टोटेनहम छोड्न चाहन्छन् ह्यारी केन ?

काठमाडौँ । टोटेनहम हट्सपरका फरवार्ड तथा इंग्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान ह्यारी केनले क्लब छाड्न चाहेका छन् । उनी टोटेनहम छाडेर जर्मन च्याम्पियन बायर्न म्युनिख जान चाहेका हुन् ।

बायर्नले केनलाई अनुबन्ध गर्ने प्रयास गरेको छ । गत सिजन पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्की बार्सिलोना प्रस्थान गरेसँगै बायर्न आक्रमण सम्हाल्ने अनुभवी फरवार्डको खोजीमा छ । क्लबले टोटेनहमका स्टार फरवार्ड केनलाई आफ्नो मुख्य लक्ष्यको रुपमा राखेको छ ।

केन र बायर्नबीच व्यक्तिगत सम्झौताका विषयमा सहमति भएको पनि युरोपेली संचारमाध्यमले जनाएका छन् । तर टोटेनहमले आफ्नो मुख्य फरवार्डलाई कुनै हालतमा नबेच्ने प्रष्ट पार्दै आएको छ । केन आफ्नो सम्झौताको अन्तिम वर्षमा रहेकाले बायर्नले राम्रो रकम प्रस्ताव गरे अनुबन्ध हुने सम्भावना भने छ ।

बायर्नले ६० मिलियन पाउण्ड प्रस्ताव राखेकोमा टोटेनहमले त्यसलाई नकारेको थियो । टोटेनहमले केनलाई आफैं नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी पनि गरिरहेको छ । क्लबले केनलाई टोलीको कप्तान बनाएर करिअर नै लन्डन क्लबमा अन्त्य गर्नका लागि प्रस्ताव तयार गरिरहेको छ ।

प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले पनि लामो समयदेखि केनमाथि नजर राखिरहेको छ । तर टोटेनहमले उनलाई प्रिमियर लिगको अन्य क्लबमा कुनै हालतमा नबेच्ने प्रष्ट पारेको छ । गत सिजन म्यानचेस्टर सिटीले अनेक प्रयास गर्दा असफल भएपछि एर्लीङ हालान्डलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *