किसानकै कथा बोल्ने नाटक ‘ट्युबेल’, आजबाट पुरानोघरमा मञ्चन हुँदै
मकालु खबर
२०८० असार १५ गते
काठमाडौँ । पुरानोघर नाटकघरमा आजदेखि ‘ट्युबेल’ नाटक मञ्चन हुनेभएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर किसानहरूको मेहनत झल्काउने नाटक ‘ट्युबेल’ मञ्चन गर्न लागिएको हो ।
नेपालका किसानका लागि असार १५ अत्यन्तै महत्वपूर्ण दिन हो । आजको दिनलाई हाम्रा पुर्खा किसानले रोपाइँको मेहनती कामलाई पनि दही चिउरा खाएर उल्लास र उमङ्गमा परिणत गरेको दिनको रूपमा चिनिन्छ । सांस्कृतिक वा पारम्परिक हिसाबले पनि आजको दिनको उत्तिकै महत्त्व छ । हाम्रो देश कृषि प्रधान देश भएकाले यस दिनले किसानलाई ऊर्जा दिन्छ । सहर उन्मुख तर जरो गाउँमै भएका मानिसलाई किसान र खेतीपातीतिर क्षणभरकै लागि भए पनि जोडिदिने गरेको छ ।
नाटक ‘ट्युबेल’ मा यस्तै किसानको सुख, दु:ख र माटोको कथा समेटिएको छ । हामीले आज खाने दही चिउरा, सधैँ खाने गरेको एक छाक भातमा पसिना बगाएका तिनै किसानका कथाले नाटकघरमा दर्शकलाई पर्खिरहेको निर्माता बताउँछन् ।
नाटक ‘ट्युबेल’ लाई परिकल्पना तथा निर्देशन रोशन सुवेदीले गरेका छन् । आजबाट मञ्चन हुने नाटक ‘ट्युबेल’ श्रावण १५ सम्म सिनामङ्गलस्थित पुरानोघर नाटकघरमा मञ्चन हुनेछ ।
मकालु खबर
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित