, कृषि बालीमा प्रयोग गर्ने विषादी, उच्च तापक्रम, पानी नपाउने, उच्च तहको कार्बोहाइड्रेट हालिएको फलफूल खाईदिँदा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको किड्नीमा असर गरेको देखिन्छ । अहिले पनि विराट मेडिकल कलेजमा वैदेशिक रोजगारीबाट फर्किएर किड्नी ड्यामेज भएका ११ जनाले नियमित किड्नीको डायलिसिस गरिरहेका छन् । यसरी डायलिसिस गर्नेहरूमा ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका छन् । विराट मेडिकल कलेजमा अहिले दैनिक ६० जनाले मृगौलाको डायलिसिस गरिरहेका छन् । मृगौला अर्थात् किड्नी सम्बन्धी समस्याहरू के हुन्, किड्नी जोगाउनका लागि केके कुरामा ध्यान पर्ला ? यिनै विषयमा केन्द्रित रहेर मकालुखबरका कोशी प्रदेश संयोजक सुमन सुस्केराले विराट मेडिकल कलेजका किड्नी रोग एवम् प्रत्यारोपण विशेषज्ञ डा दिलीपकुमार साहसँग गरेको कुराकानीको सम्पादित अंश :-
मृगौलासँग सम्बन्धित समस्याहरू कसरी आउँछन्, यसको लक्षणहरु कसरी थाहा पाउने ?
मृगौलासँग सम्बन्धित रोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो एक्युटोन, जसले क्षणिक असर गर्ने खालको हुन्छ । अर्को क्रोनिक डिडिज जसले लामो समयसम्म असर गर्नसक्छ । क्रोनिक डिजिज जो पुरानो लामो समयसम्म रहने खालका हुन्छन् । क्षणिक रोगहरू भनेको के हो भन्दा एकेआई भन्छन् एक्युट किड्नी इन्जुरी भनेर हामीले हाम्रो भाषामा भन्दै आएका छौँ । तुरुन्तै ईन्सल्ट भएको भन्ने गरिएको छ। त्यसको मुख्य कारण भनेको कुनै पनि बेलामा भएको सङ्क्रमणले नै हो । भाइरल या ब्याक्टेरियाको कारणले गर्दा हुने सङ्क्रमणको कारण किड्नीमा असर गर्न सक्छ । अर्को भनेको पानीको कमीको कारण पनि किड्नीमा असर भएको देखिन्छ । गर्मी महिनामा पानी आवश्यकता अनुसार नखाने, पेन्कीलरहरु बढी खाइदिने, विभिन्न ड्रिङ्सहरु बढी खाइदिने, अलिकति आयुर्वेदिक औषधीहरू पनि यसमा देखिएको छ। यो त क्षणिक डिजिज भयो । अब क्रोनिक डिजिजको कुरा गरौँ । क्रोनिक किड्नी डिजिज भनेको के हो त भन्दा यस्तो अवस्थामा किड्नीलाई फेल नै गराउँछ । भोलीका दिनमा डाईलाईसिस या प्रत्यारोप गर्ने अवस्था ल्याउँछ । अहिलेसम्मको विभिन्न अनुसन्धानहरूबाट किड्नी फेलियरको कारण भनेको डायबिटिज नै मानिएको छ। दोस्रो भनेको ब्लड प्रेसर (उच्च रक्तचाप), त्यसपछि अरू अरू कारणहरू आउँछन् । वंशाणु, किड्नीमा पानीका फोकाहरू, स्टोन डिजिज पनि अर्को कारण हो । पाँचौँ कारण भनेको पेन्कीलर हो । क्षणिक दुखाई कम गर्नका लागि खाइने पेन्कीलर तत्काल असर नदेखिएपनि यसले पछि किड्नीमा समस्या निम्त्याउँछ । अर्को कारण भनेको हामीले कृषि बालीमा प्रयोग गर्ने विषादीहरूले अहिले पछिल्लो समय किड्नी ड्यामेज गराउने कारकको रूपमा आएको छ। देख्दा सामान्य लाग्ने तर अन्तिम कारण भनेको के हो भन्दा विदेशजाँदा स्वस्थ जाने फर्किँदा किड्नी ड्यामेज भएर आएको देखिन्छ । उच्च तापक्रम, पानी नपाउने, उच्च तहको कार्बोहाइड्रेट हालिएको फलफूल खाईदिँदा उनीहरूको किड्नीमा असर गरेको देखिन्छ । अहिले पनि विराट मेडिकल कलेजमा वैदेशिक रोजगारीबाट फर्किएर किड्नी ड्यामेज भएका ११ जनाले नियमित किड्नीको डायलिसिस गरिरहनु भएको छ। यसरी डायलिसिस गर्नेहरूमा ३० वर्षदेखि ५५ वर्षसम्मको उमेर समूहका रहेका हुनुहुन्छ । म के सन्देश दिन खोजिरहेको छु भने, तपाई जो कोही बाहिर विदेश जाँदै हुनुहुन्छ भने आफ्नो स्वास्थ्य परीक्षण गराएर गएपनि कस्तो मौसम, कहाँ , कस्तो वातावरणमा काम गर्ने हो भन्ने कुरा थाहा पाएर मात्र जानु होला । अहिले त सामान्य लाग्न सक्ला तर पछि जब समस्या आउँछ त्यो बेलाको पीडा निक्कै नै भयावह हुन्छ । डायबिटिज, उच्च रक्तचाप, वंशाणु रोग (जेनेटिक डिजिज), सिस्टको डिजिज, युरोजोजिकल कारण र विभिन्न औषधी पेन्कीलरहरु लगायतका कारणले किड्नीलाई भोलीका दिनमा पूर्ण फेल गराउन सक्छ ।
किड्नीमा संक्रमण भएको छ भन्ने कुरा कसरी थाहा पाउने ?
किड्नीले मुटुको १० देखि २० प्रतिशत रगत लिन्छ । किड्नीमा मुख्य ३ वटा कुराहरू जोडिएर रहेका हुन्छन् । एउटा ट्युब भन्छौँ, अर्को भन्छौँ नसाहरू जालो रहेको हुन्छ, अर्को भनेको किड्नीको माथि रहेको फिल्टर गराउने जसलाई छानी भन्छ अर्थात् प्याराकाईमाको एउटा संरचना रहेको हुन्छ । किड्नी ७०–८० प्रतिशत ड्यामेज नहुँदासम्म यसले लक्षण दिँदैन । जब लक्षण आउँदा त्यो बेलासम्म किड्नी ७०–८० प्रतिशतसम्म ड्यामेज भइसकेको हुन्छ । यो भन्दा अगाडी नै कुनै माध्यमबाट थाहा पायौँ, कि किड्नीमा समस्या छ भने त्यसलाई रोकथाम गर्न सकिन्छ । कुनैपनि मानिसको आफ्नो घर परिवारमा जोखिम तत्त्व रहेको हुन्छ । जोखिमको आधार केलाई मान्ने त भन्ने पनि होला । जोखिम भनेको तपाईँको घरमा सुगर, प्रेसरका रोगीहरू हुनसक्नु हुन्छ, किड्नी सम्बन्धी कुनै वंशाणु रोगहरू छ भने यस्तो अवस्थामा बर्सेनि किड्नीको डाक्टरहरूसँग परामर्श गर्नुपर्छ । यसरी परीक्षण गर्नुको कारण भनेको किड्नी पूर्ण ड्यामेज हुन भन्दा अगाडी नै थाहा पाउन सकियोस् भनेर भनिएको हो । अहिले हामीले विराट मेडिकल कलेजमा पनि वार्षिक रूपमा उपचार गर्न चाहने या नयाँ त्यस्ता कोही किड्नी सम्बन्धी उपचार गर्न इच्छा व्यक्त गर्नेहरुको लागि हामीले वार्षिक प्रोफाइल बनाएर राखेका छौँ। किड्नी प्रोफाइलमा ब्लडको अवस्था, पिसाबमा प्रोटिनको अवस्था, पिसाबमा ब्लडको अवस्थालाई पनि परीक्षणको क्रममा हेर्ने गरिन्छ । पिसाबमा पनि ब्लड २ खालको हुन्छ । एउटा भिजिबल अर्थात् आँखाले रातो देखिने, अर्को भनेको सबैभन्दा कम अर्थात् ७० देखि ८० प्रतिशतमा मात्र हुन्छ जुन ब्लड आँखाले देखिँदैन । माईक्रोस्कोपबाट हेर्दा मात्र थाहा हुन्छ । यी दुवै कुरालाई हामीले किड्नी स्कृनिङ प्रोफाइलमा राखेका हुन्छाैँ । निरन्तर परीक्षणले नै सबैभन्दा सजिलै किड्नी समस्याको बारेमा थाहा पाउन सकिन्छ । दोस्रो कुरा भनेको कुनैपनि मन्छेलाई ब्लड प्रेसर विशेषगरी ५० वर्ष भन्दा अगाडी नै भएको छ भने त्यस्ता खालका बिरामीले किड्नीका डाक्टरलाई भेट्नै पर्ने हुन्छ । ब्लड प्रेसरको जतिपनि समस्याहरू छन् त्यसको कारण भनेको ८० प्रतिशत किड्नीका कारणले नै हुन्छ । कुनैपनि बिरामीलाई ब्लड प्रेसर छ, ३-४ वटा औषधी निरन्तरता चलाई रहेको छ भनेपनि किड्नीको डाक्टरसँग परामर्श गर्नुपर्ने हुन्छ । त्यस्तै कसैको परिवारमा कसैलाई किड्नीको समस्या र रोग रहेको छ भने त्यस्तो समूह भित्रका सबैले नियमित परीक्षण गराएर किड्नी ड्यामेज हुन बाट जोगाउन सकिन्छ । रोग लागेर जानु भन्दा आफूले नै गएर परीक्षण गरेर स्वस्थ बस्नु नै उत्तम उपाय हो ।
यी त समस्या र लक्षणका कुरा भए, त्यस्तो अवस्थामा उपचार गराउन आउने बिरामीलाई अस्पतालले कस्तो सेवा दिँदै आएको छ ?
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हामीले धेरै कुराहरू गर्दै आएका छौँ । एउटा किड्नी समस्या हुनसक्ने सम्भावितहरूको स्कृनिङ गर्दै आएका छौँ । रगत परीक्षण, पिसाब परीक्षण, अल्ट्रासाउन्ड गर्ने गछौँ । गर्दा गर्दैपनि कसैको किड्नीमा समस्या देखियो भने के कारणले त्यस्तो भयो भनेर त्यसको कारण पत्ता लगाउने गरिएको छ। कतिपयलाई त थाहै नपाइ पिसाबबाट प्रोटिन गएको भेटेका छौँ । मेरो पिसाबबाट हरियो झार जस्तो गइरहेको छ भनेर आउनेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पिसाबबाट प्रोटिन गएको भनेर हामीले किड्नी बायप्सी गर्ने गछौँ । त्यो भनेको किड्नीबाट सानो मासुको टुक्रा निकालेर त्यसको जाँचको लागि पठाउँछौँ । प्रोटिन जाने रोगहरू दुनियाँमा १० हजारमा छ । तर कुन कारणले गएको छ भन्ने थाहा हुँदैन । कसलाई, कुन रोगलाई उपचार गर्ने भन्ने थाहै हुँदैन, बायोप्सी गरिसकेपनि कारणहरू थाहा हुँदैजान्छ र त्यसलाई ठिक पार्दै जाने काम हुन्छ। सामान्यतया उच्च रक्तचापका बिरामीहरू आउँदा किड्नीका डाक्टरहरू भएको ठाउँसम्म आउनु हुन्छ त्यस्तो अवस्थामा हामीले उहाँहरूलाई हेर्ने र किड्नी बायोप्सी गर्ने गरिएको छ ।
त्यसपछि हामीले बिरामीका लागि सचेतना कार्यक्रम दिने गरेका छौँ । हामीले बुकलेट मार्फत किड्नीका बिरामीलाई कसरी सावधानी अपनाउने भन्ने बारेमा जानकारी दिन्छौँ । त्यो बुकलेट पढेर बिरामीलाई कसरी सजिलो हुन्छ, के खाने, के नखाने, कहिले फओअप गर्ने, कतिपटक फलोअप गर्ने, के के कुरामा ध्यान दिने भन्ने खालका सबै जानकारी दिने काम हुन्छ । अहिले हामीले अर्को ठुलो काम भनेको किड्नीको डायलिसिसको काम गर्दै आएका छौँ । दैनिक सरदर ६० जनाको किड्नी सम्बन्धी डायलिसिस हुने गरेको छ। यो कुरा सुन्दा र भन्दा नराम्रो लाग्छ तर हामीसँग यति क्षमताको यस्तो औजार छ भन्न त पाईयो नी । हामीसँग धेरै डायलिसिसका बिरामी छन् भनेर खुसीले भनेको हैन । हामीले एक दिनमा ६० जनासम्मको डायलिसिस गरिरहेका छौँ भने हाम्रो त्यो क्षमता हो । अर्को हामीले पेटको डायलिसिस पनि गरिरहेका हुन्छौँ । डायलिसिस दुई खालको हुन्छ । एउटा मेसिनको डायलिसिस हुन्छ, रगत लिएर मेसिनको माध्यमले सफा गरेर पठाउने अर्को पेटको डायलिसिस हो । हामीले पेटमा पानी राखिदिन्छौँ, ३–४ घण्टामा त्यो पेटको पानी परिवर्तन गरिदिन्छौँ । यो प्रक्रिया दिनको ३–४ पटक निरन्तर भईरहेको हुन्छ । यसकालागि बिरामी अस्पताल आउनु पर्दैन । हामीले सानो एउटा पाइप राखिदिन्छौँ । दुई चारदिन यहीँ राखेर तालिम दिने, त्यसको प्रक्रियाको बारेमा बताउने काम गरिदिन्छौँ । कसरी गर्ने, के गर्ने, अस्पताल कहिले आउने, यसको फाइदा बेफाइदा सबै बताउँछौँ । त्यो बिरामीले पानीको माध्यमबाट उसले घरमा नै डायलिसिस गरेर आउँछ । जसलाई पेरिटोरियल डायलिसिस भनिन्छ । तेस्रो उपचार विधि भनेको किड्नी ड्रान्सप्लान्ट (मृगौला प्रत्यारोपण) हो । यो प्रक्रिया अन्त्यतै जटिल छ । किड्नी ट्रान्सप्लान्टको काम हामीले २०८२ सालसम्ममा विराट मेडिकल कलेजमा सुरु गर्दैछौँ । किन दुई वर्ष भनिरहेका छौँ भने, जनशक्तिलाई तालिम, प्रशिक्षण, सरकारबाट लिनु पर्ने अनुमतिका प्रक्रियाहरूले गर्दा अबको २ वर्ष भित्रमा किड्नी ट्रान्सप्लान्टको काम यहीँबाट सुरु हुन्छ । हामीले हाम्रो आईसीयु र सिसियुमा विशेष खालको डायलिसिस छुट्टै राखेका छौँ । कुनैपनि त्यस्ता विशेष खालका सङ्क्रमित बिरामीहरू जस्तै, हेपाटाइटिस बि, हेपाटाइटिस सी र एचआइभी जुन धेरै कम ठाउँमा डायलिसिस हुन्छ, त्यस्ता खालका बिरामीलाई विशेष व्यवस्था गरेर डायलिसिस गरिएको छ। त्यस्तै फिस्टुलाको उपचार पनि यहाँ भईरहेको छ । विश्वव्यापी रूपमा किड्नी सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सबै खालका सुविधाहरू यहाँ दिने गरिएको छ।
किड्नीका बिरामीले के कुरा खान हुन्छ र के कुरा खान हुँदैन ?
किड्नी समस्या भएका सबै खालका बिरामीलाई एउटै नियम लागु हुँदैन । कुनै पाँचवटा बिरामी उपचारको लागि आउनु भएको छ, उहाँहरूलाई एकै खालको पौष्टिक कुरा काम लाग्दैन । हरेक किड्नी सङ्क्रमणको समय, कुन चरणमा छ भन्ने फरक फरक हुन्छ । मोटामोटी समग्रमा के भन्छौँ भनेँ नुनिलो कुराहरूलाई घटाउनु पर्छ, नुनमा सोडियम भन्ने हुन्छ त्यसले पानी पनि शरीरको तान्ने र ब्लड प्रेसर पनि बढाउने काम गर्छ । एकजना मानिसले २४ घण्टामा एक चम्चा नुन भन्दा बढी प्रयोग गर्नु हुँदैन । त्यही एक चम्चा नुन, अचारदेखि दाल र तरकारीसम्मलाई पुर्याउनु पर्छ । अर्को कुरा एडेल्ट साल्ट भन्छौँ, जस्तो की सलादहरूमा माथिबाट नुन छर्केर खाने खालको कुनैपनि काम गर्नु भएन । किड्नी बिग्रिएका बिरामीहरू सबैलाई लागुहुने गरी भन्ने गरिएको एउटै कुरा भनेको सकेसम्म हरियो सागसब्जीको प्रयोगलाई घटाउनु होला । हरियो साग सब्जीमा पोटासियम भन्ने तत्त्व हुने बिग्रिएको किड्नीले पोटासियम फाल्न सक्दैन । यदि साग खानै मन छ भनेँ हरियो साग सब्जीलाई आधाघण्टा उसिनेर मात्र थोरै खान भन्ने गरिएको छ। त्यस्तै दूधको आईटमबाट बन्ने चिजहरू पनि खान हुँदैन । फस्फोरस भन्ने तत्त्व दूधबाट बनेको हुन्छ त्यो पनि त्यति धेरै खान हुँदैन, यसको प्रयोगको मात्रा पनि थोरै प्रयोग गर्न भन्ने गरेका छौँ ।