मादीका नागरिक गाउँ फर्किए १ लाख अनुदान, एकल पुरुषलाई भत्ता
मकालु खबर
२०८० असार ११ गते
पोखरा । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष गाउँ फर्किने नागरिकलाई घर बनाउन १ लाख अनुदान दिने कार्यक्रम ल्याएको छ । आगामी वर्षको बजेटमा यस्तो कार्यक्रम समेटिएको हो । उपाध्यक्ष कल्पना गुरुङले गाउँ फर्किने कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वयन गरिने बताइन् ।
मादीका अधिकांश नागरिकहरुको बसाईं अहिले पोखरा छ । २०६८ को जनगणनामा २३ हजार ५ सय रहेको जनसंख्या घटेर अहिले १६ हजार कायम भएको छ । गाउँ फर्क अभियानका साथ पालिकाले गाउँ फर्किने नागरिकलाई घर बनाउन १ लाख दिने कार्यक्रम अघि सारेको हो । पालिका अध्यक्ष देवीजंग गुरुङले पालिकाको जनसंख्या बढाउन र गाउँमै टिकाउन यस्तो कार्यक्रम ल्याएको बताए ।
‘जनसंख्या घटेर गाउँ रित्तियो । पहिले बसाई सरेर गएकाहरुलाई बसाई सरेर आउन प्रोत्साहन स्वरुप कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘यो गाउँ फर्क अभियान हो । उनीहरुलाई कृषि पेसामा पनि सहयोग गर्ने कार्यक्रम जोड्छौं । गाउँमै रहन प्रेरित गर्छौं ।’
यस्तै, ६० देखि ६८ वर्षसम्मका एकल विदुर पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम ल्याइएको छ । भत्ता कति दिने भन्ने उल्लेख छैन । यसपछि कार्यविधि निर्माण गरेर भत्ताको व्यवस्था गरिने गुरुङले बताए ।
‘महिला, दलित सबैलाई राज्यले हेरेको छ । जेष्ठ नागरिक भत्ता पनि छ । श्रीमान वितेका महिलालाई पनि हेरेको छ । तर श्रीमति वितेका पुरुषलाई कसैले हेरेन,’ उनले भने, ‘हाम्रो पनि राज्य रहेछ भन्ने सन्देश दिन यो कार्यक्रम ल्यायौं ।’ नागरिकलाई सुविधा दिने कार्यक्रमलाई प्रतिपक्षी दलले समेत समर्थन गरेका छन् । अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी एमाले नेता शिवबहादुर गुरुङ (महेन्द्र) राम्रा काममा समर्थन गर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको बताउँछन् ।
‘गलत काम गरे प्रतिवाद गर्छौं । राम्रो काम र जनतालाई सेवा हुने काममा त हाम्रो पनि समर्थन र सहयोग रहन्छ नि,’ उनले भने, ‘पार्टीका तर्फबाट जनप्रतिनिधिहरुलाई राम्रा काममा पालिकालाई सहयोग गर्न निर्देशन दिएका छौँ ।’
पालिकाले आगामी वर्ष भैंसी, गाई र बाख्रा सुत्केरी हुँदा किसानलाई भत्ता दिने कार्यक्रम ल्याएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत २० लाख विनियोजन गरिएको हो । यस्तै, सबै सामुदायिक विद्यालयमा सञ्चालित प्लस टु पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने र हलगोरु पाल्ने किसानलाई पनि अनुदान दिने घोषणा नीति तथा कार्यक्रम मार्फत गरिएको छ । मादीले आगामी वर्षको लागि ८९ करोडको बजेट ल्याएको हो ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित