तथ्यांकका आधारमा नीति निर्माण गरौँ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताउनु भयो। उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताए । उनले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए ।
सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताए । उनले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरे । उनले हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राखे । उनले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको बताए ।
राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिए । २०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।