कर्पोरेट पेमार्फत जेठ महिनामा रु ५० अर्बभन्दा बढीको कारोबार
मकालु खबर
२०८० असार ११ गते
काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु ५० अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । जुन कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो । गत आर्थिक वर्ष कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पे आर्थिक वर्षको जेठ मसान्तसम्म भने रु ४२१ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।
बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रूपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार सङ्ख्या दुई गुणाले वृद्धि भएको हो ।
हाल शैक्षिक संस्थाहरू, कन्स्ट्रक्शन कम्पनीहरू, ट्राभल व्यवसायीहरू, रिटेल व्यवसायीहरू लगायतका विभिन्न संस्थागत ग्राहकहरूले कर्पोरेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैङ्क वित्तीय संस्थामार्फत उक्त प्रणालीमा बैङ्क/वित्तीय संस्थाका ७ हजार ७ सयभन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएका छन् ।
एउटै प्ल्याट्फर्ममा एक भन्दा बढी बैङ्क खाताहरू लिङ्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बिमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरू उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलिटि तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुविधा रहेको छ ।
प्रणालीमा रियल टाइममा प्रति कारोबार रु.२० लाख सम्म र नन–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म गर्न सकिन्छ । उक्त प्रणालीमा व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्न आवश्यक मल्टी फ्याक्टर अथन्टीकेसन तथा अथरिजेसनको समेत उपयुक्त व्यवस्था रहेको छ । साथै व्यावसायिक ग्राहकहरूले बैङ्क खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।
मकालु खबर
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित