प्रदेशसभा बैठक आज

संकटमा मुख्यमन्त्री कार्कीको पद, यस्तो छ अंकगणित

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो ।

उनी प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको हो । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सारेका बताइन्छ ।

मुख्यमन्त्री कार्की माओवादी केन्द्र, जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

अंकगणित
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ । ९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ ।

नेतृत्व लिने भन्नेमा अन्योल
यदि मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् तर पहिले आफैँले सरकारले चलाउनुपर्ने दाबी दुवै दलले गरिरहेका छन् ।

कांग्रेस र माओवादी दुवै दलले आ-आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन् । कांग्रेसका सांसदले पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता र माओवादीका सांसदले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *