मुख्यमन्त्री नफर्केपछि कोशी प्रदेशसभा बैठक शुक्रबार ११ बजेसम्म स्थगित

मुख्यमन्त्री हिक्मत कार्कीसहितका मन्त्रीहरू राति अबेरसम्म पनि नफर्केपछि कोशी प्रदेशसभा बैठक शुक्रबारलाई सरेको छ। विश्वासको मतको पक्षमा बहुमत नजुट्ने निश्चित भएपछि उनीहरू बिहीबार साँझ सवा ५ बजे प्रदेशसभा बैठक छाडेर हिँडेका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विश्वासको मत नदिने बताए भने गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि तटस्थ बस्यो।

जसपा तटस्थ बसेर अन्य दल विपक्षमा बसेपछि मुख्यमन्त्रीले बहुमत नपाउने निश्चित भयो।

सभामुख बाबुराम गौतमले ५ बजेर २० मिनेटमा प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए।

संसदबाट बाहिर निस्कनेबित्तिकै मुख्यमन्त्री कार्कीले सभामुख गौतमलाई भेटेर बैठक सार्न दबाब दिएका थिए। सभामुखले बैठक सार्न नसकिने जवाफ दिएपछि मुख्यमन्त्री आफ्ना मन्त्रीहरूलाई लिएर प्रदेशसभाबाट ६ बजे आसपास बाहिरिएका थिए। त्यसपछि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा फर्केनन्।

मुख्यमन्त्री फर्केर नआएपछि सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरू छलफलमा जुटेका थिए। त्यस क्रममा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठक सार्न माग गरे भने विपक्षी दलका नेताहरूले अस्वीकार गरे।

मुख्यमन्त्रीले फोनमार्फत अनुरोध गरेपछि सभामुखले साँझ ८ बजेका लागि बैठक बोलाउन सचिवालयलाई निर्देशन दिए।

आठ बजे बैठक बस्ने सूचना निस्किएपछि पनि सरकारका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा आएनन्।

एमाले संसदीय दलले बैठक स्थगित गर्न सभामुखलाई अनुरोध गरेपछि राति साढे ९ बजे सभामुखले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

जेठ १७ मा जसपाले र जेठ २३ मा माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए। अल्पमतमा परेपछि सरकारले जेठ ३१ मा बर्खे अधिवेशन अन्त्य गरेर जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *