विवेकशील साझाले सार्वजनिक गर्यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र
मकालु खबर
२०८० असार १५ गते
काठमाडौँ । विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।
अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।
एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडीको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरहरूलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि बौद्धस्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्त्विक महत्वका सम्पदा समेटिएको पार्टीले जनाएको छ ।
पार्टिका अनुसार उक्त मानचित्रमा गौरवमय इतिहासमा ुमानसरोवरदेखि गङ्गा मैदान सम्मका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्त्विक सम्पदालाई झल्काइएको छ।
हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर बनाइएको अखण्ड भारत को नयाँ नक्सा प्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कूटनीतिक नोट समेत पठाएको छैन।
यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको उनीहरूले बताए ।
विश्व सम्पदा सूचीमा सूचीकृत सार्वभौम नेपालका महत्वपूर्ण भू–भाग लुम्बिनी र कपिलवस्तु समेटेर अखण्ड भारतको नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रवृत्तिको घोर भर्त्सना गर्ने उनीहरूले बताए ।
भारत अतिक्रमित नेपालको भुमी लिपुलेक–लिम्पियाधुरा–कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भुभाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत अडानकावीच सांस्कृतिक मानचित्र प्रकाशनमा आएको हो।
विवेकशील साझा पार्टी ऐतिहासिक नेपालको सांस्कृतिक मानचित्रलाई नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरूमा राखेर ऐक्यबद्धता जनाउन सरोकारवाला सबैलाई हार्दिक अपिल गरेको छ ।
मकालु खबर
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित