महिलाले म छु भनेर दाबी गर्नु पनि एक किसिमको क्रान्ति हो : सिरियन कवि मरम अल मश्री
मरम अल मश्री सिरियन कवि हुन् तर अहिले पेरिसमा निर्वासित जीवन बिताइरहेकी छन् । ब्राडफोर्डमा बसोबास गर्दै आएकी इरानी कवि समर शाहदाद उनलाई भेट्न जान्छिन् । यी दुई महिला कविका केही समानता छन् । दुवै आफ्नो मातृभूमिको भूगोलमा मात्र नभई कवितामा पनि आफ्नो पहिचान खोजिरहेका छन् । दुवै निर्वासित जीवन बिताइरहेका छन् । दुई देशका निर्वासित महिला कवि देश, कविता, महिला शरीर, भाषा आदि विषयमा गफ गर्न बसे भने कसरी बस्छन् । पढ्नुहोस् किसेट्ना वेबसाइटमा प्रकाशित अन्तर्वार्ताको सम्पादित अंश मकालुखबरको लागि होहंसा खड्का र सुरज सुवेदीको अनुवादमा ।
समर: मलाई तपाईँको कविता खुब मन पर्छ । तपाईँलाई माया गर्ने भएर होला तपाईँ प्रेरणादायी भएको कुरा मैले धेरैतिर भनेको छु ।
मरम: यति राम्रा शब्दको जवाफ कसरी दिऊँ ? धन्यवाद है । म आफूले माया गर्ने अनि मेरो कवितालाई माया गर्ने मान्छेलाई सुन्न खुब मनपराउँछु । यहाँ यसरी भेट्न बोलाउनुभएकोमा धेरै धेरै धन्यवाद ।
समर : कुरा मिल्यो उसो भा !
मरम: भौगोलिक रूपमा धेरै टाढाको भएपनि हामी निकट नै छौँ । दूरीलाई मेटाइदिने इन्टरनेटलाई पनि धन्यवाद ।
समर : जब पनि म तपाईँको नाम सुन्छु, मेरो मस्तिष्कमा पहिलो चित्र तपाईँ एक निर्वासित महिला कवि हो भन्ने आउँछ । अनि एक महिला पनि । तपाईँले त्यो दुवै परिचयलाई आफ्ना कवितामा पनि ल्याउनुभएको छ । तपाईँ आफ्नो शरीरलाई आफ्नो हो भन्नुहुन्छ । केवल आफ्नो । अनि आफ्नो शरीरप्रति सचेत मात्र नभएर त्यस शरीरका चाहना र शारीरिक अभिलाषाको बारेमा बोल्न पनि हिचकिचाउनुहुन्न । हामी दुवै यस्तो देशबाट आएका छौँ जहाँ महिला र तीनको शरीरलाई लुकाइनुपर्ने बस्तुको रूपमा हेरिन्छ । तपाईँ भने आफ्नो शरीरलाई यस्तरी अगाडि ल्याउनुहुन्छ ।
मरम: मलाई लाग्छ २१ औं शताब्दीमा महिला हुनु र त्यसमाथि कवि बन्नु आफैमा ठुलो चुनौती हो । महिला हौँ भनेर दाबी गर्नधरि हामीलाई गाह्रो छ । मलाई लाग्छ मेरो लेखन र कविताले मलाई हामी के हौँ, म के हुँ, अनि हाम्रो अधिकारहरू के के छन् भनेर दाबी गर्ने मौका दिन्छ । महिला बन्न सजिलो छैन, र महिला कवि बन्न त झनै गाह्रो छ ।
समर: तपाईँले आफ्नो एउटा अन्तर्वार्तामा ‘महिला हुनु भनेको क्रान्ति हो’ भन्नुभएको थियो, जुन सत्य हो । मलाई मनपर्ने बौद्धिक व्यक्ति जर्मेन ग्रीरले आफ्नो पुस्तक ‘द फिमेल युनक’ मा ‘स्वतन्त्रता आफैमा कमजोर/नाजुक छ त्यसैले यसको सुरक्षा गर्नुपर्छ । क्षणिक उपायको लागि यसको बलिदान दिनु भनेको यसलाई धोका दिनु सरी हो ।’ भनेर लेखेकी छिन् । मलाई लाग्छ तपाईँ आफ्नो लैङ्गिकता, अनि शरीरलाई धोका दिन सक्नुहुन्न । र त्यो आफैमा क्रान्तिकारी कुरा हो । ठिकै भनेँ हैन?
मरम: हो नि । मलाई लाग्छ आफ्नो पहिलो कविता लेख्दादेखि नै म क्रान्तिकारी महिला थिएँ । महिलाले म छु भनेर दाबी गर्नु पनि एक किसिमको क्रान्ति हो । प्रेममा हुनु पनि क्रान्ति हो । सम्बन्धविच्छेद गर्नु पनि क्रान्ति नै गर्नु हो । मेरो लागि मैले गरेका यी सबै काम क्रान्ति हुन् । त्यसैले, म आफैलाई धोका दिन सक्दिन, र म, म जस्तै महिलाहरूलाई त झनै धोका दिन सक्दिन । त्यसैले महिलाको आवाज उठाउन म यस्तो लडाइँमा लागिरहेको छु ।
समर: तपाईँलाई सुन्दा म इरानी कवि फरोफ फारोखजादलाई सम्झिन्छु । उनले एक महिला भएकोमा, आफ्नो इच्छाको बारेमा बोलेकोमा अनि लेखेकोले ठुलो मूल्य चुकाउनु पर्यो । उनको कविता, ‘सिन’ अर्थात् ‘पाप’ ले एक यस्तो समयको वर्णन गर्दछ जतिबेला समाज सङ्कुचित मानसिकताले भरिएको थियो । तपाईँका कविताहरू पढ्दा म एउटी महिला देख्छु जो प्रेम, अझ शारीरिक रूपमा नै प्रेम व्यक्त गर्ने कलामा पूर्ण रूपमा समाहित भएकी छन् । लेखनमा तपाईँको शरीर कतै पनि छुटेको छैन । त्यहाँ एक महिलाले म माया गर्छु, म माया दिन चाहन्छु, म माया प्राप्त गर्न चाहन्छु; म स्वीकार गर्न चाहन्छु, म अस्वीकार गर्न चाहन्छु, मेरो शरीर माथि मेरो पूर्ण नियन्त्रण छ किनभने यो मेरो पनि अनुभवको ठुलो हिस्सा हो, मेरो अस्तित्व हो, भन्ने हिम्मत राख्छिन् ।
मरम: लामो समयदेखि महिलाहरूलाई बोल्नबाट रोकिएको छ । सडकमा बोल्न धरि उनीहरू वञ्चित पारिएका छन् । उनीहरू लुकेका छन् । महिलाहरू सधैँ एक निश्चित तरिकामा बाँधिएका छन् । साहित्यमै हेर्ने हो भने, कविहरू छन् तर महिला कविहरू धेरै छैनन् । अहिले इन्टरनेटका कारण धेरै महिला कविहरूलाई सहज भएको भएपनि प्रकाशन गर्न वा र प्रकाशित गर्ने हिम्मत गर्न ठुलो साहस चाहिन्छ । आफ्नो वास्तविक नाम प्रयोग नगरी, अनि परिवारका सदस्यहरूले दोष नलाउन् भनेर नक्कली नाम राखेर कविता प्रकाशित गर्ने थुप्रै महिला दिदीबहिनीलाई मैले चिनेकी छु । मलाई लाग्छ महिलाहरू निरन्तर शासित छन् । के बाट भन्ने कुरा मलाई अङ्ग्रेजीमा ठ्याक्कै भन्न आएन । तर उनीहरू जहिल्यै लुक्नुपरेको छ । उनीहरूलाई जहिल्यै निषेध गरिएको छ । लेख्न सक्ने, बोल्न सक्ने, म पनि छु भनेर अस्थित्वको वकालत गर्न सक्ने महिला खतरनाक महिला हुन् भन्ने ठानिन्छ । त्यसैले, हामी खतरनाक हौँ । आफ्नो स्वतन्त्रता, बिचारको उन्मुक्तता, आफ्नो शरीर अनि आफ्नो इच्छाको बारेमा लेख्ने सबै महिलाहरूले पुरुषहरूलाई डर देखाइदिन्छन् । जीवनलाई राम्रो बनाउनको लागि लडिरहेका हामी असल सिपाहीहरू जस्तै हौँ । हामी पुरुष शक्ति र महिला शक्ति बिच सन्तुलन खोज्न चाहन्छौँ । युद्ध गर्ने हाम्रो चाहना होइन, हामी केवल यो सुन्दर संसारमा ठाउँ बनाउन चाहन्छौँ ।
समर: तपाईँ महिला हुनुहुन्छ अनि तपाईँले कविता लेख्न पुग्नुभयो । महिला हुनुको प्रभाव निस्सन्देह रूपमा तपाईँको कवितामा पनि परेको छ । तपाईँ पनि म जस्तै आफ्नो जन्म स्थान देखि टाढा बसिरहनुभएको छ । पक्कै पनि, हामी प्रत्येकलाई भाषाको महत्त्व थाहा छ र यसले हामीलाई एक अर्कामा जोड्न, एक अर्कासँग अन्तरक्रिया गर्न अनि म तिनीहरूलाई माया गर्छु, हामी उनीहरूलाई माया गर्छौँ, हामी उदास छौँ, हामी भोका छौँ जस्ता कुरा अभिव्यक्त गर्न पनि ठुलो भूमिका खेलिरहेको हुन्छ । आफ्नो भाषा र शब्दप्रति एक कविको घनिष्ठ सम्बन्ध हुनुपर्छ हैन त ।
मरम: हो ।
समर: अनि यदि तपाई आफ्नो जन्म स्थानबाट टाढा हुनुहुन्छ भने, तपाईँलाई आफ्नो भाषामा के भइरहेको छ भन्नेबारेमा धेरै कुरा ख्याल हुन्छ । म ‘मातृभाषा’ भन्ने शब्द प्रयोग गर्दिनँ । मातृभाषा भनेको के हो ? मेरो पहिलो भाषा फारसी थियो तर अहिले म यो धेरै बोल्दिन । म अहिले अङ्ग्रेजी लाई मेरो पहिलो भाषा मान्छु । त्यो भाषा जसमा मैले आफनो घर पाएँ । तपाईँको भाषा के हो ? कुन भाषाले तपाईँलाई घरमा भएको महसुस गराउँछ ?
मरम: धेरै राम्रो प्रश्न सोध्नुभयो, किनभने म अङ्ग्रेजी र अरबी दुबैमा लेख्छु र तेह्र वर्षसम्म मैले कविता लेखिनँ । मलाई लाग्छ अरबी भाषा प्रयोग गर्दिनँ भनेर मैले एकप्रकारले निर्णय नै लिएको थिएँ किनकि मेरो संस्कृति र धर्मप्रति म रिसाएको थिएँ । तपाईँलाई थाहा छ कि छैन मेरो अठार महिनाको सानो बच्चाको अपहरण भएको थियो । (उनले फ्रान्समा बिहे गरेका सिरियन श्रीमान् उनको बच्चालाई लिएर सिरिया गएका थिए । उनले १३ वर्षसम्म छोरालाई भेट्न पाएकी थिइनन् ।) त्यसैले आफ्नो रिस देखाउने बाटो नै चुपचाप बस्नु थियो । त्यो भाषामा नलेख्नु जसले मानिसहरूलाई खराब सोच्ने बनाउँछ ।
मेरो पूर्व पति पनि सिरियाली भएकाले मैले संसारलाई अवज्ञा गर्ने मेरो तरिका नै भाषा थियो । चौध वर्षसम्म मैले कविता लेखिनँ तर पछि अरबीमा पुनर्लेखन गरेँ किनभने मैले जानेको एकमात्र भाषा त्यो थियो । मेरो मातृभाषा भएकोले होइन । यी सबै तपाईँको भावनालाई व्यक्त गर्ने तरिका हुन् । आफूले देखेका कुरा भन्ने अनि संसारसँगको आफ्नो सम्बन्धलाई बुझाउने तरिका हुन् । अहिले म फ्रान्समा बस्ने भएकाले, फ्रेन्चमा लेख्छु, र म चाहन्छु कि मेरो वरपरका मानिसहरूले म कस्तो महिला हुँ भनेर थाहा पाउन् । किनकि अरूको भाषामा लेख्दा म आफू कुन मान्छे हुँ भनेर पनि चिन्न पाउँछु ।
हामीभित्र भएका सबै भाषाहरूलाई केलाउनु र फरक छुट्याउनु सजिलो काम हैन । हुनसक्छ हामी सबैले लेख्ने भाषा केवल ‘कविता’ हो ।
समर: म त्यो देशबाट आएको हुँ जहाँ हामीसँग परम्परागत फारसी साहित्य छ, र सँगै आधुनिक साहित्यको नयाँ लहर पनि छ । तपाईँले सोचेको जस्तो महिला कवि बन्न र जे मन लाग्छ त्यो ढुक्कले लेख्ने हुन अरबी कविता बाट ठाडिनु परेको हो ?
मरम: मेरो लेखने शैली अरबी साहित्य जस्तो लाग्दैन किनकि म पश्चिमी लेखकहरू, अपरिचितहरू र विदेशी लेखकहरूबाट बडी प्रेरित छु । मैले धेरै पढ्ने कविहरू अरबी हैनन् । मुतानाब्बी, एडोनिसका कविताहरू होइनन् । मेरो एकमात्र स्रोत त बब डिलन, द बिटल्स र एन्ड्रि चेडिड थिए र उनीहरू सबै विदेशी हुन् । त्यसैले मेरो भाषा अरूले लेखेका सबै कविताहरू भन्दा फरक भएका छन् । त्यसैले सिरियालीहरूले भने यो कवि को हो ? यो त विद्रोही हो । किनकि यसले सारै छोटो लेख्छे । कुनै अनावश्यक शब्द थुपार्दिन । यति सजिलो नि लेख्ने हो । यति अनौठो पनि ? यो हाम्री कवि हैन ।
मलाई लाग्छ मेरो भाषा अरब साहित्यको सबै भारीबाट मुक्त छ । त्यसैले पनि हुनसक्छ मैले केही असामान्य लेखेँ । चुनौतीपूर्ण लेखेँ ।
समर: मेरो बिचारमा यदि कोही विस्थापित कवि बन्छ भने उसले आफ्नै भाषाको आविष्कार गर्छ । आफ्नो पहिचान परिभाषित गर्छ । त्यस्तो गर्नैपर्छ किनकि अर्को विकल्पै हुँदैन ।
मरम: हो नि ।
समर: र मलाई लाग्छ तपाईँले आफ्नो भाषा आविष्कार गरिसक्नुभएको छ । खासमा को कुन भाषा बोल्छ भन्ने कुरा पनि खासै महत्त्वपूर्ण हैन । कसैले कुन भाषा बोलिरहेको छ भन्दा पनि त्यो भाषामा के भन्न खोजिरहेको छ त्यो महत्त्वपूर्ण कुरा हो ।
मरम: एकदम सही भन्नुभयो । मलाई लाग्छ मैले मेरो भाषा आविष्कार गरेको छु । फ्रान्समा मेरो सम्पादकले बेलाबेला मलाई तिमीले आफ्नै ‘मरमिजम्’ नामको शब्दकोश निकाल्नु भनेर जिस्काउनुहुन्छ । तिमीले जुन भाषामा लेख्न मनपर्यो त्यसैमा लेख्छौ भन्नुहुन्छ ।
मेरो लागि भाषा कुनै पवित्र कुरा हैन । यसलाई पूजा गर्नुपर्दैन । यो त बरु एक प्रेमी हो । तपाईँ कसैलाई प्रेम गर्नुहुन्छ भने कहिलेकाहीँ गल्ती पनि गर्नुहुन्छ । र प्रेमीको सानो सानो कुरा थाहा भएजस्तै भाषाको सुझ्म कुरासँग जोडिइराख्ने क्षमता तपाईँसँग हुन्छ । किनकि तपाईँसँग भाषालाई माया गर्ने, अनि त्यसलाई मायाले प्रयोग गर्ने क्षमता हुन्छ । त्यसैले पनि हुनसक्छ सायद मेरो कविता अरबी मानिसहरूको लागि हैन किनकि उनीहरू गहिरो कुरा मनपराउँछन् जुन अक्सर जटिल हुन्छ र सङ्गीतमा बुनिएको हुन्छ । म होहल्ला र सङ्गीत मिसिएको कविताले तृप्त हुन्न । मलाई थोरै शब्दहरू र मौनता मनपर्छ ।
समर: म तपाईँको कुरा बुझ्छु । अरबी साहित्यले जहिल्यै पनि ‘म बलियो छु’ भनेर घोषणा गरिरहन चाह्यो । तर तपाईँ, आफ्नो ब्रेकअपको कुरा गर्नुहुन्छ । मन दुखेको कुरा गर्नुहुन्छ । एक्लो महिला भएको कुरा गर्नुहुन्छ । सँधैभरी अडिन नसकेका प्रेम सम्बन्धहरूको कुरा गर्नुहुन्छ । मेरो लागि पनि भाषा एक जीवित प्राणी हो । अनौठो सुनिन सक्छ, तर यो मेरो लागि एक जीवित व्यक्ति हो ।
मरम: हो नि । कवि भएको कारण भित्री भावनाहरू केलाउँदै संसारसामु व्यक्त गर्न भाषालाई चाहे जसरी प्रयोग गर्ने अधिकार हामीसँग छ । मलाई लाग्छ सबै कलाले हामी मानिस सबै उस्तै हौँ अनि हाम्रो पीडा उस्तै हुन् भनेर बुझ्न मद्दत गर्छन् ।
तर एउटी महिला जब आफ्नो अभिलाषाहरूको बारेमा बारेमा बोल्छिन् मानिसहरू डराउँछन् । त्यसरी बोल्दा उनी आफ्नो बारेमा सबैथोक खोलेर नग्न भइदिन्छिन्, र नग्नतासँग मानिसहरू डराउँछन् । तपाईँ अभिभूत महसुस नगरी नग्नतालाई हेर्न सक्नुहुन्न । वास्तविकतामा नाङ्गो हुनुभन्दा कवितामा नाङ्गो हुनु धेरै खतरनाक हुन्छ ।
समर: तपाईँले मलाई महिला हुन चाहन्छु भन्नुभयो । महिला भएर लेख्न चाहन्छु भन्नुभयो । अरबी भाषासँगका चुनौतीहरूबारे पनि बताउनुभयो । जुन विषयहरू नभन्नु भनिएका छन् वा अरबीमा बोलिनलाई सहज छैनन् तीनलाई भन्न अरू भाषाहरूले मदत पुर्याउनेछन् भनेर लिएको विश्वास पनि सुनाउनुभयो । अब आफ्नो विस्थापनको बारेमा बताउनुहोस् न । महिला कविको रूपमा यसले तपाईँलाई कत्तिको प्रभाव पारेको छ ?
मरम: म यस बारे धेरै सोच्छु । लेख्दै गर्दा यो को को सम्म पुग्नेछ भन्ने हामीलाई थाहा नै हुन्न । यसले कसलाई असर गर्नेछ, कसलाई छुनेछ भन्ने थाहै हुन्न । कतिपय समालोचकहरू मलाई नयाँ कविहरूलाई प्रभाव पारेको अनि मेरै कारणले धेरै कविले मेरो जस्तै तरिकाले लेख्न थालेको पनि भन्छन् ।
मैले मेरो ठाउँ छोडेँ । भाषा परिवर्तन गरेँ । म अर्कै देश र ठाउँमा जन्मेको हुँ र अहिले म अर्कै ठाउँमा छु । जो बृहत् छ त्यसो हुनु सायद यो पनि कुनै प्रकारको धन नै होला । तपाईँसँग यति सम्भावना छ कि तपाईँलाई सङ्कुचित गरेर कुनै ठाउँमा सीमित पार्नै सकिँदैन । तपाईँको आँखाले अरू नै चीजहरू खोजिरहेका छन् । तपाईँ अर्कै सास फेरिरहनुभएको छ । मलाई लाग्छ हामी जहाँ बस्छौँ, जे देख्छौँ र जे खान्छौँ त्यसैको उपज हौँ । त्यसैले, हरेक कुराले हाम्रो कवितालाई छुन्छ र यसको अर्थलाई फरक पार्छ ।
समर : निर्वासनमा बस्ने महिला कविको रूपमा सोच्दा मलाई हामीसँग बलियो कल्पनाशक्ति हुनुपर्छ जस्तो लाग्छ । हामी हाम्रो कल्पनालाई प्रयोग गरेर धेरै यात्रा गर्छौँ । तपाई पक्का पनि सिरियालाई याद गर्नुहुन्छ होला तर अहिले जुन मान्छे बन्नुभएको छ त्यो मान्छे भएर सिरियामा बस्ने सम्भावना पनि देख्नुहुन्न होला । यो चुनौतीलाई कसरी सामना गर्नुहुन्छ ? एकै समयमा हुने नोस्टाल्जिया र निराशालाई कसरी सम्हाल्नु हुन्छ ?
मरम: मलाइ कहिलेकाहीँ दुई देशको बिचमा अडेको छु जस्तो महसुस हुन्छ । लाग्छ म हवाईजहाजमा बस्छु र हवाईजहाज अझै आकाशमा नै घुमिरहेको छ । म सिरिया दुर्लभै जाने गर्थेँ । अब त त्यो पनि गर्न सक्दिनँ । यसले सिरियाको अझै माया बढाउँछ तर तर मलाई लाग्दैन कि म अब सिरियामा बस्न सक्छु । तर म सिरिया सुरक्षित भएको हेर्न चाहन्छु र सिरियाका जनता पनि अन्य मानिसहरू जस्तै प्रतिष्ठा र स्वतन्त्रतामा बाँचेको हेर्न चाहन्छु । त्यसैले, सिरियाको लागि मेरो नोस्टाल्जिया शान्तिको नोस्टाल्जिया हो । म पहिला सिरिया जाँदा उता अपरिचित जस्तो महशूस गर्थेँ । कहिलेकाहीँ यहाँ पेरिसमा अपरिचित महशूस गर्छु । हामी त जहाँ गयो त्यहाँकै अपरिचित हौँ जस्तो लाग्छ ।
मलाई जान मन नलागे पनि आफूले माया गर्ने अनि आफूलाई माया गर्ने मानिसहरूबाट, अनि मैले माया गर्ने देशबाट निर्वासित छु भन्ने कुरा अपनाउन अहिले पनि गाह्रो हुन्छ ।
समर : घर त्यो हो जहाँ तपाई खुसी हुनुहुन्छ, जहाँ तपाई भन्न चाहेको कुरा बोल्न सक्नुहुन्छ, जे लेख्न चाहेको हो लेख्न सक्नुहुन्छ, जसलाई माया गर्न चाहेको हो उसलाई माया गर्न पाउनुहुन्छ । तपाईँको घर कहाँ हो ?
मरम: म अँध्यारोसामु आत्मसमर्पण गर्न चाहन्न । म चाहन्छु मलाइ माया गर्ने मान्छेहरू मेरो पीडामा पीडाबोध नगरुन् । कवि हुनु भनेको ठुलो जिम्मेवारी हो । जसरी एउटी आमाले छोराछोरीलाई उत्कृष्ट खाना मात्र खुवाउँछिन्, कवि पनि उस्तै हुन् भन्ने मलाई लाग्छ । कविले आफूलाई सुधारिरहनुपर्छ । आफूलाई माया गर्ने मानिसहरूको छेउमा शुद्ध र असल भइरहनुपर्छ । यो संसारलाई सुधार गर्ने अभियन्ता हुने जस्तै काम हो कविको । यदि म संसारलाई राम्रो बनाउन चाहन्छु भने, मैले आफैँबाट सुरु गर्नुपर्छ । त्यसैले हरेक दिन, म आफूलाई सुधार्ने प्रयास गर्छु र मलाई माया गर्नेहरूले लिन सक्ने मेरो दुःख हटाउने प्रयास गर्छु ।