मुमताजलाई हामीले मारेको हो
राना परिवारलाई छोरा चाहिएको छ ।
परिवारलाई हैन राना परिवारका पुरुषलाई छोरा चाहिएको छ ।
फिल्म सुरु हुँदा केही छोरीहरू सेतो ओढ्नेभित्र लुक्ने खेल खेलिरहेका छन् । उनीहरूलाई उनको काका हैदर भेट्टाउँछ र भन्छ ‘मैले भेटेँ ।’ ठिक त्यसरी नै जसरी फिल्ममा छोरीहरू भेटिन्छन् । महिलाहरू भेटिन्छन् ।
ती बालिकाले खेल्दा लगाएको त्यो सेतो ओढ्ने फिल्मभर घुमिरहन्छ । हुन त फिल्ममा यो फिल्ममा रातो र हरियो रङ पनि खुब डुल्छन् । चौथो सन्तान पाउनको लागि अस्पताल जाँदै गर्दा हैदरकी भाउजू नुच्चीले पनि गाढा सेतो रङको कुर्ता लगाएकी थिइन् । पछि हैदरकी श्रीमती मुमताजले छोरा पाउने कुरा निश्चित भएर अस्पतालबाट फर्किँदै गर्दा बाटोमा उभिएर ‘मलाई भाग्न मन छ’ भनिरहेको बेला नुच्चीले रातो रङको सल ओढेकी थिइन् ।
फिल्मको सुरुवाततिर नुच्चीले चौथो सन्तान पनि छोरी नै जन्माउँछिन् । टेस्ट गर्दा त्यो छोरा भएकोले उनीहरूले घरमा खसी हलाल गरेका थिए । हलाल गर्न ठिक्क पारिएको खसीको घाँटीमा पनि रातो डोरी बाँधिएको थियो । त्यसलाई हैदरले काट्न नसकेको बेला श्रीमती मुमताजले काटेकी थिइन् । त्यतिबेला पनि उनले रातो नै लगाएकी थिइन् ।
रातो र हरियो रङ फिल्ममा सेतोसँग हार्छ ।
पितृसत्ताको सेतोसँग हार्छ ।
+++++
पाकिस्तानी फिल्म ‘ज्वाइल्याण्ड’ले उठाएको विषय यो मात्र हैन ।
यसले पितृसत्तात्मक समाजमा महिला कसरी पिल्सिएका छन् अनि पुरुषहरू कसरी अपेक्षाको भारीमा परेका छन् भन्नेसँगै पारलैंगिक व्यक्तिहरूको मुद्दालाई पनि उठाएको छ ।
घरमा बसेको भनेर धेरै प्रेसर आइरहेपछि हैदर एउटा थिएटरमा काम गर्न थाल्छ । उसको काम हुन्छ एक पारलैङ्गिक डान्सर बिबाको ब्याकग्राउण्ड डान्सर । तर त्यो बनेको कुरा उ घरमा भन्न सक्दैन । भन्छ ‘थिएटर म्यानेजर छु ।’
बिबाले विद्रोह गरेकी छन् । त्यो समाजमा उ त्यहाँसम्म पुग्नु सानोतिनो संघर्ष हैन । तर उनको विद्रोहमा रोकटोक टन्नै छ । उनलाई थिएटरमा कुनै सो मिल्दैन । मिल्छ त केवल अगाडिको सो चलेपछिको इन्टरमिसन भएको बेलामा नाच्ने समय । धेरै मानिसहरू ट्वाइलेट गएको समय ।
यति दृश्य देखाएर फिल्मले हाम्रो समाजमा हामीले पारलैङ्गिक महिला वा पुरुषहरूलाई दिएको ठाउँको आलोचना गरेको छ । या त हामीले उनीहरूलाई ठाउँ दिएका छैनौँ । या त कसैले ध्यान नदिएको बेला दिएका छौँ ।
त्यतिमात्र हैन बिबाको प्रस्तुति हुनेबेलामा कहिले बज्दाबज्दैको आवाज बिग्रिन्छ । त कहिले लाइट जान्छ । अर्थात् हामीले उनीहरूको आवाजलाई थुनिरहेका छौँ । उनीहरूको अगाडिको उज्यालो छोपिरहेका छौँ ।
केही वर्ष पहिला काठमाण्डौमा एकजना पारलैङ्गिक महिलाको हत्या भएको थियो । फिल्ममा हैदरले बिबालाई पहिलोपल्ट अस्पतालमा रगतले भिजेको अवस्थामा देखेको थियो । पछि थाहा हुन्छ बिबाको साथी निनालाई एक युवकले गोली हानिदिएछ । कारण एक मात्र कि उनले उसको दुर्व्यवहार सहिनन् ।
अर्को एउटा दृश्यले हाम्रो समाजले पारलैङ्गिक व्यक्तिहरूमाथि राख्ने दृष्टिकोणलाई उस्तै बलियोगरि देखाएको छ । बिबा रेलमा बसेकी छन् । उनको छेउमा एउटी महिला छन् । उनी उनलाई पुरुषकोमा गएर बस न भन्छिन् । यो महिलाको ठाउँ हो तिमी पुरुषकोमा गएर बस भन्छिन् ।
अर्थात् उनले भनेको जस्तै हाम्रो समाजले मानिसहरूलाई केवल दुइवटा लिङ्गमा बाँधेर हेरेको छ । महिला र पुरुष । अझ त्यसमा पनि महिलाको अवस्था त झन् बिजोक छ ।
फिल्ममा बिबालाई जस्तो सङ्घर्ष छ काम गर्छु भन्ने मुमताजलाई उस्तै सङ्घर्ष छ । उनी मेकअप आर्टिस्ट हुन् । आफ्नै बिहेमा आफ्नो मेकअप आफैँ गर्छु भन्न सक्ने उनी केही समयसम्म त बिहेपछि पनि काम गर्छिन् । तर जसै हैदरले काम छोड्छन् उनले घर बस्नुपर्ने अवस्था आउँछ । उनको उडानलाई घरमा सीमित पारिन्छ ।
फिल्मभर उनी जहिल्यै पनि हैदरभन्दा शक्तिशाली छन् । हैदर उनीसँग झुकेर नै कुरा गरिरहेको हुन्छ । उनले सजिलै घर चलाउन सक्छिन् । घरमा एसी ल्याउने योजना सम्म पनि बनाइरहेकी हुन्छिन् । त्यसरी सेल्फ इन्डिपेन्डेन्ट हुने उनको चाहनालाई फेरी पनि घरले सुन्दैन ।
+++++
फिल्ममा पुरुषहरू माथि छन् । जसरी समाजमा पनि माथि छन् ।
एउटा दृश्यमा बिबा र उनको साथी कुरा गर्दैछन् । साथीको बिहे हुन लागेको छ । ‘तिमीहरू बेडमा अब के गर्छौ?’ बिबा सोध्छे । ‘उ जे चाहन्छ म त्यही गर्छु ।’ साथी जवाफ दिन्थे ।
उसले दिएको जवाफ जति सामान्य लाग्छ त्यति नै गहिरो छ । वर्षौँदेखि महिलाहरूलाई पुरुषले जे चाहन्छन् त्यही गर्ने अनि उनीहरूको चाहनालाई पछ्याउने बनाइएको छ । नत्र नुच्चीलाई त तीन वटा छोरी भएपछि पुगेको थियो होला । उनी छोरा हुन्छ कि भनेर चौथो बच्चा खोजिरहेकी छन् किनकि सलिमलाई त्यो चाहिएको छ । सलिमलाई त्यो चाहिएको छ किनकि उसको बाउलाई त्यो चाहिएको छ ।
नुच्चीलाई के चाहिएको छ त्यो कसैलाई पनि पर्बाह छैन ।
अनि हाम्रो समाजले महिलालाई घरको भूमिकामा सीमित पारेको छ । फिल्मको एउटा दृश्यमा अर्की आन्टी उनीहरूको घरमा आउँछिन् । २०१२ मा उनको श्रीमान् बितेका छन् । उनी हैदरको बाउलाई भेट्न आइरहन्छिन् । मिठाइ ल्याउँछिन् ।
उनी एकदिन घरमा कोही नभएको बेला त्यहाँ नै बस्छिन् । भोलिपल्ट पुरै हल्ला हुन्छ । उनको छोरा आउँछ । ‘तपाईँहरूबाट यस्तो अपेक्षा थिएन’ भन्छ ।
‘मलाई कसले के भन्छ मतलब छैन । यदि तपाईँ राजी हो भने म यहाँ नै बस्छु ।’ उनी हैदरको बुबालाई भन्छिन् । बुढालाई पनि उनी बसेको मनपर्छ । तर आफ्नो पुरुष इगोलाई उनी भत्किन दिँदैनन् । बरु उल्टै कठोर भएर भन्छन् ‘हैदर तपाईँलाई छोडेर आउँछ ।’
त्यतिन्जेले सबैको क्लोज सट खिचिरहेको क्यामेरा वाइडमा बस्छ । हैदर ढोकाबाट बाहिर निस्किन्छ । अर्थात् पुरुष घरबाहिरको काममा । भाउजू उनले मिठाइ ल्याएको सामान लिन घरभित्र छिर्छिन्, अर्थात् महिला घरमा सीमित ।
यति एउटा वाइड सट र लङटेकले फिल्मले हाम्रो समाजको सारा संरचना देखाइदिन्छ ।
फिल्मको अन्तिमतिर मुमताज आत्महत्या गर्छिन् । उनको पेटमा छोरा आइसकेको हुन्छ । छोरा आउने खुसी चलिरहेको हुन्छ । तर उनी त्यो छोरालाई जन्माउँदिनन् । उनले रोजेको मृत्युलाई अनेक तरिकाले विवेचना गर्न सकिन्छ । त्यसलाई पितृसत्तात्मक समाजमा छोरा नजन्माइदिएर उनले गरेको विद्रोह भन्न सकिन्छ ।
त्यसरी उनी मर्दा समेत उनी मरेको भनेर घरमा कुरा चल्दैन । बरु उनले ‘हैदरको छोरा मारेको’ भनेर कुरा चल्छ । हैदरको दाजु सलिम नै त्यसलाई दोहोर्याइरहन्छ ।
त्यतिबेला नुच्ची भन्छिन् ‘उनी मरेकी हैनन् । उनलाई हामीले मारेको छ ।’
अर्थात् ‘मुमताजलाई हामीले मारेको हो ।’
+++++
मुमताजको मृत शरीरमा सेतो कपडा ओढाइन्छ । फिल्मको सुरुवातमा बच्ची सेतो ओढ्ने ओढेर खेलिरहेकी थिइन् ।
उनलाई ख्याल गरेर पानीले पखालिन्छ । खुट्टा ध्यान दिएर धोइदिइन्छ ।
कास त्यसरी नै ख्याल उनी जीवित भएको बेला समाजले गर्थ्यो ।
कास छोरा जन्माउने साधन भन्दा ठूलो केही हो भनेर उनलाई कसैले भन्थ्यो ।
उनको लाशलाई उठाएर लगिँदै छ । केही बच्चीहरू पनि सँगै पछ्याउँछन् । उनी घरको नजिकै भएको बेला एक बच्ची मुमताजको लाशमा फूल फाल्छिन् । उनलाई कुनै महिला आवाजले सम्झाउँदै भन्छ ‘फूल यहाँ हाल्ने हैन । चिहानमा पुगेपछि मात्र हाल्ने हो ।’
तर फिल्ममेकरले फूल त्यहीँ हाल्न लगाए ।
किन भनेर तपाईँले बुझिसक्नुभयो ।
फिल्मको ट्रेलर:
@SurajWritesNP