गण्डकी प्रदेशका ४ स्थानीय तहले बजेट ल्याउन सकेनन्

पोखरा । गण्डकी प्रदेशमा ४ स्थानीय तहले आगामी वर्षको बजेट ल्याउन सकेका छैनन् । कानुनतः असार १० गते सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।

तर आन्तरिक विवादका कारण प्रदेशका ८५ मध्ये ४ पालिकाले बजेट ल्याउन नसकेका हुन् । बजेट नल्याउने पालिकामा पर्वतका तीन र स्याङजाको एउटा छ । पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिका तथा स्याङजाको विरुवा गाउँपालिकाले १० गते बैठक बस्न सकेनन् ।

कांग्रेसले नेतृत्व गरेको पालिकामा एमालेले र एमालेले नेतृत्व गरेको पालिकामा कांग्रेस–माओवादीले सभा चल्न नदिएका हुन् । कांग्रेसले नेतृत्व गरेको पर्वतका तीनवटै पालिकामा एमालेका जनप्रतिनिधि सभामा उपस्थित भएनन् भने एमालेले नेतृत्व गरेको विरुवामा कांग्रेस र माओवादीका जनप्रतिनिधि उपस्थित भएनन् ।

जलजलामा एमाले जनप्रतिनिधिले सबै बजेट वडामा पठाउनुपर्ने माग राखेर सभा रोके ।

कुश्मामा पूरानो दायित्वको रकम समेत भुक्तानी दिनुपर्ने अडान एमालेको छ भने फलेवासमा अघिल्लो सरकारले राखेका सबै करार कर्मचारीलाई निरन्तरता दिनुपर्ने माग राखेको छ । क्लिन फलेवास, ग्रीन फलेवास नामको कार्यक्रममा अघिल्लो कार्यकालका जनप्रतिनिधिले १२ जना कर्मचारी करारमा नियुक्त गरेका थिए ।

उक्त कर्मचारीलाई राखेर अनावश्यक दायित्व सिर्जना भएको महालेखा परीक्षकले प्रश्न उठाएको छ । विरुवामा भने कांग्रेस माओवादीले पूराना करार कर्मचारी हटाउनुपर्ने माग राखे । पालिका अध्यक्ष सूर्य कुवँर भने अहिले सबै कर्मचारी हटाउँदा सेवा प्रवाह प्रभावित हुने बताउँछन् ।

सबै पालिकाको सभामा सहमति नजुटेका कारण अन्योल भएको छ । ५८ मध्ये ५६ गाउँपालिका, २६ मध्ये २४ नगरपालिका र १ महानगरपालिकाले बजेट ल्याइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *