काठमाडौँका स्वबासीहरुलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाइएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौँका स्वबासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडी बढाइएको बताएकी छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौँमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाइएको बताएका हुन् । उनले भूमिहीनहरूलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताइन् ।
उनले भने ‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ । यद्यपी काठमाडौँमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरू धेरै छन् । काठमाडौँमा धेरै स्ववासीको घरको लालपुर्जा छैन । अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो । आखिर यतिका वर्षसम्म तिनलाई लालपुर्जा विहीन किन र कसरी बनाइयो ? आज स्ववासीको अवस्था भयावह रहेको जानकारी पनि म सम्माननीय सभामुख महोदयलाई गराउन चाहन्छु । बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन । हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडी बढाउने निर्णय गरेको छ । राष्ट्रिय भूमि आयोग र जिल्लास्थित भूमि आयोगले कार्य अगाडी बढाएको जानकारी गराउन चाहन्छु समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय गठन भई कार्य भइरहेको र हालसम्म १२ वटा समस्याग्रस्त सहकारी मध्ये दुईवटा सहकारीको समस्या समाधान भइसकेको र अन्य केही पनि समाधान हुन उन्मुख छन् ।’
उनले सहकारी पीडितहरू आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराइन् ।
उनले भने ‘सहकारीहरू सहकारीका प्रचलित मूल्य, मान्यता एवं सिद्धान्तहरू तथा सहकारी ऐन, नियम बमोजिम नै खडा गरिनेछ । अनुगमन, नियमन गरी मूल्याङ्कन समेत गरिनेछ । त्यस्तै हाम्रो मन्त्रालयले काम गरिरहेको गरिब घर, परिवार पहिचान कार्यक्रममार्फत गरिब घर, परिवारको पहिचानपश्चात उपलब्ध गराइने राज्य सुविधा, परिचयपत्रका आधारमा गरिबहरूलाई राज्यले सहुलियतपूर्ण सेवा, सुविधा उपलब्ध गराउनका लागि परिचयपत्र वितरण गरिनेपनि जानकारी गराउन चाहन्छु । अहिले सहकारी पीडितहरू धर्नामा बसेका छन् । सहकारी पीडितहरूले आफ्नो पैसा आफैँले पाएका छैनन् । तिनले छिटोभन्दा छिटो आफ्नो पैसा फिर्ता पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सहकारी संस्थालाई पनि कसरी दिगो र बलियो बनाउने हो यसको विस्तृत अध्ययन, अनुसन्धानको प्रक्रिया पनि अगाडी बढाइसकेको जानकारी गराउन चाहन्छु ।’
उनले सहकारी संस्थाहरूलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडी बढेको बताइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *