अनि सिद्धार्थ कुमार शाहले नागरिकता पाए

‘खुसी लागिराछ सर ।’ फोन उठ्नासाथ नै उनले सुनाए । 

‘हिजोसम्म नागरिकताविहीन थिएँ, आजबाट पहिचान पाइयो ।’

खासमा नागरिकता पाउने कुरा यस्तरी खुसी हुनुपर्ने कुरा नै हैन । आफ्नो नागरिकलाई नागरिकता दिनु राज्यको कर्तव्य हो । नागरिकता बनाउन के गाह्रो ?

नागरिकता पाउँदा त्यति धेरै खुसी लाग्नुपर्ने के छ र ?  

तर यो नागरिकताले उनलाई यस्तरी कुरायो । यस्तरी कुरायो । यस्तरी कुरायो । 

धेरै कुरेपछि पाएको सानै कुराले पनि ठुलो खुसी दिने जस्तै उनले त्यसमा ठुलो खुसी पाए ।

अनि त्यसमा खुसी हुने उनी मात्र एक्लो थिएनन् । 

दमकमा कदम थिएटर खोलेका सिजन दाहालले उनको नागरिकता फेसबुकमा हालेका थिए । उनले पनि लेखेका थिए ‘यो सिद्धार्थको नागरिकता हो । आज म खुसी छु ।’ 

अनि थपेका थिए, ‘म यति बेला सरिता शाहले निर्देशन गरेको नाटक ‘ढकिया मै नागरिकता’ को मेड इन नेपाली बाबु चरित्र सम्झिरहेको छु ।’ 

सिजनको क्याप्सनमा खुसी र पीडा बराबर मिसिएको थियो । 

उनले भनेको त्यो नाटक शिल्पी थिएटरमा मैले पनि हेरेको थिएँ । त्यसमा आफूलाई मेड इन नेपाली बाबु भन्ने एक पात्रले नागरिकता नभएकै कारण आत्महत्या गरेको थियो । ऊ पढ्न चाहन्थ्यो । उसलाई नागरिकताले रोकेको थियो । 

त्यो नाटकले बोलेको कुरा समाजले भोगिरहेको थियो । नागरिकता नपाएकै कारण धनुषाका इन्द्रजीत साफीले नागरिकता सङ्घर्ष समिति बनाउनुपरेको थियो । गएको महिना काठमाडौँको माइतीघरमा सङ्घर्ष समितिकै एक सदस्य निजकुमार कामतले नागरिकता नभएकै कारण शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए । 

केही समय पहिला काठमाडौँको बानेश्वरमा नागरिकता नपाएका युवाहरूले प्रदर्शन पनि गरेका थिए । 

यो सबै कुरालाई नजिकैबाट हेरिरहेको मलाई सिजनले लेखेको क्याप्सनले झनै तान्यो ।

‘म उनीसँग कुरा गर्न चाहन्छु । कुरा गराइदेऊ न ।’ मैले भनेँ । 

एक छिनमा ग्रुप च्याट बन्यो । अनि म सिद्धार्थसँग गफ गर्न थालेँ । 

+++++

उनको बुबाको जन्मसिद्ध नागरिकता थियो । 

बुबाको बुबा उहाँ सानै हुँदा बितेका रहेछन् । गाउँमा नागरिकता बनाउने टोली आएको बेला मिलिहाल्छ नि भनेर वंशज हैन जन्मसिद्ध नागरिकता बनाइदिएछन् । 

बुबाले नागरिकता त पाए तर त्यो नागरिकताले उनको छोराको नागरिकता बनेन । आमाको वंशजको नागरिकता थियो । आमाको नामबाट मात्र नागरिकता बन्ने कुरै भएन । 

आमाबुबाले माइनर भनेर उनको बैङ्क खाता खोलिदिएका थिए । उनले त्यसैबाट डिम्याट खाता खोलेका थिए । त्यसपछि उनी १८ वर्ष पुगे । त्यसपछि बैङ्क पुग्दा बैङ्कले भन्यो अब केवाइसी भर्नुपर्छ । नागरिकता चाहिन्छ । 

उनले नागरिकता बनाउने कुरा घरमा सुनाए । घरले नागरिकता बनाउने प्रक्रिया सुरु गर्‍यो । वडाबाट सिफारिस बनायो । खानेपानीको बिलदेखि बिजुलीको बिल बोक्यो । स्टुडियोमा गएर फोटो खिच्यो । स्थानीय बसोबास प्रमाणित गर्ने सबै सामान लियो । अनि इलाका प्रशासन कार्यालय पुग्यो । 

तर कार्यालयले उनको कागजपत्र चिनेन । जुन कागजपत्रले उनलाई चिनेर नागरिकता दिनुपर्थ्यो त्यो कागजपत्रले भन्यो ‘यहाँ बाबुको जन्मसिद्ध नागरिकता छ । यसले हुँदैन ।’

‘अहिले हुँदैन ।’

‘कहिले हुन्छ ?’

‘थाहा छैन । कानुन बन्यो भने हुन्छ ।’

कहिले बन्ने भन्ने कुरा थाहा नपाएसँगै अनिश्चयमा पुग्यो । त्यतिन्जेलसम्म सजिलै बन्छ जस्तो लागेको नागरिकता बनेन । 

उनको नागरिकता बन्ने कानुन बनेको थिएन । 

उनको नागरिकता बनेन । 

भएको बैङ्क खाता बन्द भयो ।

उनी दमकको आस्था कलेजमा प्लस टु पढिरहेका थिए । त्यसपछि सकेर थप पढाइ गर्ने योजना थिए । पढाइ राम्रो थियो । 

तर त्यसपछि थप पढ्नलाई नागरिकता चाहिन्छ होला अनि स्कलरसिप पाउनलाई पनि नागरिकता चाहिन्छ भन्ने कुराले उनलाई पिरोलेको थियो । उनको पढ्ने चाहना नागरिकताको भित्तोमा ठोक्कियो । 

दमकको कलेजमा पनि सुरुमा नागरिकता नभएकै कारण स्कलरसिप पाइन्न होला भनेर भरेका थिएनन् । पछि सिजन दाहाल लगायत सरले थाहा पाएपछि उनलाई नागरिकता बिनै छात्रवृत्ति पाउने वातावरण मिलाइदिएका थिए । 

नागरिकता पाइन्छ कि पाइँदैनको पिर उनको दिमागमा छिर्न थालिसकेको थियो । भविष्य धेरै परसम्म देखिँदैन थियो । उनलाई आफू को हुँ भन्ने भइरहन्थ्यो । भोलि के गर्नेहोला भनेर आत्तिन्थे । 

‘मेरो परिचय नै छैन त ?’

‘यो देशले मलाई चिन्दै चिन्दैन त ?’

अरू साथीहरूको नागरिकता बनिरहेको थियो । उनी र उनको एकजना साथीको बनेको थिएन । कारण उही जन्मसिद्ध नागरिकता । 

त्यही बेला जन्मसिद्ध नागरिकता भएकाको नामबाट नागरिकता पाउनुपर्ने माग राखेर मानिसहरू लडिरहेका छन् भन्ने थाहा पाए । इन्द्रजीत साफीले त्यो मुद्दामा लडिरहेको भन्ने सुने । त्यसलाई पनि पछ्याए । इन्द्रजीतले आफूजस्ता धेरै व्यक्तिहरूलाई पछ्याएका थिए । धेरै पीडितहरूलाई भेटेका थिए । उनीहरूको मुद्दालाई सामूहिक मुद्दा बनाएका थिए । 

आफूजस्ताले लडिरहेको लडाइलाई उनले झापामै बसेर हेरिरहे । कहिले कानुन आउँछ भनेर पर्खिरहे । 

त्यो बेला धेरै आन्दोलनहरू आए । उनले त्यसलाई पनि हेरिरहे । 

त्यो बिचमा एक जना युवकले आत्मदाहको प्रयास पनि गरे । उनी त्यो सुनेर आफू पनि तर्सिए । 

अन्तिममा सबैको सङ्घर्षले जित्यो । 

सरकारले जन्मसिद्ध नागरिकता दिने भन्ने कुरा आयो । उनले त्यो समाचार आमा बुबालाई सुनाए । अब बन्छ भन्ने आशा व्यक्त गरे । 

‘अब बन्छ त सर?’ उनले प्रशासन कार्यालयमा फोन गरे । 

‘अब बन्छ ।’

कानुनले गाउँसम्म आउन केही समय लगायो । तर आयो । 

उनले १२ सकेर त्यो भन्दा माथि पढ्न थाल्नुभन्दा पहिला नै नागरिकता बन्ने भयो । 

उनले गौरिगञ्ज गाउँपालिका वार्ड नं तीनबाट फेरि सिफारिस बनाए । 

बाबाआमाको नागरिकता,  बिजुलीको बिल, विवाह दर्ता, प्यान कार्ड,  जग्गा धनिपुर्जाको फोटोकपी सबै ल्याए । फोटो तयार पारे । 

इलाका प्रशासन कार्यालय गए । त्यहाँ मानिसहरूको भिड थियो । कुर्नुपर्‍यो । 

तर त्यो पालो आउँछ भन्ने थाहा पाएपछिको कुराइ थियो । त्यो कुराइ उनको लागि धेरै सजिलो थियो । 

उनको फोटो टाँसियो । नागरिकतामा अधिकृतले साइन गर्ने बेला भयो । उनले पनि साइन गरे । 

उनको नागरिकता भयो । उनी नेपालको नागरिक भए । 

उनले पहिचान पाए ।

त्यतिन्जेलसम्म भोगेको पीडाले विश्राम पायो । 

+++++

‘अब पढ्न समस्या हुन्छ होला सर ।’

कलेजमा पनि उनी सिजनलाई भनिरहन्थे । 

‘एक दिन चाहीँ बन्छ । म जसरी भए पनि बनाएर छोड्छु ।’ सिजन उनलाई हौसला दिन्थे ।

हौसला दिँदै गर्दा ‘ढकियामै नागरिकता’ फेरि सम्झिन्थे । आत्तिन्थे । 

‘सर मेरो बन्छ ?’ फेरि अर्को दिन उनी सोध्थे । 

फेरि उही जवाफ । 

उनको प्रश्न सिजनलाई पनि भारी भइसकेको थियो । उनले नागरिकता पाएसँगै त्यो भारी उनको काँधबाट झर्‍यो । 

तर लडाइँ अझै पनि सकिएको छैन । 

सामाजिक सञ्जालमा उनीहरूले नागरिकता पाएको फोटो हालेर नानाभाँती गाली गर्नेहरू अझै छन् । कोही आमाको थर एउटा बाउको थर अर्को कसरी भन्दै नानाभाँती भनिरहेका छन् । कसैले राष्ट्रियतामा खतरा देखिरहेका छन् । 

उनीहरूलाई नागरिकता नपाउने मान्छे के के भएर गुज्रिनुपर्छ थाहा छैन । उनीहरूको नागरिकता सजिलै बन्छ । उनीहरूको लागि नागरिकता पाउनु ठुलो कुरा हैन ।

‘सिद्धार्थले सामाजिक विषय पढेन । अन्तिम समयमा गणित पढ्यो । यो ठुलो कुरा त हैन होला । तर म यस्तो किन गर्‍यो होला भनेर सोचिरहेको छु ।’

सामाजिक विषय नै पढाउने सिजनले भनेको कुरा म अहिले पनि सम्झिरहेको छु । 

सोच्दैछु ‘नागरिकता नपाउँदाको दु:खलाई अहिले पाएको खुसीले मेटेको त होला । तर त्यसले दुखाएको चित्तको चोट कहिले मेटिएला ?’

@SurajWritesNP 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *