देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै एसपीएले पायो राष्ट्रिय सम्मान

धनगढी । देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित एक समारोहकाबीच देशभरिकै कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो ।

पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट कलेजभित्र पर्न सफल भएको हो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी प्राध्यापकहरू, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड ग्रहण गर्दै एसपीएका क्याम्पस प्रमुख उपाध्यायले २६ वर्षको लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताए । ‘देशभरिकै सयौँ कलेजहरूलाई विभिन्न मानकहरूमा पछि पार्दै र अब्बल ठहरिँदै एसपीए कलेज उत्कृष्ट कलेजमा पर्न सफल भएको खबर हाम्रा लागि मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै लागि गर्विलो क्षण हो,’ उपाध्यायले भने, ‘सम्मानले हामीलाई थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तर सुहाउँदो शिक्षामा कटिबद्ध भएर लाग्न हामी अझै कटिबद्ध भएर लाग्नेछौँ ।’

समग्रमा एसपीएले पाँचौपटक उत्कृष्ट उमावि र कलेजको सम्मान पाइसकेको छ । २०६२ र ६३ सालमा एसपीएले उत्कृष्ट प्लस टूको अवार्ड पाएको थियो । यस्तै पछिल्लो दुई वर्ष कलेजले लगातार उत्कृष्ट कलेजको अवार्ड पाउँदै आएको छ । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले यसैवर्ष देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत पाएका थिए ।

३५ सय बढी विद्यार्थी अध्ययनरत एसपीए कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा रहनुले पनि गुणस्तरीय शिक्षामा एसपीएको भूमिका स्पष्ट हुने उपाध्यायले बताए ।

अघिल्लो महिनामात्रै एसपीए ५ जना विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो ‘टपर’ बनेका थिए । गतसाता सार्वजनिक एमबीएस दोस्रो सेमिष्टरको नतिजामा एसपीएका धनबहादुर साउँद देशभरिकै उत्कृष्ट ३७ जनामध्ये २६ औं स्थान हासिल गर्न सफल भएका थिए । यस्तै एसपीए कलेजबाट थुप्रै विद्यार्थीहरू गोल्ड मेडलिस्ट, सुदूरपश्चिम टपर निस्किसकेका छन् ।

कोहीपनि विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले एसपीएले यस वर्षदेखि प्रदेश विशेष छात्रवृत्ति समेत घोषणा गरेको छ । जसअन्तर्गत सुदूरपश्चिम र कर्णाली प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा एसपीएमा अध्ययन गर्न पाउनेछन् ।
धनगढी मेनरोडस्थित त्रिनगर स्कुलको भवन भाडामा लिएर २६ वर्षअघि सुरु भएको एसपीए कलेज हाल धनगढी सन्तोषी टोलमा अवस्थित तीनवटा भवनहरूबाट सञ्चालित छ । कलेजमा माध्यमिक शिक्षा (११ र १२) तथा स्नातक तहमा बीबीएस, बीएड, बिए, बिएसडब्लु, एकवर्षे बिएड, बीएचएम तथा बीबीएम विषयहरू अध्ययन–अध्यापन भईरहेको छ । यस्तै स्नातकोत्तरमा एमबिएस र एमएड कार्यक्रम सञ्चालित छन् ।

कलेजका प्रत्येक कोठामल्टि मिडियायुक्त, प्रोजेक्टर र साउण्ड सिस्टम जडित छन् । ल्याब, लाइब्रेरी, सेमिनार हलको व्यवस्था छ । बीएचएमका लागि सुदूरपश्चिममै छुट्टै किचेन ल्याब, आफ्नै बेकरी क्याफे र रेष्टुरेन्ट सञ्चालनमा छ । विद्यार्थीहरू अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् ।

जनशक्तिका हिसाबले पनि कलेज सुदूरपश्चिममा ठूलो मध्येको एक हो । कलेजमा १३० भन्दा बढी प्राध्यापक तथा कर्मचारीहरू कार्यरत छन् । बीएचएमका लागि छुट्टै सेफको व्यवस्था गरिएको छ । कलेजले गतवर्ष अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ को अवार्ड समेत जितेको छ ।

विद्यार्थीलाई अवसर दिलाउने मामलामा पनि एसपीए अगाडि छ । पढ्दापढ्दै एसपीएका विद्यार्थीहरू अमेरिका, दुबई, बहराइन, थाइल्याण्ड, दुबई, मलेसियालगायत एसपीएका विद्यार्थीहरू भारत र नेपालकै विभिन्न तारे होटलहरुमा कार्यरत छन् । त्यसबाहेक यस क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कलेजले जागिर तथा इन्टर्नसिपको व्यवस्था मिलाइदिने गरेको छ ।

कुमारी बैंकले भर्खरैमात्रै कलेजमै आएर विद्यार्थीहरूको अन्तर्वार्ता लिएको थियो । विद्यार्थीहरूलाई उद्यमशील बनाउने उदेश्यले नबिल बैंकसँगको सहकार्यमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) सञ्चालनमा छ ।

एसपीएले आफ्ना विद्यार्थीका लागि देशविदेशबाट भिजिटिङ स्कलरहरूलाई निम्ताउने गरेको छ । कलेजले विद्यार्थीहरूलाई दीक्षित पार्न अमेरिका, अष्ट्रेलिया, फ्रान्स, क्यानडा, बेल्जियम, बेलायत, थाइल्कयाण्ड, भारतलगायत देशहरूबाट भिजिटिङ लेक्चररहरु निम्ताइसकेको छ ।

एसपीएले आफ्ना दायरा राष्ट्रियमात्रै नभई अन्तर्राष्ट्रिय रूपमा पनि अघि बढाउँदै लगेको छ । कलेजले अष्ट्रेलिया, दक्षिण कोरिया, भारतलगायत देशका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि एसपीएले विभिन्न १५ वटा क्लबहरू गठन गरेको छ । विद्यार्थीहरू जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहन्छन, त्यही क्लबमा आबद्ध हुनसक्छन् र उनीहरूलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिने गरेको छ ।

एसपीएमा बीआईएम अध्ययनरत तथा अन्य विद्यार्थीहरूले विभिन्न आविष्कारहरूमा अब्बल छन् । एसपीएका विद्यार्थी सोहन कैनीले बनाएको इलेक्ट्रिक बाइक निर्माण गरेका छन् । यस्तै विज्ञान संकायमा अध्ययनरत सागर खनालले एसपीए इभी मोडल वान कार निर्माण गरेका छन् । त्यसबाहेक कलेजमा बीआईएम अध्ययनरत विद्यार्थीहरूले स्मार्ट डस्टबिन, स्मार्ट होम, ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस, ‘स्मार्ट सेन्सरलगायत उपकरणहरूको विकास गरेका छन् ।

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउन एसपीएको भूमिका अग्रस्थानमा छ । धनगढीलाई क्रिकेटको शहरका रूपमा स्थापित गराउन एक दशक अघि नै कलेजले एसपीए कपका रूपमा राष्ट्रव्यापी क्रिकेट प्रतियोगिताको सुरुवात गरेको थियो । जसको जगमा टेकेर नेपाली क्रिकेटमा फ्रेन्चाइज टोली र अक्सनप्रथाको सुरुवात भएको हो ।

एसपीएले प्रत्येकवर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै छन् । त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू एसपीएमा अध्ययनरत छन् । यस्तै सुदूरपश्चिमबाट उदाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खातीप्राप्त खेलाडीहरूलाई सम्मानित गर्न एसपीएले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *